इरानी मिसाइल आक्रमणपछि कतारले हवाईमार्ग खोल्यो, जनजीवन सामान्य बन्दै

इरानी मिसाइल आक्रमणपछि कतारले हवाईमार्ग खोल्यो, जनजीवन सामान्य बन्दै

काठमाडौं : इरानले कतारको दोहास्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाईमार्ग पुनः सञ्चालनमा आएको छ। घटनापछि प्रभावित बनेको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरूले बताएका छन्।

सोमबार साँझ स्थानीय समयअनुसार ७:३० बजे इरानले दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा कम्तीमा ६ वटा मिसाइल प्रक्षेपण गरेको थियो। यो आक्रमण अमेरिकाले दुई दिनअघि इरानी आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप गरिएको थियो।

मिसाइल आक्रमणको सूचना पाएलगत्तै कतारले आफ्नो हवाई आकाश अस्थायी रूपमा बन्द गरेको थियो। यसबाट कतार र दोहा हुँदै अन्य देश जाने हजारौं यात्रुहरू अलपत्र परेका थिए। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यात्रुहरूले समस्या भोगेका थिए भने केही जहाजलाई डाइभर्ट गरिएको थियो।

कतार सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएअनुसार, अहिले कतारको अवस्था सामान्य बन्दै गएको छ र हवाई मार्ग मंगलबार मध्यरातबाट पुनः खोलिएको छ।

कतारको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त कार्य सञ्चालन विभागका उपप्रमुख शायेक अल–हजरीका अनुसार, इरानले प्रहार गरेका मिसाइलमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको थियो भने अरु सबैलाई निस्तेज पारिएको थियो।

कतारको गृह मन्त्रालयले मिसाइल आक्रमणबाट कुनै मानवीय क्षति नभएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता जबर अल–नुआइमीका अनुसार, मिसाइलका टुक्राले सानातिना आगलागी भए पनि त्यसलाई तुरुन्त नियन्त्रणमा लिइएको थियो।

उनले भने, ‘कतारमा शान्ति र स्थायित्व हाम्रो प्राथमिकता हो। बाह्य कारणले हाम्रो सुरक्षामा असर पार्न दिइने छैन।’

यसैबीच, कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले कतारको जनजीवन पूर्णरूपमा सामान्य अवस्थामा फर्किएको बताएका छन्। ‘हामी नागरिक र यहाँ बसोबास गर्ने सबैलाई विश्वस्त पार्न चाहन्छौं कि कतारमा स्थिति पूर्णरूपमा नियन्त्रणमा छ’, उनले कतार टेलिभिजनमार्फत भने।

इरानी आक्रमणमाथि विश्वभरबाट निन्दा भइरहेका बेला कतारले पनि यसको कडा आपत्ति जनाएको छ। कतारले उक्त आक्रमणलाई ‘सार्वभौमिकताको खुला उल्लंघन’ भनेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अल-अन्सारीले ‘कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित राख्दछ’ भन्दै चेतावनी पनि दिएका छन्।

कतारले हाल गाजाको युद्ध सुरु भएयता हमास र इजरायलबीच युद्धविराम र बन्दी आदानप्रदानका लागि मध्यस्थता गरिरहेको छ। यही बेला कतारमाथि आक्रमण हुनुलाई आश्चर्य लागेको अल-अन्सारीले बताएका छन्।

उनले भने, ‘कतारको सधैंको छिमेकी मित्रता र मध्यस्थता प्रयासलाई ध्यानमा राखिरहँदा कतारमाथिको यो आक्रमण हामीलाई आश्चर्यचकित बनाउने खालको थियो।’

इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ। यही बेला अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि तनाव अझै चर्किएको छ।

असार १०, २०८२ मंगलबार ०७:४१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।