कुख्यात गुन्डाहरुको अर्बौँ सम्पत्ति अदालतबाट शुद्धीकरण

कुख्यात गुन्डाहरुको अर्बौँ सम्पत्ति अदालतबाट शुद्धीकरण

काठमाडौं : आपराधिक गतिविधिबाट सम्पत्ति जोडेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कहलिएका पाँच गुन्डा नाइकेहरूको सम्पत्ति छानबिन गरेर अदालतसम्म पूर्याए पनि अधिकांशले विशेष अदालतबाटै सफाइ पाए। दीपक मनाङे, गणेश लामा, चक्रे मिलन, बलराम सापकोटा 'बले' पर्शुराम बस्नेत र अभिषेक गिरीको सम्पत्तिको स्रोतको अनुसन्धान गरेको थियो। बले विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेको थियो।

प्रहरी अनुसन्धानमा सबैको करोडौँको सम्पत्ति देखिएको तर स्रोत नखुलेको भन्दै २०७० जेठ २७ मा करोड रुपैयाँ गैर कानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो। त्यस अनुसार विशेष अदालतमा मुद्दा समेत दायर भयो। तर अधिकांशले तल्लो अदालतबाटै सफाइ पाए। गणेश लामा विशेष अदालतबाट दोषी ठहर भएकोमा सोमबार सर्वोच्च अदालतले उनलाई पनि सफाइ दियो। अब अन्य आपराधिक नाइकेको सम्पत्ति वैध भए जस्तै अदालतबाट लामाको सम्पत्ति पनि वैध भएको छ।

सोमबार सर्वोच्चले लामालाई दोषी ठहर गर्दै एक करोड ४० लाख बिगो र एक वर्ष कैद सजाय तोक्ने विशेष अदालतको फैसला उल्ट्याउँदै सफाइ दियो।

प्रहरी अनुसन्धान अनुसार अदालतमा सरकारी वकिलको कार्यालय मार्फत दायर भएको मुद्दामा दीपक मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति अवैध आर्जन गरेको दाबी गरिएको थियो। तर उनलाई विशेष अदालतले आरोप पुष्टिको आधार नभएको भन्दै २०७४ भदौ ५ मै सफाइ दियो।

अभियोग पत्रमा मिलन गुरुङ (चक्रे मिलन) को ८ करोड रुपैयाँ अवैध सम्पत्ति रहेको दाबी गरियो। तर उनलाई पनि विशेष अदालतले २०७४ माघ १० मा सफाइ दियो। ११ करोड अवैध सम्पत्ति देखिएका पर्शुराम बस्नेत र उनकी श्रीमती अन्जुसिंह बस्नेतलाई पनि विशेषले २०७५ चैत २५ मा सफाइ दियो।

बाँकी रहे अभिषेक गिरी। उनीमाथि २ करोड ९४ लाख रुपैयाँको अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। तर  २०७५ असार ५ मा उनले पनि विशेषबाटै सफाइ पाए। 

तर गणेश लामा भने दोषी ठहर भए विशेषबाट। प्रहरी अनुसन्धानमा उनको २७ करोडको स्रोत नखुलेको देखिएको थियो। त्यही अनुसार मुद्दा दायर पनि भयो। विशेष अदालतले उनको एक करोड ४० लाख रुपैयाँको स्रोत नखुलेको भन्दै दोषी ठहर  गर्यो।  २०७५ साउन २४ मा आएको फैसलामा एक वर्ष कैद र एक करोड ४० लाखको सम्पत्ति जफत गर्ने फैसला गर्यो। तर उनले पनि सर्वोच्चबाट सफाइ पाए।

बले विरुद्ध भने सम्पत्ति शुद्धीकरण विभागले २०७७ मा २० करोड बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो। यसमा बलेसँगै  उनकी श्रीमती सिर्जना कक्षपति पनि प्रतिवादी बनेकी थिइन्। २०८० मा आएर विशेषबाटै उनले पनि सफाइ पाए।

सबैको पृष्ठभूमि गुण्डागर्दी र रकम असुली

ब्युरो अनि सम्पत्ति शुद्धीकरण विभागले आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको भनेर मनाङेदेखि बलराम सापकोटा बलेसम्म जे जतिमाथि मुद्दा लग्यो यी सबैको पृष्ठभूमि गुण्डागर्दी र रकम असुली नै देखिन्छ। कसैको धन्दा रात्रिकालीन व्यवसाय देखिन्थ्यो भने कसैको बालुवा ठेक्का। दीपक मनाङेको अपराधको आधार काठमाडौँको ठमेल र रात्रिकालीन व्यवसाय। उनी सँगै क्रसरमा पनि संलग्न भए।

चक्रे मिलनले आधार क्षेत्र चक्रपथ बनाएर बालुवा खानी र निर्माण व्यवसायबाट रकम असुल्न सक्रिय भएका थिए। अभिषेक गिरी रकम असुलीदेखि अपहरण र हत्यासम्मका अपराधमा जोडिए। पर्शुराम बस्नेतको आधार क्षेत्र विराटनगर बनाएर अपराधमा संलग्न भए। गणेश लामा मनाङेसँग मिलेर पहिला रात्रिकालीन व्यवसायमा छिरे अनि क्रसर र बालुवा खानीतिर लागे। बलराम सापकोटा बलेको धन्दा भने अवैध रूपमा क्यासिनो छिरेका नेपालीलाई चर्को ब्याजदरमा रकम लगानी गर्ने र घरबारै उठिबास लगाउने।

कुनै समय काठमाडौँ र काठमाडौँ बाहिर समेत संगठित गुन्डागर्दी गरेर प्रहरी प्रशासनलाई हायलकायल बनाएका उनीहरू विरुद्ध प्रहरी कठोर बन्दै इन्काउन्टरको रणनीतिमा लाग्दा उनीहरू बिस्तारै अपराध कर्मबाट कमाएको सम्पत्ति व्यवस्थापन गर्न कोही व्यवसायी देखिन थाले त कोही राजनीतिमा लागे।

दिनेश अधिकारी चरी र कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिए। प्रहरीले एकै पटक पाँच जनाको सम्पत्तिमाथि छानबिन सुरु गर्यो। बिस्तारै संगठित गुन्डागर्दी कम हुँदै गयो। अन्तमा उनीहरू विरुद्ध अदालतसम्म मुद्दा त गयो। तर सबै सम्पत्ति अदालतबाटै वैध भयो।

कोही मन्त्री, कोही व्यवसायी

यो बिचमा इन्काउन्टरबाट जोगिएका र नेपाल भाग्न नपरेकाहरू कोही राजनीतिमा छिरेर प्रदेश सांसदसम्म भए भने कोही 'प्रतिष्ठित' व्यवसायी। दीपक मनाङे दुई पटक प्रदेश सांसद हुँदै पटक-पटक मन्त्री समेत भए। अहिले उनी हत्या प्रयासको अभियोगमा बाँकी कैद मिनाहा गर्न डिल्लीबजार कारागारमा छन्। उनको सांसद पद गुमिसकेको छ।

अभिषेक गिरी अपहरण र हत्या अभियोगमा जेलमा छन्। अन्य बाहिरै बसेर सक्रिय छन्। गणेश लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। चक्रे मिलन एमालेको राजनीतिमा सक्रिय हुने प्रयासमा छन्। पर्शुराम बस्नेत एमालेको नेता भइसके। उता बलराम सापकोटा मेची क्राउन प्लाजाका लगानीकर्ता भइसकेका छन्।

असार ९, २०८२ सोमबार १९:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।