चौथो अंग : अनुभवी बाहिरिँदा र ज्ञान हस्तान्तरण नहुँदा ‘डिप्रेस्ड’ बन्यो नेपाली पत्रकारिता

दुई वटा घटनाबाट शुरू गरौँ। पहिलो, केही समयअघि सुदूरपश्चिमका पत्रकार सुरेश भुल मारिए। दोस्रो, चैत १५ गते राजसंस्था पक्षधरहरूको प्रदर्शनका क्रममा फोटो पत्रकार सुरेश रजकको निधन भयो। यी दुई घटना घटेको एक वर्ष पनि भएको छैन। दुवै पत्रकारले कामकै सिलसिलामा ज्यान गुमाए। यस्तो किन हुन्छ?
यसका पछाडि दुई मुख्य कारण देखिन्छन्। पहिलो, संविधान विरोधी प्रदर्शन हुँदा सरकार र प्रदर्शनकारीबीच के सम्म हुन सक्छ भन्ने आकलन गर्न नसक्नु। दोस्रो, सूचनालाई कसरी ह्यान्डल गर्ने भन्ने सीप पत्रकारमा नहुनु।
सुरेश रजकको सवालमा केही प्रश्न छन्। जस्तो कि, जलिरहेको घरबाट अरू झर्दा समेत उनी किन झरेनन्? मैले उनी काम गर्ने संस्थामा बुझ्दा यस्ता घटना हुँदा कसरी काम गर्ने भन्ने विषयमा उनी अरूलाई पनि सिकाउँथे रे! अनि उनी कसरी चुके त?
सुरेश भुलको सवालमा उनी सानो मिडियामा काम गर्थे। प्राप्त गोप्य सूचना कसरी प्रयोग गर्ने भन्नेमा उनी चुके। उनले फेसबुकमार्फत ज्यान मार्ने धम्की आएको कुरा त सार्वजनिक गरेका थिए, तर त्यो कसैले पत्याइदिएन। उनी अझ दलित समुदायका समेत थिए। उनले भनेका कुरालाई गम्भीर रूपमा लिइदिने कोही भएनन्।
नेपाल सशस्त्र द्वन्द्वबाट निस्केको भर्खर २० वर्ष भयो। द्वन्द्वकालमा काम गरेका थुप्रै अनुभवी पत्रकारहरू हुनुहुन्छ। तर, उहाँहरू अहिले फिल्डमा हुनुहुन्न। अनुभवी व्यक्तिहरू समाचार कक्षमा नहुँदा पनि पत्रकारले अकालमा ज्यान गुमाएका छन्।
२० वर्षअघि अन्य पेशामा लागेकाहरू त्यही पेशामा टिकिरहेका छन्। तर पत्रकारहरू टिक्न सकेनन्, किन? पत्रकारिताले स्वतन्त्र रूपमा काम गरेको ३० वर्षभन्दा बढी भयो, तर पनि यसले अझै अपेक्षित आकार लिन सकेन। अनुभवीहरू बाहिरिए, मिडिया हाउसले तालिम दिएनन् अनि नयाँ पत्रकारलाई सूचनासँग कसरी खेल्ने, प्रदर्शन भइरहेको स्थानमा कसरी रिपोर्टिङ गर्ने भन्ने ज्ञान हस्तान्तरण नै भएन। यसैको असर अहिले नेपाली पत्रकारितामा स्पष्ट देखिन्छ।
राजनीतिक पत्रकारितादेखि विशेषज्ञ पत्रकारितासम्म
अहिले पत्रकारितामा आउनेहरू व्यवस्थित रूपमा सोचविचार गरेर आउँछन्। तर मैले २०४५ सालमा शुरू गर्दा कुनै सोचविचार गरेको थिइनँ, संयोगवश यसमा पुगिएको हो। नेवारी भाषाको ‘विश्वभूमि’ पत्रिकाबाट पत्रकारिता शुरू भयो। भाषा नेवारी भए पनि मैले नेपालीमै लेख्थेँ। पछि ‘न्यूह गु विश्वभूमि’ पत्रिकामा काम गरेँ।
