भक्तपुर क्यान्सर अस्पतालको एक करोडको टेन्डरमा अनौठो सर्त, विदेशबाट मेसिन ल्याउने म्याद तीन दिन राखेर सेटिङ

काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालले सार्वजनिक खरिद कानुन मिच्दै करिब एक करोड ११ लाख २० हजारमा एक सेट ‘क्लिनिकल फ्लो साइटोमिटर’ को टेन्डर प्रक्रिया अगाडि बढाएको छ। अस्पताल प्रशासनले ‘टेन्डर स्वीकृत भएर सम्झौतामा हस्ताक्षर भएको ‘३’ दिन भित्र मेसिन ल्याइदिनुपर्ने सर्त राखेको छ।
यो मेसिन नेपालमा बन्दैन। खरिद सम्झौता भएपछि मेसिन मगाउन न्यूनतम दुई महिना लाग्छ। यसले निश्चित सप्लार्यसको स्वार्थमा पहिल्यै नेपालमा रहेको मेसिन रहेकाले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी यस्तो सर्त राखिएको देखिन्छ। अस्पतालले यस अघिका स्वास्थ्य उपकरण खरिदमा पनि मिलेमतो अनुसार टेन्डर प्रक्रिया अगाडि बढाएको थियो। उकेराको अध्ययनमा ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिनको खरिदमा पनि मिलेमतो देखियो।
अस्पतालले २०८२ जेठ १९ गते ‘क्लिनिकल फ्लो साइटोमेट्री’को टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडी बढाएको हो। यो खरिदमा विशेष गरी मेसिन ल्याइदिनुपर्ने समयसिमा र स्पेसिफिकेसनका विभिन्न बुँदाहरूमा खेलेर निश्चित सप्लायर्स कम्पनीको लाभका लागि टेन्डर प्रक्रियाका मापदण्डहरू बनाएको देखिन्छ। असार चार गते ‘प्रि–बिड मिटिङ’ राखेको थियो। असार १९ गते दिउँसो १२ बजेसम्मलाई टेन्डर प्रस्ताव गरिसक्नुपर्ने र सोही दिन दिउँसो एक बजेलाई टेन्डर खुल्ने मिति तोकिएको छ।
खरिद कानुन अनुसार आकस्मिक बाहेक न्यूनतम पनि टेन्डरपछि न्यूनतम ३० दिन म्याद दिनुपर्छ। कोरोनाकालमा पनि न्युनतम् सात दिनको अवधि तोकिएको थियो। अहिले न कुनै स्वास्थ्य आपत्काल छ न त उपकरणै तत्काल नभई नहुने हो। यो आकस्मिक रूपमा प्रक्रिया अगाडि बढेको हैन, खरिद योजना अनुसारै हो। तर खरिद प्रक्रिया अगाडि बढाउँदा जम्मा तीन दिनको म्याद दिएर टेन्डर निस्कियो। भक्तपुर क्यान्सर अस्पतालको ‘क्लिनिकल फ्लो साइटोमेट्री’को ठेक्का (आइएफबी) नम्बर ‘बीसीएच-गुड्स-एनसीबी-०८१-८२-१५’ हो। यो विशेष गरी क्यान्सर पत्ता लगाउन प्रयोग गरिने मेसिन हो। यसले व्यक्तिको रक्त तथा कोशिकाहरूको सूक्ष्म विश्लेषण गरेर रोग पत्ता लगाउन सहयोग पुर्याउँछ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालीसे छन्। उनलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भक्तपुर पठाएका हुन्। चालिसेले अगाडि बढाएको खरिदमा मिलेमतो रहेकोबारे उकेराले यस अगाडि प्रमाणसहित समाचार प्रकाशित गरे पनि स्वास्थ्यमन्त्री पौडेलले चासो दिएका छैनन्। न त स्वास्थ्य सचिव डा विकास देवकोटाले नै चासो दिएका छन्।
आपूर्तिको समय तीन दिन राखेर मिलेमतो
