नेपालमा लगानी भित्र्याउन दक्षीण अफ्रिकाका राजदूतलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो अनिल सुकलालसँग नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। सुकलालसँग मंगलबारको भेटमा उनले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताका लागि उत्कृष्ट सम्भावना रहेको बताएका हुन्।
उनले दक्षिण अफ्रिकाका व्यवसायीलाई नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन आग्रह गर्दै नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने सम्भावना रहेको बताए।
उनले नेपालमा कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रमा आकर्षक लगानी अवसर रहेको उल्लेख गर्दै पर्यटनलाई नेपालको सबैभन्दा प्राकृतिक रूपमा सम्पन्न क्षेत्रका रूपमा रहेको र नेपालमा रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर तथा इको–टुरिजमजस्ता पूर्वाधारमा लगानीका लागि निकै उपयुक्त गन्तव्य रहेको बताए।
उनले महासंघले व्यापारिक प्रतिनिधिमण्डलको स्वागत, बजार जानकारीको आदान–प्रदान तथा आवश्यक सहजीकरण गर्न सधैँ तत्पर रहेको र महासंघको सक्रियतामा नेपाल सरकारले हालै लगानीसँग सम्बन्धित विभिन्न ३० वटा कानुन संशोधन गरेको जानकारी दिएका थिए।
राजदूत प्रो अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए। उनले विशेष गरेर पर्यटन क्षेत्रमा दुवै देशबीच सहयोगको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटनमा दक्षिण अफ्रिका र नेपालले सहकार्य गरेर उल्लेखनीय काम गर्न सक्ने बताए। हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट निर्यात हुने वस्तुमा कार्पेट, तयारी कपडा र फलामजन्य सामग्री छन्।
असार १०, २०८२ मंगलबार २२:१०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।