त्यसपछि मिडिया परिवर्तन भइरहे। पञ्चायतको अन्त्यतिर काम गर्दा मैले मिडियाप्रति राज्यको निरङ्कुश व्यवहार खासै भोगेको थिइनँ। राजा ज्ञानेन्द्रले ०५९ साल र ०६२ सालमा ‘कु’ लादेपछि भने त्यो भोगियो। त्यतिबेला रेडियोले समाचार भन्न नदिने उनको आदेश आयो, सेनालाई समाचार कक्षमा पठाइयो।
ज्ञानेन्द्रले शुरूमा नै मिडियामाथि आक्रमण गरेका थिए। तर त्यो उनको लागि प्रत्याघाती भइदियो। राजनीति र शासन व्यवस्था जतातिर जान्छ, त्यस देशको पत्रकारिता पनि त्यतै जान्छ। राजाकालमा जोखिम मोलेर पत्रकारहरूले काम गरे। दलहरूलाई राजाले प्रतिबन्ध लगाउँदा दलहरूले मिडियालाई ‘अर्को संसद् हो’ भनेर प्रशंसा गर्थे।
यसबीचमा आइपरेका अप्ठ्याराहरूमध्ये भूकम्प र कोभिडजस्ता घटनाले पत्रकारितालाई प्रत्यक्ष असर पार्यो। लोकतन्त्र आएपछि यी दुई घटनाले पत्रकारितालाई झन् ‘डिप्रेस्ड’ अवस्थामा पुर्याएको देखिन्छ। नेपाली पत्रकारिताले गर्नुपर्ने काम अहिले निकै चुनौतीपूर्ण छ।
यद्यपि, नेपाली पत्रकारितामा धेरै राम्रा काम भएका छन्। जस्तो, पहिले म कुनै मिडियामा काम गर्दा १४ वटा बिटसम्मका समाचार लेख्थेँ। अहिले जस्तो कुनै विषयमा गहिरो सूचना र ज्ञान राख्ने फुर्सद नै हुँदैनथ्यो। तर, अहिले कुनै एक बिटमा गहिरो गरी लेख्छु भन्नलाई धेरै प्लेटफर्महरू खुलेका छन्। प्रविधिमा अहिलेका मिडिया अगाडि छन्।
तर, एउटा समस्या शुरूदेखि हालसम्म जस्ताको तस्तै रह्यो- त्यो हो पेशागत सुरक्षा। यदि अहिले काम गरिरहेका पत्रकारलाई राम्रो अवसर दिने हो भने कति जना पत्रकारितामा टिक्छन् होला? नेपाली पत्रकारिताले आचरण पालना गर्न सकेन भनिन्छ। किन त? के पत्रकारले समाचार लेखेर मात्रै जीविका चल्छ? अन्य पेशामा जस्तै सेवा सुविधा पत्रकारलाई छ त? यो विषयमा समाजले नै चासो नराखुन्जेल पत्रकारितामाथि प्रश्न उठिरहन्छ। पेशागत सुरक्षा नभएको पेशामा आचरण पालना गर्न सकिँदैन।
पत्रकारले पत्रकारिता मात्रै गरेर चिसो चुलो बाल्न नसकी पढाउनुपर्ने, अन्यत्र लेखनको काम गरिदिनुपर्ने बाध्यता छ। शुद्ध पत्रकारिता मात्रै गर्न अहिले धेरैजसो पत्रकारले सकिरहेका छैनन्। प्रतिकूल समयमा पनि विशेषज्ञ पत्रकारितामा लम्किरहेका नेपाली पत्रकारहरूको यदि पेशागत सुरक्षा हुने हो भने योभन्दा बढी खारिएको र गुणस्तरीय समाचारहरू आउँछन्।
ज्ञान हस्तान्तरणको अभाव
विकसित देशका मुलुकहरूसँग तुलना गर्न खोजेको त होइन, तर त्यहाँ पत्रकारिता मात्रै गरेर जीविका चलाउने अनि वर्षौँको आफ्नो अनुभव ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गरिरहेका हुन्छन्। नेपालमा त्यसको अभाव छ। शुरूमै मैले भनेका दुईवटा घटना यसका ज्वलन्त उदाहरण हुन्। यो अवस्था आउनु नेपाली पत्रकारिताको दुर्भाग्य हो। पेशा सुरक्षित हुन्थ्यो भने अहिले ज्ञान हस्तान्तरण हुन्थ्यो।
