जलवायु परिवर्तन नियन्त्रणमा विशेष अभियान चलाउँदै ग्लोबल आइएमई बैंक, एक वर्षमा १८ हजार बिरुवा रोप्नेदेखि हरित कर्जासम्म

काठमाडौँ : ग्लोबल आइएमई बैँकले जलवायु परिवर्तन र वन फडानी रोक्न विशेष अभियान सुरु गर्ने भएको छ। आर्थिक सूचकको आधारमा देशको ठुलो बैँकको रूपमा रहेको ग्लोबल आइएमई १८ वर्ष पुग्न लागेको अवसरमा उसले ७ वटै प्रदेशमा एक वर्ष भित्रमा १८ हजार बिरुवा रोप्ने विशेष अभियान सञ्चालन गर्न लागेको हो।
हरित कार्यक्रमको लागि ग्लोबल आइएमइ बैँकले विभिन्न अन्तर्राष्ट्रिय साझेदारी मार्फत पुँजी जुटाएको छ। बैँकले हरित वित्तीय प्रवाहलाई सुदृढ गर्न भन्दै इन्टरनेशनल फाइनान्स को-अपरेसन मार्फत ५६ मिलियन अमेरिकी डलर लगानी जुटाएको छ। जसमा आधा रकम जलवायु वित्तको खर्च गर्ने छ भने बाँकी लैङ्गिक समावेशी वित्तीय सेवामा खर्च गर्ने योजना रहेको बैंकका अधिकारीले जानकारी दिएका छन्।
बैंकले ग्लोबल क्याइमेट पाट्नरशिप फन्ड मार्फत २५ मिलियन अमेरिकी डलर ऋण लिएको छ। यो रकम ऊर्जा मेसिन, सौर्य प्रणाली, हरित भवन निर्माणमा खर्च गर्ने छ। यी कामको लागि बैँकले अस्ट्रेलियाको युनिभर्सिटी अफ इन्सब्रुकसँग सहकार्य गरेर विन प्रोजेक्ट अन्तर्गत हरित भवन निर्माण डिजाइन र प्रविधिको प्रसारमा सहकार्य गर्ने बैँकले जनाएको हो।
ग्रिन एन्ड सस्टेनेबल बैँकिङ्ग युनिट
बैँकले हरित योजना अनुसार देशका ७ वटै प्रदेशमा रुख बिरुवा रोप्ने योजना अनुसार देशभरका शाखा कार्यालयहरूमा हरित कार्यक्रम सञ्चालनमा ल्याएको छ। जस अनुसार बैँकले हरित बैङ्किङ इकाई नै राखेर काम गर्ने तयारी गरेको छ।
यसका लागि बैँकले ग्रिन एन्ड सस्टेनेबल बैँकिङ्ग युनिट स्थापन गरी आन्तरिक कार्यशैलीलाई पुन परिभाषित गर्नुको साथै ग्राहक,उद्योग र लगानीकर्तालाई दिगो प्रभाव पार्ने रणनीति बनाएको छ। बैँकको योजना अनुसार इकाइले हरित लगानी, सफा ऊर्जा लगानी, दिगो वित्तीय उत्पादन,फोहोर व्यवस्थापन, जल र ऊर्जालाई पुन प्रयोगको साथै रणनीतिक साझेदारी जस्ता विषयमा काम गर्नेछ।
बैँकले १८ हजार रुख बिरुवा देशैभर रोप्ने योजना ल्याउनु अघि नै आन्तरिक रूपमा काम गरेको छ। यसका लागि ग्लोबल आइएमइ बैँकले डोको रिसाइकल प्रालिसँगको सहकार्यमा करिब २९.५ टन कागज पुन प्रयोग गरिसकेको छ। बैँकको दैनिक कामबाट प्रयोग भइसकेको कागजपत्र पुन प्रयोग गरेको छ भने देशभरिको शाखा कार्यालयहरूमा पुन प्रयोगमा आउने झेला, पानीको बोतल प्रयोग सुरु गरेको छ।
ग्लोबल आइएमइ बैँकको प्रमुख कार्यालय रहेको कमलादीमा वर्षा भएको पानी सङ्कलन गरेको छ। यसबाट वार्षिक २.२८ लाख लिटर पानी सङ्कलन गरेर शौचालय र सिँचाइमा समेत प्रयोग गरेको बैङ्कका सिइओ सुरेन्द्र रेग्मीले जानकारी दिए।
‘हरित योजनाको केही काम हामीले आफ्नो कार्यालयमा पनि गरेका छौँ। सोही कारणले अब हामीले कार्यालयमा गरेका कामहरू आम नागरिकमा लग्न हरित योजना ल्याएका हौँ’ उनले भने।
यो कामले हजारौँ लिटर पानीको बचत, कार्बन उत्सर्जनमा कमी, र वन विनाश न्यूनीकरणमा योगदान दिएको उनले बताए।
