भारत-नेपाल सुरक्षा परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

भारत-नेपाल सुरक्षा परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

काठमाडौं : भारत-नेपाल द्विपक्षीय सुरक्षा परामर्श समूहको १६ औँ बैठक असार ९ र १० गते भारतको पुणेमा सम्पन्न भएको छ।

बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरे भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एशिया) गेहेन्द्र राजभण्डारीले गरे।

प्रतिनिधिमण्डलमा दुवै देशका परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूसँगै भारतीय सेना र नेपाली सेनाका उच्च पदाधिकारीहरूको पनि सहभागिता थियो।

बैठकमा सुरक्षा र रक्षा सहयोगसम्बन्धी विविध विषयहरू जस्तै– उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत सहयोग र सैन्य आदानप्रदान लगायतका विषयमा फलदायी छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

त्यसका साथै दुवै पक्षले सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख रक्षा उत्पादन स्थलहरूको भ्रमण गर्दै पारस्परिक लाभदायक सहकार्यको सम्भावना खोज्ने प्रयास गरेका थिए।

असार १०, २०८२ मंगलबार १८:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।