भिजिट भिसा छानबिन समितिप्रति राप्रपाको टिप्पणी- आरोपी चोख्याउन ‘दूधको साक्षी बिरालो’ राखियो

काठमाडौं : भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेको छ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले समितिप्रति आपत्ति जनाएका हुन्।
उनले १८ वर्षमा १४ जना गृहमन्त्रीहरू फेरिएको र उनीहरू सबैलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा समिति भने आरोपीलाई चोख्याउने नियतले बनेको आरोप लगाए।
उनले ‘दूधको साक्षी बिरालो’ राखेजस्तो भएको भन्दै यस्तो समितिबाट समस्या समाधान नहुने टिप्पणी गरे। छानबिन हुनुपर्ने व्यक्तिहरूले नै कर्मचारी राखेर गठन गरेको समितिले विधिको शासन स्थापना गर्न नसक्ने उनको भनाइ थियो।
शाहीले सरकारको यो समिति अपराध ढाकछोप गर्न र भिजिट भिसा प्रकरणमा संलग्न १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको दाबी गरे।
यो प्रोपोगाण्डाका विरुद्ध राप्रपा सडक र सदनमा एक भएर संघर्ष गर्ने उनले बताए।
यो मान्छे बेचबिखनको प्रक्रिया भएको उल्लेख गर्दै संख्याका आधारमा यो मुद्दालाई कमजोर नबनाउन उनले आग्रह गरे।
भिजिट भिसा प्रकरणमा छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।
असार १०, २०८२ मंगलबार १४:२१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।