रौतहटमा सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहटमा सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका-१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर-१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो।

मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए। दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिए। 

गौरस्थित बिपीचोकबाट चन्द्रपुर-४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ-रिक्सामा लुकाइछिपाई ल्याउँदै गरेको फेनारगन ११० थान, डाइजापाम ४७ थान, बुप्रेनुफिन ११० थान र कोरलेक्स ६३ थानसहित उनलाई पक्राउ गरिएको हो।

असार ११, २०८२ बुधबार ०९:३९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।