ट्रम्पले फैलाए झुट, इरानले भन्यो- इजरायलसँग युद्धविराम सम्झौता भएको छैन

एजेन्सी : इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविरामको समाचारलाई अस्वीकार गरेका छन्। इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको उनले बताए।
उनले भनेका छन्, ‘यदि इजरायलले इरानीहरूमाथि आफ्नो अवैध आक्रमण रोके इरानले बदला लिने छैन।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विहान तीन बजे इरान र इजरायलबीच युद्धविरामको दाबी गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इजरायल र इरानबीच अबको ६ घण्टामा पूर्ण युद्धविराम लागू हुनेछ।
उनले भनेका थिए, ‘इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार बिसाउनेछ र त्यसपछि इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार बिसाउनेछ।’
यसैबीच, न्यूयोर्क टाइम्सका अनुसार, इजरायली सेनाका प्रवक्ताले युद्धविराम सम्बन्धी ट्रम्पको बयानमा केही पनि बोल्न अस्वीकार गरे।
उता इजरायली सेनाले पनि जनतालाई जारी गरिएको निर्देशिकामा अहिलेसम्म कुनै परिवर्तन नगरिएको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराममा सहमति भएको दाबी गरे पनि इजरायली सेनाले जनतालाई आधिकारिक च्यानलहरूबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न र पालना गर्न आग्रह गरेको छ।
सेनाले पहिलेदेखि नै लागू भएका नियमहरू उस्तै रहने स्पष्ट पारेको छ।यसको अर्थ मानिसहरूलाई अझै पनि एकै ठाउँमा भेला हुन अनुमति छैन, विद्यालय र कार्यालयहरू बन्द रहनेछन् र सबैले सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्नुपर्नेछ।
सरकार वा सेनाले कुनै नयाँ निर्देशन नदिएसम्म जनतालाई सतर्क रहन र आफ्नो सुरक्षालाई प्राथमिकता दिन भनिएको छ।
असार १०, २०८२ मंगलबार ०८:००:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।