जनमत पार्टीकी फरार सांसद रायमाझीले दुई वर्षदेखि घर भाडा नतिरेको भन्दै घरधनीले हाले उजुरी

जनमत पार्टीकी फरार सांसद रायमाझीले दुई वर्षदेखि घर भाडा नतिरेको भन्दै घरधनीले हाले उजुरी

बुटवलः बैंकिङ कसुरमा उजुरी परेपछि फरार रहेकी लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वकृषिमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घरभाडा नतिरेको पाइएको छ। रायमाझीविरुद्ध आफ्नै पार्टीकी नेता आशा चौहानले पर्सा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी फरार छिन्।

बर्दियाको गुलरिया नगरपालिका–५ स्थायी ठेगाना भएकी रायमाझी जनमत पार्टीबाट दोस्रो कार्यकालका लागि समानुपातिक सांसद बनेकी हुन्। उनी २०७९ माघ ४ गतेदेखि दाङको राप्ती गाउँपालिका–१ स्थित हेमलाल आचार्यको घरमा बस्दै आएकी थिइन्।

घरबेटी हेमलाल आचार्यले रायमाझफले दुई वर्षसम्म भाडा नतिरेको भन्दै प्रदेश सभा सचिवालयमा उजुरी दिएका छन्। उनले भने, ‘एकपटक मात्रै ८० हजार रुपैयाँ दिइएको थियो, त्यसपछि अहिलेसम्म केही भाडा बुझाइएको छैन। मासिक १० हजार रुपैयाँका दरले घरको एक फ्ल्याट भाडामा लिएर बस्नुभएको थियो।’ 

आचार्यका अनुसार रायमाझीले प्रदेश सभा सचिवालयबाट मासिक १७ हजार रुपैयाँ बराबरको घरभाडा सुविधा भने नियमित रूपमा बुझिरहेकी थिइन्।

‘म अरू आम्दानीको स्रोत भएको मान्छे होइन, कानुन बनाउने र जनतालाई न्याय दिन जनप्रतिनिधिबाट यस्तो कल्पना गर्ने कुरा थिएन, मैले धेरै पटक फोन गर्दा पनि उठाउनुभएको छैन, धेरै पटक भोलि, भोलि भनेर टार्नुभएको छ, अहिले त धेरै समय भयो यहाँ घरमा आउनुभएको पनि छैन, मोबाइल पनि स्वीच अफ छ।’

यसरी लामो समयसम्म भाडा नतिरेर सम्पर्कविहीन भएकी रायमाझीविरुद्ध घरबेटी आचार्यले सभामुख समक्ष न्यायको आग्रह गर्दै औपचारिक निवेदन दर्ता गराएका छन्।

रायमाझी पहिलो कार्यकालमा लुम्बिनी प्रदेशकी कृषिमन्त्री समेत भइसकेकी थिइन्। तर अहिले उनी बैंकिङ अपराधको उजुरीपछि सम्पर्कविहीन बनेकी छन्।

असार १०, २०८२ मंगलबार १७:३९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।