धुलिखेल-खावा सडक स्तरोन्नतिको काम अलपत्र, यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक : अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डको स्तरोन्नति कार्य वर्षौदेखि अधुरो रहँदा अहिलेको वर्षायाममा यात्रुहरूले निकै सास्ती खेप्नुपरेको छ। करिब चार वर्षदेखि निर्माणमा ढिलाइ भइरहेकाले ठेक्का नै रद्द भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
२०७९ जेठ २० गते २२ महिनाभित्र सम्पन्न गर्नेगरी २० करोड १९ लाख रुपैयाँमा गौरी-पार्वती निर्माण सेवा नामक कम्पनीलाई ठेक्का दिइएको थियो। तर, ठेकेदार कम्पनीले समयमै काम नगरेपछि फागुन १५ गते सम्झौता रद्द गरिएको हो। सम्झौता सकिएको ११ महिनासम्म पनि मात्र २५ प्रतिशत काम सम्पन्न भएकाले कार्यालयले कारबाही अघि बढाएको थियो।
तर ठेक्का रद्द भएपछि सम्बन्धित कम्पनी उच्च अदालत पाटन पुगेको थियो। अदालतले कम्पनीलाई कालो सूचीमा नराख्न, धरौटी रकम जफत नगर्न र अहिलेको अवस्थामा काम रोक्न अन्तरिम आदेश दिएपछि सडक स्तरोन्नतिको काम अलपत्र परेको हो।
हाल स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा प्रक्रिया सुरु गर्न केही महिना लाग्ने डिभिजन कार्यालयले जनाएको छ। यात्रुहरूको सास्ती कम गर्न खाल्डाखुल्डी पुर्ने काममात्र भइरहेको छ। कार्यालय प्रमुख सिडिई सुमन योगेशका अनुसार अब नयाँ स्टिमेट तयार गरी भदौ अन्तिम वा असोजदेखि नयाँ ठेक्का प्रक्रिया थालिनेछ। नयाँ योजना अन्तर्गत ४२ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ।
उनका अनुसार अदालतको आदेशले नयाँ ठेक्का प्रक्रिया रोक्ने कुनै बाधा छैन। विगतमा ठेकेदारलाई स्पष्टीकरण मागिए पनि सन्तोषजनक जवाफ नआएपछि बाध्य भएर ठेक्का रद्द गरिएको हो।
हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्मको डाँडा काट्ने काम सकिएको छ भने केही स्थानमा नाली र ड्रेनवाल बनाइएको छ। तर जिपलाइनदेखि खावासम्मको सडक मात्र भत्काइएको अवस्थामा छ। एक किलोमिटर क्षेत्रमा अझै कटिङ बाँकी छ। अघिल्लो वर्ष बेस र सब–बेस हालिएको थियो, तर वर्षाले ती सबै बगाएर सडक पुनः खण्डहर बनेको हो।
निर्माण ढिलाइका कारण सडक जीर्ण बनेको छ, दुर्घटना बढेका छन्, र यात्रुले निरन्तर दुःख पाइरहेका छन्। यो सडकलाई बलियो बनाउन नेपालमै पहिलोपटक ग्राभेलमाथि २० से.मी. बाक्लो सिमेन्ट मिसाइएको बेस, अनि दुई तहको डिबिएम र अस्फाल्ट गर्ने योजना थियो।
चीनको तातोपानी नाका हुँदै दोलखा, रामेछाप पुग्ने यो सडकलाई उच्च प्राथमिकता दिइएको भए पनि निर्माणको गति हेर्दा यात्रुलाई अझै केही समय सास्ती भोग्नुपर्ने देखिएको छ।
असार १०, २०८२ मंगलबार १४:४४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।