सुर्खेतका ९ पालिकाको बजेट सार्वजनिक : वीरेन्द्रनगरको सबभन्दा बढी, चिङ्गाडको सबैभन्दा कम

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन्। तीमध्ये सबैभन्दा धेरै बजेट वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट चिङ्गाड गाउँपालिकाले प्रस्तुत गरेको छ।
वीरेन्द्रनगर नगरपालिकाले ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख नीलकण्ठ खनालले सार्वजनिक गरेको उक्त बजेटमा यातायात सुधारका लागि नगर बस खरिदमा मात्र २ करोड विनियोजन गरिएको छ।
उनले बताएअनुसार सामाजिक सुरक्षा, विकास साझेदार, संघीय तथा प्रदेश सरकारको अनुदान, आन्तरिक आय, तथा गैरसरकारी संस्था र विकास साझेदारको ४० करोड रुपैयाँ बराबरको परियोजनालाई समेटिएको छ।
नगरस्तरीय क्षेत्रगत कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब २५ करोड ९२ लाख ७९ हजार, वडास्तरीय योजनाका लागि १९ करोड २८ लाख, तलब भत्ता र कार्यालय सञ्चालनमा ३२ करोड ६५ लाख, खानेपानी तथा पूर्वाधार कार्यक्रम (भेरी पम्पिङ आयोजना)का लागि ११ करोड ६० लाख विनियोजन गरिएको खनालले जानकारी दिए।
गुर्भाकोट नगरपालिकाले १ अर्ब १ करोड ६७ लाख ९५ हजारको बजेट ल्याएको छ। भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार, पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार, बराहताल गाउँपालिकाले ६३ करोड ७ लाख ४८ हजार, सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख १९ हजार, लेकबेशी नगरपालिकाले ६१ करोड ५१ लाख २ हजार, चौकुने गाउँपालिकाले ५७ करोड ५२ लाख ३९ हजार र चिङ्गाड गाउँपालिकाले ४० करोड ८६ लाख ४६ हजार बजेट ल्याएका छन्।
सबै पालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राख्दै पुरानै ढर्राको नीति दोहोर्याएका छन्।
असार १०, २०८२ मंगलबार २१:५६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।