आन्तरिक विवादले मेयर बालेन र हर्कले ल्याउन सकेनन् बजेट

काठमाडौँ : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गते सभामा बजेट पेस गर्नुपर्ने प्रावधान छ। असार मसान्तसम्म पास गर्नु पर्छ। अन्य स्थानीय तहहरूले बजेट ल्याउँदा काठमाडौँ महानगरपालिका र धरान उपमहानगर पालिकाले भने बजेट ल्याउन सकेन।
काठमाडौँ महानगरपालिकामा भने मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच चिसोपन बढेपछि बजेट प्रभावित बनेको हो। स्वतन्त्र उम्मेदवारका रूपमा मेयर जितेका दुवै महत्त्वपूर्ण स्थानीय तहमा आन्तरिक विवादका कारण बजेट आउन सकेन। काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा मेयर बालेन शाह रुष्ट हुँदा बजेट निर्माणको प्रक्रिया नै अगाडि बढेको छैन।
उपमेयर सुनिता डङ्गोलसहित महानगरका कर्मचारीहरूले सरोज गुरागाईँलाई कार्यालयमा प्रवेश गराएपछि मेयर बालेन रुष्ट छन्। कार्यकारी गुरागाईँ र मेयर बालेनबीच बोलचाल समेत छैन। यही विवादले यस अगाडि समयमै बजेट ल्याइरहेको काठमाडौँ महानगरले यस पटक बजेट ल्याउन सकेन। प्रशासकीय प्रमुख नगर सभाको सदस्य सचिव हुन्छन्। तर बालेन गुरागाईँलाई सदस्य सचिवको रूपमा स्विकार्न तयार भएका छैनन्। यो विवादले बजेट बनाउने मेयरको संयोजकत्वमा रहेको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक समेत बस्न सकेको छैन।
उता धरानमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच विवादका कारण बजेट आउन सकेन। हरेक पटक बजेटको समयमा धरानमा विवाद हुने गरेको छ। मेयर साम्पाङको वडा अध्यक्षहरूसँग समेत सम्बन्ध राम्रो छैन। प्रारम्भमा उपमेयर बेघाले मेयर साम्पाङलाई सहयोग गर्ने गरेकोमा पछि दुबैबीच विवाद चर्किएको थियो। पछिल्लो समय दुबैबीच श्रमदानको विषयमा पुन विवाद भएको थियो। विवादका कारण मेयर साम्पाङले बजेट सीमा निर्धारण समितिको बैठक राखेका छैनन्।
२२ नगरपालिकाले ल्याएनन् बजेट
काठमाडौँ र धरान मात्रै हैन, नेपाल नगरपालिका संघका अनुसार अन्य २२ नगरपालिकाले पनि मंगलबार बजेट ल्याउन सकेनन्। मधेसका ७७ नगरपालिकामध्ये १६ वटाले बजेट ल्याउन सकेनन्। बागमती प्रदेशका ४ नगरपालिका, लुम्बिनी प्रदेशका २ र कोशी र कर्णाली प्रदेशका १/१ नगरपालिकाले पनि बजेट ल्याउन सकेनन्।
बजेट नल्याउने नगरपालिकाहरूमा नगराइन, विदेह, कमला, क्षिरेश्वरनाथ, हंसपुर, डाक्नेश्वरी, राजविराज, शम्भुनाथ, शुरुङ्गा, हनुमाननगर कंकालिनी, जलेश्वर, औरही, देवाही गोनाही, वृन्दावन, फतुवा विजयपुर, निजगढ, विदुर, पनौती, राप्ती, लुम्बिनी सांस्कृतिक, सिद्धार्थ र त्रिपुरा सुन्दरी छन्।
असार १०, २०८२ मंगलबार २०:५२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।