अविकल्प अभिनेत्री भुवन : संगीतका उस्तादको घरमा जन्मिएर अभिनयको इतिहास बनाएकी कलाकार

काठमाडौंको धोबीचौर। साँझ पर्नासाथ उस्ताद भैरवबहादुर थापाको घरभित्र महफिल जमिहाल्थ्यो। थापा रेडियो नेपालका पहिलो गायक अनि संगीत निर्देशक। तारादेवी, प्रेमध्वज प्रधान, नातिकाजी लगायतका गायक अनि संगीतकारहरू भेला हुने, गीत गाउने, संगीतको बहस गर्ने रिवाज नै थियो।
यो दैनन्दिनको माहोल बुवाको काखमा लुटपुटिँदै हेरिरहेकी हुन्थिन् बालख भुवन। घरको यही माहोलले संगीतको झंकार उनको आत्मामा बस्न थालिसकेको थियो। त्यसैको प्रभाव होला, उनले गायन यात्रा अगाडि बढाउने प्रयास पनि गरिन्।
भुवनले रेडियो नेपालमा केही गीतहरू रेकर्ड गराइन्। तर, गायिकाको रूपमा उनको परिचय स्थापित भएन।
०००
२०१० साल। बालकृष्ण सम नाटक ‘अन्धवेग’ मञ्चनको तयारीमा थिए। त्यो बेला नाटकमा महिलाको वेशभूषा लगाएर अभिनय चाहिँ पुरुषले नै गर्थे। अर्थात् महिलाका हकमा समाज खुला भइसकेको थिएन।
त्यति बेला भर्खर कलकत्ता (कोलकाता) बाट आएकी थिइन्, शान्ति मास्के। भारत कलाको हकमा त्यतिबेलै नेपालभन्दा उदार समाज भएकाले पनि त्यसको प्रभाव उनमा पर्ने नै भयो। परिणामतः ‘अन्धवेग’ मा समले कुनै पुरुष पात्रलाई धोती र चोलो लगाइदिएर काम चलाउनु परेन। अभिनेत्रीका रूपमा मास्के नै पाए।
नाटकमा अभिनेत्रीको छोरीको चरित्र पनि थियो। तर बाल कलाकार कहाँ पाउनु! त्यो पनि छोरीको भूमिकामा। उनी समस्यामा थिए।
त्यही समस्याको गाँठो फुक्ने आशमा उनले मित्र भैरवहादुरको सहयोग मागेछन्। ‘लौ न भैरव नाटकमा बच्चाको भूमिका गर्ने कोही छ भने सहयोग गर्नुपर्यो’, समले थापासमक्ष आग्रह गरेछन्।
समको कुरा भुइँमा खस्न नपाउँदै थापाले भनिहाले छन्, ‘ए मेरो छोरी छे, ल्याउँछु नि।’
यति भनेर घरतिर लागेका थापाले आफ्नी चार वर्षकी छोरी भुवनलाई साइकल चढाएर समकहाँ पुऱ्याए।
“त्यो समयमा छोरीले नाटकमा अभिनय गर्नु भनेको कल्पना बाहिरको कुरा थियो। त्यस्तो बेला पनि बुबाले मलाई नाटकमा अभिनय गराउनुभयो”, भुनवनले बुबा सम्झिइन्, “मेरो बुबा पनि कलाकार भएकाले होला मलाई नाटकमा प्रवेश गराउनुभयो।”
त्यति बेला अहिलेको जस्तो अभिनय सिक्ने ठाउँ थिएन। सार्वजनिक ठाउँका डबली नै मञ्च थिए। त्यसैमा नाटक हुन्थे, नाचगान अनि गानाबजाना पनि त्यही डबलीमै। अभिनय, गायन अनि वाद्यवादन सबै एकै ठाउँमा।
चार वर्षमै अभिनय गरेपछि भुवनको चर्चा हुने नै भयो। बाल कलाकारका रूपमा उनी परिचित भइन्। नाटकमा अभिनय गर्ने अवसरहरू खुल्दै गए। परिवारको साथ थियो नै। उनी पनि रमाउन थालिन्।
“समको नाटकमा अभिनय गरेपछि अन्त पनि बोलाउन थाले। सिंहदरबारभित्रको ‘पुतली बगैंचा’मा पनि नाटकमा अभिनय गरें”, उनले आफ्नो अभिनय यात्राको सुरुआती कदम खुलाउँदै गइन्, “डबलीहरूमा नाटकमा अभिनय गर्न थालें। नाच्थें पनि। कसैले खुशी भएर मिठाइ दिए पनि नाचिदिन्थें।”
समको आग्रह अनि बुबाको तत्परताले भुवनको गायनमाथि अभिनय हाबी भइरह्यो। त्यही दिनको संयोगले रेडियो नेपालको पहिलो गायककी छोरी नेपालको पहिलो नायिका हुने नियति पनि कोरियो।
०००
काठमाडौंको ठूलो घरानाकी छोरी। सामाजिक चेतले भरिएको परिवार। जब भुवन हुर्किएर स्कुल जाने उमेरमा पुगिन् उनलाई भर्ना गरियो ‘डेमोस्ट्रेसन स्कुल’ मा।
“लाजिम्पाटमा अहिले जुन भवनमा ऱ्याडिसन होटेल छ नि, त्यहीँ हो मैले पढेको स्कुल”, बाल्यकाल सम्झँदै भुवनले उकेरासँग भनिन्, “त्यहाँ पहिला घर थियो। त्यसको माथिल्लो तलामा आईएड, बीएड पढाइ हुन्थ्यो। त्यसको तल चाहिँ बच्चाहरू पढ्ने स्कुल थियो। ‘डेमोस्ट्रेसन स्कुल नै अहिलेको लेबोरेटरी स्कुल हो।”