भक्तपुर क्यान्सर अस्पताल नेतृत्वले अगाडि बढाएको ‘क्लिनिकल फ्लो साइटोमिटर’को टेन्डरमा खरिद मापदण्ड र समय दुबैमा मिलेमतोको र बदनियत देखियो। अस्पतालले यो टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ–आइसिबी)लाई निषेध गर्दै ‘राष्ट्रियस्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ–एनसीबी) विधि अपनाएको छ।
अस्पताल प्रशासनले मेसिन ल्याइदिनुपर्ने समय सीमा जम्मा तीन दिन तोकेको छ। अर्थात् जसले टेन्डर पाएर सम्झौता हुन्छ त्यसको तीन दिनभित्र मेसिन अस्पतालमा पूर्याउनु पर्छ। टेन्डर कागजातमा उपकरण बुझाउनु पर्ने अवधिमा ‘विद्इन ३ डेज्’ उल्लेख छ। यो शर्तसँगैको अर्को एउटा वाक्यमा भनिएको छ,‘नोट: दी डेट अफ इफेक्टिभनेश अफ कन्ट्र्याक स्याल बी एड अफ साइनिङ दी कन्ट्र्याक’। यसको अर्थ खरिद स्वीकृत भएर सम्झौतामा हस्ताक्षर भएको ‘तीन’ दिन भित्र मेसिन ल्याइदिनुपर्ने भन्ने नै हो।
यसबाट नै यो खरिदमा अस्पताल नेतृत्वले कुन हदसम्मको मिलेमतो गरेको छ भन्ने प्रस्ट हुन्छ नै। जोसँग पहिल्यै यस्तो उपकरण छ वा खरिद प्रक्रिया टुंगिनु अगाडि नै जसले मेसिन मगाएको छ उसैको स्वार्थमा मेसिन ल्याइदिनुपर्ने अवधि जम्मा तीन दिन राखेको प्रस्ट खुल्छ।
किनकि नेपालमा ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिन बन्दैन। यो विदेशबाट नै ल्याउने हो। प्राय खरिदमा सम्झौता भएपछि मात्रै सप्लायर्सले मेसिन ल्याउने प्रक्रिया अगाडि बढाउँछन्। नेपालमा नै काठमाडौं उपत्यका बाहिर यो मेसिन ल्याइएको रहेछ भने पनि काठमाडौं उपत्यकामा ल्याउन समेत नभ्याउने गरी समय तोकिएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गर्दै राष्ट्रिय प्रतिस्पर्धा (एनसीबी)मा मात्रै खुम्च्याउने अनि ‘क्लिनिकल फ्लो साइटोमिटर’को खरिद स्वीकृत भएर सम्झौतामा हस्ताक्षर भएको ‘३’ दिन भित्र मेसिन ल्याइदिनुपर्ने असम्भव सर्त राख्नुले नै यो खरिदमा बदनियत रहेको प्रस्ट हुन्छ।
रमाइलो पक्ष त, यो मेसिनको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति असार १९ दिउँसो १२ बजेसम्मलाई तोकिएको छ भने सोही दिन दिउँसो दुई बजेलाई टेन्डर खुल्ने मिति तोकिएको छ। ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिनको टेन्डरमा ‘सिङ्गल–स्टेज : सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाएर प्राविधिक र आर्थिक दुवै मूल्याङ्कन एकै पटक गर्ने अस्पताल प्रशासन तयारी छ। यही प्रक्रिया अपनाउन पनि त टेन्डर प्रस्ताव भएको कम्तीमा एक हप्ताको समय लाग्छ। यसरी हेर्दा ‘क्लिनिकल फ्लो साइटोमिटर’को यो टेन्डर प्रक्रिया फटाफट अगाडि बढ्दा पनि असार अन्तिममा मात्रै टेन्डरको मूल्याङ्कनको चरण पूरा हुन सक्ने देखिन्छ।