तत्कालीन विद्रोही पक्षले ८० प्रतिशत भूभाग कब्जा गरेको छु भन्ने र सदरमुकाममा मात्रै सीमित राज्य प्रशासन भएको बेलामा पनि पत्रकारहरूले माओवादीका कथाहरू बाहिर ल्याएका थिए। त्यतिबेला द्वन्द्वकालीन समयमा त्यही प्रकारका तालिमहरू सञ्चालन भएका थिए। तर अहिलेको पत्रकारितामा न त विश्वविद्यालयबाट ज्ञान हस्तान्तरण भएको छ, न त अग्रजबाट। प्रायः मिडियाले कुनै खास पेशागत व्यक्तिबाट पत्रकारिता सिकाएको देखिँदैन।
यसको परिणाम पत्रकारितामा देखिएको छ। समाजमा अहिले पनि द्वन्द्व छ, तर के हामीले त्यसलाई गहिरो गरी नियालेका छौँ त? अहिले पनि लैङ्गिकताका सवालका मुद्दाहरू छन्, भाषाका सवालहरू छन्, जात व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष भइरहेको छ। हतियार उठाउनु मात्रै द्वन्द्व हुनु होइन। अहिले भइरहेको सङ्घर्षबारे हामी मिडियाले कति गम्भीर भएर रिपोर्टिङ गरेका छौँ? पत्रकारिता भनेको सिक्ने र सिकाउने दुवै हो।
पत्रकारले आचरणमा रहेर उठाएका ‘इश्यूहरू’मा अहिले पनि उत्तिकै बहस र छलफल हुने गरेका छन् र उस्तै परे ऐन नियम नै परिवर्तन भएका छन्। तर, के हामीले भुइँ तहमै रहेर काम गर्न सकेका छौँ?
मिडिया जसले चलाइरहनु भएको छ, उहाँहरूको जीवनशैली हेर्दा मिडिया सन्तुलनमै रहेको देखिन्छ। तर पत्रिका र प्रोडक्ट हेर्दा कन्टेन्टमा लगानी भएको देखिँदैन। बासी समाचार अहिले कसैले पढ्दैन।
सीमित घेराबाहिर रहेर रिपोर्टिङ गर्नुपर्ने हो। तर हामी पत्रकारहरू वडा वडा त के, प्रदेश सरकारको समेत साङ्गोपाङ्गो रिपोर्टिङ गर्न सकेका छैनौँ। पहुँचको हिसाबले धेरै विकास भएको छ। त्यो तुलनामा सामग्रीको विकास हुन सकेको देखिँदैन।
सूचनाको स्वतन्त्रता बढ्दै गयो, तर हामीले त्यसको उपयोग गर्न सकिरहेका छैनौँ। किनभने, मिडियाको कन्टेन्टमा लगानी नै भएन। कानुनी रूपमा शासन व्यवस्था फेरिएपछि सूचना त सहजै पाइएला, तर पत्रकारले सूचना मात्रै होइन, शासन व्यवस्था बदलिएपछि आम व्यक्तिको जीवनशैली बदलियो कि बदलिएन भनेर हेर्नु पनि उसको काम हो। राजाको शासन कालमा गिट्टी कुट्ने र अहिले गिट्टी कुट्नेको दैनिकीमा के फरक भयो? पत्रकारिताका ‘इश्यू’ यी पनि त हुन्।
अर्को महत्त्वपूर्ण कुरा, सामाजिक सञ्जाल र मिडियाको भेद कसरी थाहा पाउने? हामी कसरी फरक हुने हो? कन्टेन्ट त कन्टेन्ट क्रिएटरले पनि दिएका छन्। केही मिडिया सोसल मिडियाले प्रयोग गर्ने भाषा र त्यस्तै कन्टेन्ट उत्पादन गर्न लहसिएको देखिन्छ। यसरी मिडियाले आफ्नो आचारसंहिता बिर्सन मिल्दैन। अहिलेका सामाजिक सञ्जाल भनेका हिजोका चौतारी र पँधेरा हुन्। त्यहाँ सबै नराम्रा कुरा मात्रै हुन्छन् भन्ने होइन, तर त्यही अनुसार सामग्री उत्पादन गर्ने हो भने हामी चुक्छौँ। यसमा हामी चुकेका छौँ।
