अध्यागमनमा गलत तरिकाबाट कर्मचारी खटाएको थाहा पाए गृहमन्त्रीले कारबाही गर्ने

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अध्यागमन प्रणाली सुधारका लागि स्पष्ट कार्यविधि र मापदण्डअनुसार कर्मचारी खटाउन निर्देशन दिएका छन्। आज गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा मन्त्री लेखकले अध्यागमन क्षेत्रमा देखिएको अव्यवस्थालाई अन्त्य गर्दै सुधारको कार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै अवाञ्छनीय गतिविधि देखिएमा त्यसबेला कार्यरत कर्मचारीहरूलाई कारबाही गरिने चेतावनी पनि मन्त्री लेखकले दिएका छन्। ‘गैरकानुनी तरिकाले मान्छे गएको प्रमाणित भएमा त्यसबेला खटिएका कर्मचारीलाई जिम्मेवार बनाइनेछ,’ मन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता तिवारीले भने, ‘शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्न निर्देशन दिनुभएको छ।’
बैठकमा मन्त्री लेखकले अध्यागमन सुधारसम्बन्धी अघिल्ला प्रतिवेदनहरूमा उल्लेख गरिएका सुझावहरूलाई कार्यान्वयनमा ल्याउन पनि जोड दिएका थिए। उनले कर्मचारीको आचरणमा सुधार ल्याउनुपर्ने भन्दै अध्यागमनसम्बन्धी कागजात, तथ्याङ्क लगायत सम्पूर्ण रेकर्ड राख्न डिजिटल प्रणालीलाई स्तरोन्नति गर्न निर्देशन दिएका छन्।
‘अध्यागमनको छवि र संरचनागत सुधारमा ध्यान दिनुपर्ने आवश्यकताबारे मन्त्री ज्यूले प्रष्ट पार्नुभयो,’ प्रवक्ता तिवारीले थपे।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाका प्रमुखलगायत उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो। अध्यागमन कार्यालयको भिजिट भिसासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको जनाइएको छ।
असार ९, २०८२ सोमबार २०:२५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।