खरिद स्वीकृत भएर सम्झौता भएपछि मात्रै मेसिन ल्याउने प्रक्रिया सुरु हुने हो। यही अवस्थामा नै खरिद प्रक्रिया अगाडि बढेको खण्डमा भक्तपुर क्यान्सर अस्पतालले टेन्डर खरिद स्वीकृत गरेर सम्झौतामा हस्ताक्षर भएको ‘३’ दिन भित्र मेसिन ल्याइदिनुपर्ने सर्त राखेकाले साउन पहिलो हप्ता भित्रमा मेसिन ल्याइदिनुपर्ने देखिन्छ। तर, अस्पताल नेतृत्वको मिलेमतो अनुसार नै खरिद प्रक्रिया अगाडि बढेको देखिएकाले खरिद प्रक्रियाको कर्मकाण्डी बनाएको देखिन्छ। टेन्डर कागजातमा देखिएका यी तथ्य र सर्तबाट नै भक्तपुर क्यान्सर अस्पतालले ‘क्लिनिकल फ्लो साइटोमिटर’को यो टेन्डरमा कुन तहसम्मको मिलेमतो छ भन्ने प्रस्ट हुन्छ। खरिदमा यस्ता सर्त राख्नुको उद्देश्य खरिद प्रतिस्पर्धा सीमित बनाउने कुनियत प्रस्टै देखिन्छ।
अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको ‘क्लिनिकल फ्लो साइटोमिटर’को टेन्डर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) नभई ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) हो। अस्पतालले आह्वान गरेको टेन्डर राष्ट्रियस्तरको भएको अनि ‘क्लिनिकल फ्लो साइटोमिटर’ नेपालमा नबन्ने भएकाले ल्याउने विदेशबाट नै हो। खरिद सम्झौतापछि मात्रै मेसिन आयात गर्ने प्रक्रिया सुरु हुने हो भने तीन दिनमा विदेशबाट ल्याउन सम्भवै हुन्न।
मिलेमतोमा हुने खरिद प्रक्रियामा कसलाई टेन्डर पर्ने पहिल्यै पक्का हुन्छ। अनि खरिद सम्झौता नभए नि सप्लायर्सले सामान मगाएर राख्छन्। अति छोटो अवधिका कारण अन्य सप्लायर्सहरु प्रतिस्पर्धामा भाग लिन्नन्। यता टेन्डर निस्कन्छ। अनि जोसँग अस्पताल प्रशासनले मिलेमतो गरेर टेन्डर अगाडि बढाएको हो उसले मेसिन दिन्छ।
यस विषयमा उकेराले जिज्ञासा राख्दा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालीसेले नयाँ मोडलको मेसिन खरिदका लागि बजेट कम भएकाले थप बजेटको लागि पहल गर्दा खरिद प्रक्रिया ढिलो भएको तर्क गरे। तर अहिले किनेको पनि पुरानै मोडलको हो। पुरानै किन्न किन यति ढिला गरेको भन्ने जिज्ञासामा उनले थप बजेट नपाएपछि पुरानै मोडलको भए पनि किनौँ भनेर प्रक्रिया अगाडि बढाएको दाबी गरे। खरिद सम्झौता भएको तीन दिनमा कसैले विदेशबाट उपकरण ल्याएर दिन सक्छ भन्ने प्रश्नमा उनले तीन दिन भित्र ल्याउने सर्त राख्न नपाइने रहेछ भने टेन्डर रद्द गर्ने दाबी गरे।
‘धेरै बुझेपछि त्यतिमा राम्रो मोडल (लेटेष्ट) आउँदैन भन्ने कुरा आयो, ... बजेट थप्नलाई समय खर्च गरियो,’डा. चालीसेले दाबी गरे,‘पुरानै मोडल भए पनि ल्याउन सकियो भने ढिलै भए पनि सुरु गरौँ भनेर (टेन्डर) सुरु गरेको हो। तीन भित्र डेलिभरी गर्न नियमले पाइँदैन भने त स्वत्त रद्द नै गर्नुपर्ने हुन्छ।’
डा. चालीसेकै भनाइबाट पनि यो उपकरण खरिद योजना अनुसारै रहेको देखिन्छ। तर मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाउन जानाजान आर्थिक वर्षको अन्त्यतिर पूर्याएर मिलेमतो गरेको देखिन्छ। यो उपकरणको वारेन्टीको समय पनि जम्मा दुई वर्षको मात्रै राखिएको छ। वारेन्टीको समय जति कम राख्यो मेसिनको मूल्य पनि उति नै कम पर्छ। यो मेसिनमा ‘युएस-एफडीए र सिइ–आइभीडी’ प्रमाणित प्रमाणपत्र भएको हुनुपर्ने सर्त राखिएको छ।
टेन्डरमा बदनियतका सर्त राखेर लक्ड
