पहिलो टेस्टमा इङ्ग्ल्याण्डको शानदार जित, भारत ५ विकेटले पराजित

पहिलो टेस्टमा इङ्ग्ल्याण्डको शानदार जित, भारत ५ विकेटले पराजित

एजेन्सी : ओपनर बेन डकेटको शानदार शतकको मद्दतले इङ्ग्ल्याण्डले भारतलाई पहिलो टेस्टमा ५ विकेटले पराजित गरेको छ।

यो जितसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ। यो सिरिज २०२३-२५ को आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलाइएको हो।

३ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले खेलको पाँचौं तथा अन्तिम दिन मंगलबार १४ ओभर बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

इङ्ग्ल्याण्डको जितमा ओपनर बेन डकेटले सर्वाधिक १ सय ४९ रनको उत्कृष्ट इनिङ खेले। उनले ज्याक क्रलीसँग पहिलो विकेटका लागि १ सय ८८ रनको विशाल साझेदारी गर्दै जितको आधार तय गरेका थिए।

क्रलीले ६५ रन बनाए। ओली पोप मात्र ८ रनमा आउट भए। तेस्रो विकेटका लागि डकेटले जो रुटसँग ४७ रनको साझेदारी गरे।

दोस्रो इनिङ्समा शतक बनाएपछि बेन डकेट।

मध्यक्रममा कप्तान बेन स्टोक्सले ३३ रन जोडे। रुट र स्टोक्सले पाँचौं विकेटका लागि ४९ रनको महत्वपूर्ण साझेदारी गरे। खेल जित्दा रुट ५३ रनमा अविजित थिए भने विकेटकिपर जेमी स्मिथ ४४ रनमा अविजित रहे। रुट र स्मिथबीच छैठौं विकेटका लागि ७१ रनको विजयी साझेदारी भएको थियो।

भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २-२ विकेट लिए भने रविन्द्र जडेजाले १ विकेट हात पारे।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको भारतले पहिलो इनिङमा कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो।

जवाफमा इङ्ग्ल्याण्डले ४ सय ६५ रन बनाउँदै भारतलाई पहिलो इनिङको आधारमा ६ रनको सामान्य अग्रता दिएको थियो।

दोस्रो इनिङमा भारत ३ सय ६४ रनमा अलआउट भएपछि इङ्ग्ल्याण्डले जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको थियो। भारतको दोस्रो इनिङमा ऋषभ पन्त र केएल राहुलले शतक प्रहार गरेका थिए।

सिरिजको दोस्रो टेस्ट असार १८ गते (जुलाई २) बाट सुरू हुनेछ।

असार ११, २०८२ बुधबार ०९:१६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।