देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

असार १०, २०८२ मंगलबार ०७:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।