दुई दिनदेखि हराएका बालक मृत भेटिए

झापा : दुई दिन अगाडि घरबाट हराएका १२ वर्षका बालकको शव फेला परेको छ। झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा मंगलबार बालकको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको सूचना आएको थियो।
लगत्तै खटिएको प्रहरी टोलीले शवको पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुसान भएको खुलेको थियो। प्रहरीका अनुसार सुसान असार ८ गते अपराह्न ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए।
आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए।
असार १०, २०८२ मंगलबार २२:१७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।