उत्तरपूर्वी युक्रेनमा रूसी ड्रोन आक्रमण, पाँच वर्षीय बालकसहित तीन जनाको मृत्यु

एजेन्सी : उत्तरपूर्वी युक्रेनको सुमी सहर नजिकै भएको रूसी ड्रोन आक्रमणमा पाँच वर्षीय बालक, ५२ वर्षीय पुरुष र ८४ वर्षीया महिलाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूले मङ्गलबार घटनाबारे जानकारी दिएका हुन्। यो हमला युक्रेनले राजधानी किएभमा भएको दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमणमा १० जनाको मृत्यु भएको भोलिपल्ट भएको हो।
तीन वर्ष लामो युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासहरू ठप्प भइरहेका छन् भने किएभ र मस्कोबीचको पछिल्लो प्रत्यक्ष वार्तालाई लगभग तीन हप्ता बितिसकेको छ, र हालसम्म कुनै नयाँ वार्ता तय भएको छैन।
सुमी क्षेत्रीय अभियोजक कार्यालयले दिएको जानकारीअनुसार आक्रमणमा थप छ जना घाइते भएका छन्, जसमा दुई जना १७ वर्षका किशोरी र एक जना १२ वर्षीय बालक पनि छन्।
हमलाले सातवटा आवासीय भवन पूर्ण रूपमा ध्वस्त, २२ घर र ६ सवारीसाधन क्षतिग्रस्त बनाएको छ। सुमी सैन्य प्रशासन प्रमुख ओलेग ग्रिगोरोभले भग्नावशेषबाट एक जनाको शव निकालिएको जानकारी दिँदै भने, ‘एकै सडकमा बस्ने विभिन्न परिवारका मानिसहरूले आ-आफ्नो घरमा सुत्न गएका थिए, तर रूसी ड्रोनहरूले उनीहरूको निद्रालाई सधैँका लागि चुँडाइदियो।’
यस्तै, रूसी ड्रोन आक्रमणमा खार्किवमा पाँच जना र दनिप्रोपेट्रोभस्क क्षेत्रमा अन्य चार जना घाइते भएका छन्। अधिकारीहरूले टेलिग्राममार्फत घटनाको पुष्टि गरेका छन्।
असार १०, २०८२ मंगलबार १७:००:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।