प्रतिनिधि सभाबाट पारित भयो बजेट

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गर्न प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
विधेयक पारित हुनुअघि सभामुख देवराज घिमिरेले विधेयकका दफाहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकमा सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले खर्च कटौतीका प्रस्ताव राखेका थिए। तर ती प्रस्तावहरू बहुमतले अस्वीकृत गरियो।
बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा; गृह; सञ्चार तथा सूचना प्रविधि; अर्थ; सहरी विकास; प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय; राष्ट्रिय योजना आयोग; राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय लगायतका शीर्षकहरूमा उठेका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए।
गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको थियो। त्यसपछि विभिन्न बैठकमा विनियोजन विधेयकमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलमा उठेका विषयमा सरकार पक्षबाट स्पष्टिकरण दिइएको थियो।
असार १०, २०८२ मंगलबार १८:३६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।