मिडिया व्यवस्थापन नसुध्रि सुखै छैन
मिडिया व्यवस्थापनमा धेरै काम हुनुपर्ने देख्छु। पुस्तकालयको माग गर्दा ‘किन चाहियो पत्रकारलाई पुस्तकालय?’ भन्ने मिडिया हाउस हाम्रैमा छन्। किरिया बिदा, सुत्केरी बिदा, विवाह गर्न जाँदा समेत चाहिए जति बिदा नदिने मिडिया हाउस छन्। पत्रकारको जीवनस्तर बदलिएन भने मिडिया बलियो हुँदैन।
समाचारका लागि हाम्रो देश ‘फर्टाइल’ (उपयुक्त) हो। पत्रकारको सङ्ख्याभन्दा मिडिया धेरै छन्। मर्ज गरेर चलाउँदा हुन्छ। मिडियामा विदेशी प्रत्यक्ष लगानी ल्याउन दिएका छैनौँ। बजारलाई नियन्त्रण गर्न सक्छौँ। रिपोर्टिङ गर्न मिल्ने विषय धेरै छन्। पछिल्लो समय मिडिया हाउस र पत्रकारको सम्बन्ध सन्तुलित देखिएको छैन। यसमा मिडिया हाउसले ख्याल गर्नुपर्छ।
अर्को, मिडियाले मिडिया लिट्रेसीमा पनि काम गर्नुपर्छ। किनभने, मन्त्री पदमै पुगेकाहरूले समेत ‘मिडियाले नकारात्मक कुरा मात्रै लेख्छ’ भन्न थालेका छन्। मिडियाको स्वभाव नबुझ्नेले त्यस्तो भन्ने हुन्। मिडियाले बदमासी भएको देखेको छ भने प्रश्न उठाउने हो। जनताको कर सदुपयोग नगर्नेलाई जवाफदेही बनाउने मिडियाको धर्म हो। मिडियाले के गर्छ, के गर्दैन भनेर मिडिया लिट्रेसीसमेत फैलाउनुपर्ने देखिन्छ।
अन्त्यमा, नेपाली सम्पादकहरू खारिएका पेशागत व्यक्ति बन्दै गइरहेका छन्। स्रोतमा पहुँच छ, तर आउने कन्टेन्टले सम्पादकीय स्वतन्त्रता नभएको जस्तो देखिन्छ। एउटा उखान छ, ‘सबैको प्रिय हुने हो भने आइसक्रिम बेच।’ पत्रकारिता सबैको प्रिय बन्नका लागि गर्ने नै होइन।
रिपोर्टरलाई प्रविधिले धेरै सहज त बनाएको छ, तर फिल्डमा गएको देखिएन। स्रोत नभएर हो या के हो, रिपोर्टरहरू अल्झिएका छन्। एउटा उदाहरण दिन्छु, रेडियोले पहिले समाचार दिन पाइँदैनथ्यो। हामीले त्यसमा आन्दोलन समेत गर्यौँ। यतिसम्म कि, विरोध स्वरूप टेम्पोमा समेत समाचार भन्दै हिँड्यौँ। पत्रकारिता ‘प्यासन’ पनि हो। त्यसकारण रिपोर्टरमा फिल्ड जाने हुटहुटी जहिले हुनुपर्छ। यसमा हामीले अहिले सुधार गर्नुपर्ने कुरा नै यही हो।
(‘विश्वभूमि’, ‘दृष्टि’, ‘जनता’,’प्रतिपक्ष’, ‘नेपालसमाचारपत्र’ ‘कम्युनिकेशन कर्नर’ हुँदै ‘नेपाल एफएम नेटवर्क’ र ‘हिमालयन टेलिभिजन’को सम्पादक भएका तथा आधा दर्जन पुस्तकका लेखक विनोद ढुंगेलसँग उकेराकर्मी प्रजु पन्तले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र ज्ञान हस्तान्तरणबारे गरेको कुराकानीमा आधारित छ।)
चौथो अंगका पुराना श्रृंखला :
असार १०, २०८२ मंगलबार १४:०३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।