युवा संघलाई ओलीको सुझाव- गुण्डा नबन, कसैले पिट्न आए ‘ओम शान्ति’ भनेर चाँहि नबस

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रममा परे परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले युवाहरू सही विचार र नेतृत्वको पक्षमा उभिनु आवश्यक रहेको बताए।
‘युवाहरू व्यक्तिको होइन, विचारको पछि लाग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संघको काँधमा अहिले असाधारण जिम्मेवारी छ। यो नेतृत्वले स्थानीय तहको आगामी निर्वाचनसम्म संगठनलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा सुदृढ र जुझारु बनाउने योजना ल्याओस्।’
प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा युवाहरूले समाजमा फैलाइएका भ्रमको खण्डन गर्नुपर्ने आवश्यकता औंल्याउँदै एमालेका नीति–दिशालाई व्यवहारमा उतार्न नेतृत्व तयार हुनुपर्ने बताए। ‘सही नेतृत्व पाएपछि मात्र आन्दोलन, परिवर्तन र पार्टीको सुदृढीकरण सम्भव हुन्छ,’ उनले भने।
उनले वर्तमान युगको नवीन सोच र प्रविधिमा युवाहरूको नेतृत्व महत्त्वपूर्ण हुने भन्दै इनोभेटिभ र उद्यमशीलतामा अगाडि बढ्न आग्रह गरे। ‘युवाहरू सही बाटोमा हिँडे देश पनि सही बाटोमा जान्छ,’ उनले भने, ‘उनीहरूलाई शिथिल तुल्याउने, भ्रममा पार्ने प्रवृत्तिले परिवर्तनलाई ढिलो बनाउँछ।’
ओलीले नेतृत्वमा पुनरावृत्ति कहिलेकाहीँ आवश्यक पनि हुने भन्दै पार्टीमा अतीतमा नेतृत्वको कमजोरीले आन्दोलन नै डगमगाएको स्मरण गरे। ‘जबज पारित भएपछि पनि तुरुन्त सही नेतृत्व नपाएकोले ढिलाइ भयो,‘ उनले स्पष्ट पारे, “तर पछि सही नेतृत्व आएपछि पार्टी सुदृढ रुपमा अघि बढ्न सक्यो।’
उनले ‘अर्थविनाको युवा’ भनेर जथाभावी युवालाई अगाडि सार्ने चलनप्रति पनि आलोचना गरे। ‘कुन तहमा, कस्तो दक्षता, सीप र अनुभवका साथ युवा लाग्छ भन्ने कुराले मात्रै परिणाम दिन्छ,’ उनले भने।
अध्यक्ष ओलीले युवाहरू घमण्डी नभई शालीन र विनम्र हुनुपर्ने बताए। ‘हाम्रा युवाहरू गुण्डा होइन, बलवान हुनेछन्, गालामा पिट्न आए ‘ओम शान्ति’ भनेर मात्रै नबस, अन्याय सहेर नबस र अन्याय नगर भन्ने शिक्षा संगठनले दिनुपर्छ,’ उनले भने।
ओलीले युवा संघलाई जनताको स्वाभिमानको मजबुत किल्ला भन्दै त्यसलाई कसैले भत्काउन नसक्ने जिकिर गरे।
असार ९, २०८२ सोमबार १७:५६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।