नेपाली सूचना प्रविधि कम्पनीले विदेशमा लगानी गर्न मिल्ने राष्ट्र बैंकको नयाँ नीतिलाई नासआईटीले गर्यो स्वागत

काठमाडौं : नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीले नेपाल राष्ट्र बैंकको नयाँ नीतिगत सुधारलाई ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेको छ।
अबदेखि नेपाली सूचना प्रविधि कम्पनीहरूलाई विदेशमा लगानी गर्न कानुनी बाटो खुलेको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा गरेको चौथो संशोधन, जसले असार ४ गतेदेखि लागू भएको व्यवस्था अनुसार, अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न चाहने प्रविधि कम्पनीहरूका लागि अवरोध हटाएको छ।
नयाँ प्रावधानअनुसार विगत तीन आर्थिक वर्षदेखि निरन्तर सूचना प्रविधि सेवा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गरिरहेका कम्पनीहरूले विदेशमा लगानी गर्न विदेशी मुद्रा प्रयोग गर्न अनुमति पाउनेछन्।
त्यस्तो लगानीको सीमा कम्पनीको पछिल्ला तीन वर्षको औसत विदेशी मुद्रा आम्दानीको ५० प्रतिशत वा अधिकतम १० लाख अमेरिकी डलर मध्ये जुन कम हुन्छ, त्यससम्म सीमित हुनेछ।
यो नीतिगत सुधार सरकारले २०८१ साल पुष २९ गते ल्याएको आर्थिक तथा व्यापारिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशको निरन्तरता हो। उक्त अध्यादेशमार्फत विदेशी विनिमय ऐन २०१९, कम्पनी ऐन २०६३ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७६ संशोधन गरी प्रविधि कम्पनीका लागि विदेशमा लगानी गर्न कानुनी आधार तयार गरिएको थियो।
असार १०, २०८२ मंगलबार १९:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।