दिलजीतको ‘सरदार जी ३’ विवादमा : हानियासँग काम गर्दा ‘देशद्रोही’को आरोप, नागरिकता खारेज गर्न माग

दिलजीतको ‘सरदार जी ३’ विवादमा : हानियासँग काम गर्दा ‘देशद्रोही’को आरोप, नागरिकता खारेज गर्न माग

एजेन्सी : चर्चित पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ यतिबेला आफ्नो नयाँ फिल्म ‘सरदार जी ३’ लाई लिएर गम्भीर विवादमा फसेका छन्।

फिल्ममा उनले पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग काम गरेको विषयलाई लिएर भारतमा व्यापक आक्रोश फैलिएको छ। गत जुन २३ मा फिल्मको ट्रेलर सार्वजनिक हुने बित्तिकै यो विवादले भयावह रूप लिएको हो।

विवाद चुलिएपछि दिलजीत दोसांझले बीबीसी एसियन नेटवर्कलाई आफ्नो पहिलो प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्- ‘यो फिल्म साइन गरियो र यसको छायांकन फेब्रुअरीमा भयो, त्यतिबेला भारत-पाकिस्तानको राजनीतिक अवस्था अहिले जस्तो तनावपूर्ण थिएन।’

उनले धेरै कुरा आफ्नो हातमा नभएको स्वीकार गर्दै भनेका छन्, ‘निर्माताहरूले यो स्पष्ट रूपमा भारतमा रिलिज नहुने निर्णय गरे, त्यसैले यसलाई विदेशमा रिलिज गरौँ। उनीहरूको दिमागमा निश्चित रूपमा घाटा हुनेछ भन्ने थियो, किनकि तपाईं एउटा महत्त्वपूर्ण क्षेत्र हटाउँदै हुनुहुन्छ।’

उनले अभिनेत्री हानिया आमिरसँग काम गर्ने अनुभवबारे बोल्दै भने, ‘उनी धेरै व्यावसायिक छिन्। म उनको कामको धेरै सम्मान गर्छु। म सधैँ सबैको गोपनीयताको सम्मान गर्छु। म आफैँ पनि धेरै निजी छु, त्यसैले म अरूलाई पनि ठाउँ दिन्छु।’

मिका सिंहको कडा आलोचना
अर्कोतर्फ, गायक मिका सिंहले दिलजीतको कदमको खुलेर आलोचना गरेका छन्।

उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेका छन्, ‘साथीहरू, पहिले देश, किनकि हामी सबैलाई थाहा छ कि भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले राम्रो चलिरहेको छैन। यसका बाबजुद पनि, केही मानिसहरूले लापरवाही गरिरहेका छन्। सीमापारिबाट आउने कुनै पनि कलाकारसँग काम गर्नु अघि उनीहरूले दुई पटक सोच्नुपर्छ, विशेष गरी जब हाम्रो देशको मर्यादाको कुरा आउँछ।’

उनले पहिले फवाद खानसँग जोडिएको विरोधको उदाहरण दिँदै केहीले अझै पाठ नसिकेको आरोप लगाएका छन्।

चलचित्रकर्मी महासंघबाट ‘देशद्रोही’ घोषणा, नागरिकता खारेजको माग
यो विवादमा सबैभन्दा कडा र गम्भीर प्रतिक्रिया भारतको ‘फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज’ नामक चलचित्रकर्मीहरूको सबैभन्दा ठूलो संस्थाबाट आएको छ। फेडरेशनले दिलजीत दोसांझ, निर्माता गुणबीर सिंह सिद्धू, मनमोर्ड सिद्धू र निर्देशक अमर हुंडललाई सीधै ‘देशद्रोही’को संज्ञा दिएको छ। संस्थाले उनीहरूलाई भारतीय चलचित्र उद्योगबाट तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ।

यतिमा मात्र नभई, फेडरेशनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतका उच्च अधिकारीहरूलाई पत्र लेख्दै यी चारै जनाको राहदानी जफत गर्न र उनीहरूको भारतीय नागरिकता तत्काल खारेज गर्नका लागि कडा कारबाहीको माग गरेको छ।

फेडरेशनले भनेका छन्, ‘यी व्यक्तिहरूले देशको भावनालाई अपमान मात्र गरेका छैनन्। पुलवामा हमलापछि पाकिस्तानी कलाकारहरूमाथि भारतमा लगाइएको ‘पूर्ण प्रतिबन्ध’को पनि खुल्लमखुल्ला उल्लंघन गरेका छन्।’

फेडरेशनले अभिनेत्री हानिया आमिर केवल विदेशी कलाकार मात्र नभएर उनले भारत विरोधी विचार फैलाउन र पाकिस्तानी आतंकवादी हमलालाई सही ठहर्याउन प्रयास गरेको समेत दाबी  गरेको छ। संस्थाले दिलजीत र उनको टोलीलाई प्रतिबन्ध तथा हानियाको पृष्ठभूमिका बारेमा पूर्ण जानकारी हुँदाहुँदै पनि उनलाई कास्ट गरेको भन्दै उनीहरूको वफादारी भारतप्रति नभएको समेत आरोप लगाएको छ।

फेडरेशनले सूचना तथा प्रसारण मन्त्रालय र सेन्सर बोर्डसँग फिल्म ‘सरदार जी ३’लाई भारतमा कुनै पनि हालतमा रिलिज गर्न वा प्रमाणपत्र दिन पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ। साथै पाकिस्तानी नागरिकहरूसँग काम गर्ने कुनै पनि भारतीय फिल्म निर्माता वा कलाकारलाई भविष्यमा ‘देशद्रोह’ बराबर मानिने कडा चेतावनी पनि संस्थाले दिएको छ।

दिलजीतको पोस्ट- ‘वास्तविक लडाईं अब सुरू हुँदैछ’
यसै विवादको आगोमा घिउ थप्ने काम दिलजीत दोसांझको एक रहस्यमय इन्स्टाग्राम पोस्टले गरेको छ। उनले आफ्नो स्टोरीमा ‘रिलिज हुनुभन्दा पहिले सेन्सर गरिएको’ भन्दै आफ्नो अर्को रोकिएको फिल्म ‘पंजाब ९५’ को बारेमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्- ‘मैले पंजाब ९५ (फिल्म) हेरेको छु, अब सायद वास्तविक लडाईं सुरू हुँदैछ।’

बढ्दो विवादलाई मत्थर पार्ने प्रयास गर्दै फिल्मका निर्माता गुणबीर सिंह सिद्धूले स्पष्टीकरण दिएका छन्। इन्डिया टुडेसँगको कुराकानीमा फिल्म भारत र पाकिस्तानबीचको वर्तमान द्वन्द्व सुरु हुनुअघि नै छायांकन गरिएको स्पष्ट पारेका छन्। उनले भारतीयहरूको भावनालाई ध्यानमा राख्दै फिल्मलाई भारतमा रिलिज नगरिने निर्णय गरिएको बताएका छन्।

असार ११, २०८२ बुधबार १२:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।