भदौ १२ देखि ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुँदै ‘कोशेढुंगा’

काठमाडौं : नेपाली चलचित्र ‘कोशेढुंगा’ आउँदो भदौ १२ गते देखि नेपालसहित विश्वभरका ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शनमा आउने भएको छ।
‘पूर्ण बहादुरको सारङ्गी’बाट सर्वकालीन ब्लकबस्टर निर्देशन दिएका सरोज पौडेलको निर्देशनमा तयार भएको यो चलचित्र अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडालगायत मुलुकहरूमा एकसाथ रिलिज हुने हो। चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय स्तरमा वितरण गर्दैछ।
निर्देशक पौडेलले अन्य देशहरूमा पनि रिलिजका लागि कुराकानी भइरहेको बताउँदै भने, ‘रिलिजको समयसम्म थप देशहरू सूचीमा थपिनेछन्।’
सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालका अनुसार नेपाली सिनेमाको इतिहासमै पहिलोपटक ४० देशमा एकैपटक चलचित्र प्रदर्शन हुन लागेको हो। ‘डायस्पोरामा नेपाली चलचित्रका लागि यो ऐतिहासिक अवसर हो,’ उनले भने, ‘'कोशेढुंगा'ले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मलाई नयाँ उचाइ पुर्याउनेछ भन्ने आशा लिएका छौं।”
चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रका साथै काठमाडौंमा गरिएको हो। गाउँले परिवेशमा आधारित यस फिल्मले मौलिक नेपाली कथा प्रस्तुत गर्ने बताइएको छ।
हालै सार्वजनिक गरिएको फस्टलुक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई पछ्यौरी ओढेको ग्रामीण महिलाको रूपमा प्रस्तुत गरिएको थियो, जसले सिनेमाको मौलिकता झल्काउँछ।
नरदेवी फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का छन्। बाबु श्रेष्ठले छायांकन, नहकुल खड्काले सम्पादन, र संगीत आशिष अविरल र रिदम कँडेलले तयार गरेका छन्। चलचित्रको कास्टिङ निर्देशक सुवलमणि सापकोटा हुन्।
असार १०, २०८२ मंगलबार १४:५८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।