जापानमाथि नेपालको नौ विकेटको सहज जित

जापानमाथि नेपालको नौ विकेटको सहज जित

काठमाडौं : मलेसियामा जारी एसीसी पुरुष यु-१६ इस्ट जोन कपको अन्तर्गत मंगलबार भएको खेलमा नेपालले जापानमाथि नौ विकेटको सहज जित हासिल गरेको छ। यो नेपालको प्रतियोगितामा लगातार दोस्रो जित हो।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। नेपाललाई सहज जित दिलाउने क्रममा शिवान्श बजगाईंले ७ चौकासहित ३८ रनको योगदान दिए।

अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ रहेका प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे। ओपनर जोय थापा भने १ रन बनाएर आउट भएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो। नेपालको उत्कृष्ट बलिङसामु जापानका ब्याटर खुलेर खेल्न सकेनन्।

जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकासहित सर्वाधिक ३६ रन बनाएका थिए भने गम्बी हाराहिन्जीले ३० बलमा १३ रन जोडे। यी दुईबाहेक जापानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बायाँ हाते स्पिनर शुभम खनालले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १-१ विकेट लिए।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो। दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ। जापानको यो प्रतियोगितामा पहिलो हार हो। उसले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो।

एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार सञ्चालित यस प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।

नेपालले तेस्रो खेलमा आगामी आइतबार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ। नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करण (२०१७, २०१८, २०२३) को च्याम्पियन हो।

असार १०, २०८२ मंगलबार ११:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।