प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित हुने

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित हुने

काठमाडौं : प्रतिनिधिसभाको आज बस्ने बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ।

आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

विनियोजन विधेयक सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानुनी दस्तावेज हो। यो पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यक्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्छ।

संघीय संसद् सचिवालयका अनुसार, आजको संसद बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको छ।

विनियोजन विधेयकमाथि निर्णयार्थ प्रस्तुत हुनुअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

आज श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन्।

असार १०, २०८२ मंगलबार ०७:१७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।