सुर्खेत प्रदेश अस्पतालमा भ्रष्टाचार : लेखा अधिकृत, कम्प्युटर अपरेटर र बैंक कर्मचारी मिलेर २५ लाख हिनामिना

काठमाडौं : अख्तियार दुरुपयोग आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदीसहित तीन जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर करार पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई विमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आएको उल्लेख छ। शाहीले अनाधिकृत रुपमा विलिङ्ग काउन्टरमा प्रवेश गरेर विलिङ्ग गरेको र विलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरेर अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रममा प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरसमेतले अनियमितता गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।
उनीहरुले प्रदेश अस्पताल सुर्खेत तथा सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना र हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा २०८० साउन एक १ देखि मिति २०८१ साउन ३२ सम्मको अवधिमा संकलन भएको रकमको अनियमितता गरेको आरोप छ। त्यो एक वर्षको राजस्व रकम चौँतीस लाख तीन हजार आठ सय ५६ रुपैयाँ पचास पैसामध्ये आठ लाख ३६ हजार तीन सय ३० रुपैयाँ रकम अस्पतालको खातामा दाखिला गरी गराएर बाँकी पच्चीस लाख ६७ हजार पाँच सय २६ रुपैयाँ पचास पैसा रकम हिनामिना गरेको गरे गराएको देखिएको अख्तियारले जनाएको छ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा कसुरजन्य कार्यमा संलग्न प्रतिवादीहरूमाथि सजाय हुनुपर्ने मागदाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारले विशेषमा आरोप पत्र दायर गर्दै अस्पतालका लेखा अधिकृत शंकर सुवेदीलाई कैद र उनीबाट २५ लाख ६७ हजार पाँच सय २६ रुपैयाँ ५० पैसा विगो अशुल उपर गर्नुपर्ने माग दाबी गरेको छ। तृप्ती शाही ठकुरी भन्ने तृप्त शाहीलाई कैद र उनीबाट २५ लाख ६७ हजार पाँच सय २६ रुपैयाँ ५० पैसा विगो अशुल उपर गर्नुपर्ने माग दाबी गरेको छ। शाहीलाई मुख्य कसूरदार सरह सजाय हुनुपर्ने माग दाबी गरिएको छ।
त्यसैगरी प्रदेश अस्पताल, सुर्खेतस्थित रहेको कुमारी बैंकको एकस्टेन्शन काउन्टरका तत्कालिन इन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगरलाई पनि कैद र २४ लाख दुई हजार ९० रुपैयाँ विगो अशुल उपर गर्नुपर्ने अनि मुख्य कसूरदार सरह नै सजाय हुनुपर्ने माग दाबी गरिएको छ।
असार ९, २०८२ सोमबार १८:५५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।