भक्तपुर क्यान्सर अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिन’का विभिन्न सर्तहरू हेर्दा बदनियत नै बदनियत देखिन्छ। यो टेन्डरको प्राविधिक स्पेसिफिकेसनको लक्ड त दोस्रो पाटो भयो, खरिद प्रक्रियामा नै प्रस्टै बदनियत देखिएको छ।
टेन्डर प्रस्तावको दृष्टिले ‘सिङ्गल–स्टेज: सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ र ‘सिङ्गल–स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ गरी दुई किसिमका खरिद विधि हुन्छन्। भक्तपुर क्यान्सर अस्पतालको यो टेन्डर कागजातमा उल्लेख भए अनुसार ‘क्लिनिकल फ्लो साइटोमिटर’को टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिङ्गल–स्टेज: सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाएको छ।
सार्वजनिक खरिद नियमावली अनुसार ‘सिङ्गल–स्टेज: सिङ्गल इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘एक खाम विधि’ अपनाई गरिने खरिद प्रक्रिया हो। यसमा आर्थिक र प्राविधिक प्रस्ताव एकै पटक खुल्छ। अस्पतालले यो खरिदमा यही विधि अपनाएको छ। अस्पतालले चाहेको भए ‘क्लिनिकल फ्लो साइटोमिटर’मेसिनको खरिदमा सिङ्गल–स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाउन सक्थ्यो। तर, खरिद मिलेमतोकै लागि अस्पताल नेतृत्वले त्यसो गर्न चाहेको देखिएन।
सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ज’ मा दुई खाम विधिबाट गरिने खरिदको कार्यविधिका बारेमा उल्लेख छ। नियम ‘३१ज’ को उपनियम (१) मा भनिएको छ,‘बोलपत्रदाताको योग्यताको आवश्यक पर्ने किसिमको मालसामान खरिद वा दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य गर्नुपर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग अलग खाममा राखी पेस गर्नुपर्ने छ।’
यो खरिद दुई करोड भन्दा कम मूल्यको भए पनि बोलपत्रदाताको योग्यता आवश्यक पर्ने देखिन्छ। तर, यो नियमलाई लत्याउँदै भक्तपुर क्यान्सर अस्पतालले ‘क्लिनिकल फ्लो साइटोमिटर’को खरिदमा एक खाम विधि अपनाएको छ।
नियम अनुसार प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर आह्वान गर्ने संस्थाले टेन्डर दिन्छ। टेन्डर स्वीकृतपछि निश्चित प्रक्रिया पूरा गरेर टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ। तर, भक्तपुर क्यान्सर अस्पतालले भने यो टेन्डरमा प्राविधिक र आर्थिक दुवै एकैचोटी मूल्याङ्कन गरेर चाहेकै कम्पनीको ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिन छनोट गरेर सेटिङ अनुसारकै कम्पनीलाई टेन्डर दिने रणनीति देखिन्छ।
दुई खाम विधिबाट गरिने खरिदमा नियम अनुसार टेन्डरको लागि सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ। टेन्डर प्रस्ताव भइसकेपछि पहिले टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेसिफिकेसन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ।