साना व्यवसायहरूलाई लक्षित गरी हरेक शुक्रवार बैँकको मुख्य कार्यालय रहेको कमलादीमा सस्टेनेबल एसएमई मार्ट समेत सञ्चालन गरेको छ। जसमा पुन प्रयोग गर्न मिल्ने, स्थानीय तथा वातावरणमैत्री वस्तु तथा सेवाहरू उत्पादन गर्ने उद्यमीहरू सहभागी हुने गरेको बैकले जानकारी दिएको छ।
हरित कर्जा योजना
ग्लोबल आइएमइ बैँकले कर्जामा समेत हरित योजना सञ्चालनमा ल्याएको छ। जसमा बैँकले विभिन्न हरित वित्तीय उत्पादनहरू सुरु गरेको छ। यसले व्यक्तिगत तथा व्यावसायिक ग्राहकलाई वातावरणमैत्री विकल्प रोज्न सक्ने सुविधा दिएको छ।
बैँकले ल्याएको हरित कर्जा योजना अनुसार ग्लोबल ग्रिन होम लोन छ। २०८० मै घोषणा भएको बैँकको यो योजनामा एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुरूप सस्तो र सरल किस्ताबन्दीमा घर बनाउन र किन्न लक्षित गरेको छ।
हरित घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको लागि ९.९९ प्रतिशत ब्याजदरमा ऋण पाउन सक्ने छ भने ५ देखी १० वर्षको लागि १०.९९ देखी ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिको लागि ११.४९ देखी ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदर कायम गरेको छ। छिटो, छरितो एवम् सहज कर्जा प्रवाह गर्न आवश्यक कागजपत्रहरू पेस गरेको तीन दिनभित्र कर्जा प्रवाह हुने बैँकले जनाएको छ।
त्यस्तै, बैँकले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना लागु गरेको छ। यस योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ। न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेका ग्राहकहरूलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ।
त्यस्तै, औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना समेत ल्याएको छ। नवीकरणीय ऊर्जाको पहुँच विस्तार तथा जलविद्युत ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको बैंकको तर्क छ।
यो कर्जाबाट होटेल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरूले प्रत्यक्ष लाभ लिन सक्ने बैंकको दाबी छ। यो योजना बैङ्क आफैले प्रयोग गरेको छ। जसमा हालसम्म बैँकले ५ मेगावाट बिजुली रुफटप सोलार योजना अनुसार बिजुली उत्पादन गरेर ४१ वटा शाखा कार्यालयमा चलिरहेको छ भने बैङ्क आफैले ४६ मेगावाटको सौर्य परियोजनामा लगानी समेत गरेको छ। बैँकले १७ सय मेगावाट क्षमताको जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।
बैँकले सञ्चालन गरेको विभिन्न अभियान र ग्राहक लक्षित सेवाका कारण अन्तर्राष्ट्रिय युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ बाट अवार्ड पाएको थियो। युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो। ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैङ्किङ क्षेत्रमा भित्र्याएको नयाँ नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो।
यस अगाडि वेस्ट बैंक नेपाल र वेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट समेत सम्मानित भइसकेको छ।
असार १०, २०८२ मंगलबार २०:०१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।