गृहमन्त्री लेखकद्वारा छानबिन समितिबारे संसदमा जानकारी, ‘अख्तियारको अनुसन्धान प्रभावित नहुने’ दाबी

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा देखिएका समस्या छानबिन गर्न सरकारले गठन गरेको समिति आफ्नै प्रस्तावमा बनेको प्रतिनिधि सभालाई जानकारी गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा सोमबार सरकारले गठन गरेको छानबिन समितिले सदनमा उठेका सबैको भावना र चासोलाई समेटेको दाबी गरे।
उनले समिति गठन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा कुनै असर नपर्ने गरी सहमति भएको जानकारी दिए।
भिजिट भिसामा देखिएको समस्या व्यक्तिगत नभई दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री लेखकले भने, ‘समस्या छ सबैलाई थाहा छ। यो व्यक्तिगत विषयको कुरा होइन। यो समस्यालाई हामी सबै मिलेर दीर्घकालीन रूपमा निराकरण गर्ने हो। त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्यादेश र समिति बनेको छ।’
उनका अनुसार समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। समितिका लागि नौ वटा कार्यादेश तोकिएको छ।
असार १०, २०८२ मंगलबार १२:२०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।