मिलेमतो बिनाको खरिदमा सामान्यतया प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। दुई खाम विधिबाट गरिने खरिदमा प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ। प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरा गरी सामग्री ल्याइदिन्छन्।
तर, भक्तपुर क्यान्सर अस्पतालले टेन्डर प्रक्रिया अगाडि बढाएको ‘क्लिनिकल फ्लो साइटोमिटर’को सवालमा भने टेन्डर प्रस्ताव गर्ने कम्पनीले एउटै टेन्डर कागजातमा प्राविधिक र आर्थिक प्रस्ताव गर्नुपर्ने गरी टेन्डर आह्वान गर्यो। यो टेन्डर यही अवस्थामा अघि बढे सप्लायर्सले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नै पाउँदैनन्।
त्यसैले अस्पतालले ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिन खरिदको लागि गरेको यो टेन्डरमा प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खुल्छ। यसले प्राविधिक र आर्थिक दुवै प्रस्ताव एकै पटक गर्ने अनि एकै पटक प्राविधिक र आर्थिक प्रस्ताव खोलेर बढी रकममा ‘क्लिनिकल फ्लो साइटोमिटर’ मेसिन ल्याइदिने कबुल गर्ने कम्पनीलाई समेत प्राविधिक रूपमा सजिलै गरी छनोट गर्ने रणनीति देखिन्छ।
त्यति मात्रै हैन एक खाम विधि अपनाउँदा जुन सप्लायर्स कम्पनीलाई टेन्डर दिन चाहेको हो त्यस्तो सप्लायर्सले पेस गरेको प्राविधिक स्पेसिफिकेसनमा केही कमजोरी रहेछ भने पनि त्यस्तो कम्पनीको प्राविधिक स्पेसिफिकेसन तानतुन गरेर मूल्याङ्कन गरी छनोट गर्न सक्ने जोखिम हुन्छ।
भक्तपुरमा मिलेमतोको क्यान्सर
भक्तपुर क्यान्सर अस्पतालले बदनियत राखेर अगाडि बढाएको यो पहिलो खरिद हैन। यस अगाडि अस्पतालले टेन्डर आह्वान गरेको ‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्री एनालाइजर विथ रिएजेन्ट्स’ सम्बन्धी मेसिन र ‘फुल्ली अटोमेटेड केमिलुमिनिस्सेन्स इम्युनोसरी एनालाईजर (क्लिया) मेसिनको टेन्डरमा पनि मिलेमतो देखिएको थियो। अस्पतालले निश्चित मेसिन उत्पादक कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन नै लक्ड गरेर एक करोड ९५ लाखमा यो मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको थियो।
भक्तपुर क्यान्सर अस्पतालले करिब दुई करोड ४७ लाख ६० हजारमा ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको टेन्डरको प्रक्रियाको मापदण्डमा सिधै मिलेमतो देखिएको थियो। अस्पतालले २०८१ चैत ३१ मा अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड र प्राविधिक स्पेसिफिकेसन निश्चित कम्पनीको उत्पादक मेसिनको प्रस्ताव मात्र स्वीकृत हुने गरी बनाएको खुलेको थियो। खरिद मापदण्डमा अस्पतालले बनाएको प्राविधिक स्पेसिफिकेसनको बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘न्यूस्टर’को ‘फोहोर व्यवस्थापन’ सम्बन्धी मेसिनको प्राविधिक मापदण्डसँग मात्रै मिल्नेगरी बनाइएको थियो।
सम्बन्धित समाचार
असार १०, २०८२ मंगलबार २३:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।