भुवनलाई अझै सम्झना छ, त्यही भवनको माथिल्लो तलामा बच्चु कैलाशहरू पढ्थे। तल्लो तलामा साना भुवनहरू।
२००६ सालको जन्म उनको। अहिले ७६ टेकिहाल्यो उमेर। सम्झनाहरू पातलिँदै जानु सामान्य नै हो यो उमेरमा। तै पनि त्यो बेलाका केही शिक्षक-शिक्षिकाको नाम अझै याद छ उनलाई। तर आधा। शिक्षक अनि शिक्षिकाको नाममा ‘हरू’ जोड्दै गइन् उनी “हिमचन्द्र सरहरू, चन्द्रकला मिसहरू।”
यो बीचमा उनले सँगै स्कुल पढेका साथीहरू भेटेकी रहिछिन्। उनका संगीहरूमध्ये कोही चिकित्सक भए, कोही इन्जिनियर। उनले आईएसम्म मात्र पढिन्। अनि अभिनयतिर लागिन्।
‘डेमोस्ट्रेसन स्कुल’ मा भुवनसँगै पढेका साथीहरू अहिले बुढा भइसके। “उनीहरूको पनि कपाल फुलेको, मेरो पनि फुलेको। देख्दा रमाइलो हुने रहेछ”, साथीहरूको भेटको प्रशंग सम्झँदा नै उनी रोमाञ्चित भइन्, “मैले आरआर क्याम्पसबाट आएससम्म पढें। त्यहाँभन्दा माथि पढ्न सकिनँ। नाटक, अभिनयतिर लागेपछि पढ्न अलि गाह्रै हुने रहेछ।”
कला यात्रा। अहिलेको जस्तो पहिल्यै पारिश्रमिक कहाँ तोकिन्थ्यो र। अधिकांश रहरै बराबर हुने। त्यसमाथि उनी सरकारी जागिरे। त्यो बेलामा बन्ने फिल्ममा सरकारकै लगानी हुन्थ्यो। सरकारी कर्मचारी भएर सरकारले बनाएको फिल्ममा थप पारिश्रमिक पाउने कुरै भएन। त्यसैले अभिनयको अधिकांश पारिश्रमिक उही सरकारी तलब नै हुन्थ्यो।
त्यसैले तत्कालीन सहपाठीहरूमध्ये आफ्नो आर्थिक अवस्था अलि कमजोरै भएको अनुभव रहेछ उनको। तर उनका श्रीमान् माइकल चन्द नेपालका चर्चित अंग्रेजी समाचार वाचक। रेडियो नेपालको जागिरसँगै श्रीमान्लाई अन्य अवसर पनि आउने भएकाले आर्थिक रूपमै दुःख नै भने भएन भुवनलाई।
“साथीहरूसँग अहिले भेट हुँदा हामीसँग गाडी, घर त छ तर हामीलाई कसैले चिन्दैनन्। तँलाई त सबैले चिन्छन् भनेर मेरो प्रशंसा गर्छन्”, मक्ख पर्दै उनले भनिन्, “उनीहरूले यसो भन्दा खुशी लाग्छ।”
०००
नेपाल कला केन्द्र, नासा खलः र जन नाट्य परिषद्। देशमा कलाको माहोल बढ्दै गएपछि कला सिकाउने ठाउँ चाहिन्छ भन्ने आवश्यकता महसुस गरेर तत्कालीन सरकारले तीन हजार रुपैयाँ सरकारी बजेटमा यी तीन संस्था स्थापना गर्न निर्देशन दिएको थियो।
निजीस्तरमा गोपालप्रसाद रिमाल र विष्णुप्रसाद पाण्डेले नेपाल कला केन्द्र खोले। कला केन्द्रले त्यही बेला अभिनय सिक्न इच्छा हुनेहरूसँग निवेदन मागेको थियो। भुवन यही संस्थामा आबद्ध भइन्। त्यसैमा जोडिए वसुन्धरा भुसाल लगायत अन्य कलाकार पनि।
उता नासा खलःमा थिए चैत्यदेवी सिंह, योगदेवी लगायत। यो संस्था नेपाल भाषामा नाटक मञ्चन गर्न सक्रिय थियो। जन नाट्य परिषद्बारे त्यति जानकारी रहेनछ भुवनसँग।
यता संस्थाहरू त बने। तर आर्थिक स्रोत थिएन। कलाकारहरू नाटक गर्दै चन्दा उठाउँथे। पूर्वपश्चिम राजमार्गमा चन्दा उठाउन गएको अझै याद छ भुवनलाई।
अनि अर्को चाहिँ त्यति बेला राजा जहाँ-जहाँ जान्थे कलाकारको टोली पनि सँगै जानुपर्थ्यो। विसं २०१३–१४ बाट कला केन्द्रमा आबद्ध भएदेखि नै उनी पनि टोलीमा मिसिएर जहाँ लैजान्थे जान थालिन्। कहिलेकाहीँ दरबारभित्र पनि नाटक मञ्चन हुन्थ्यो। भुवन छुट्ने कुरै भएन।
“न्युरोडमा र पुष्पाञ्जली कपडा पसल थियो। हामी ती दाइलाई पुष्पाञ्जली दाइ भनेर बोलाउँथ्यौं। उहाँले फोहोरा दरबारमा एउटा नाटक गर्नुभएको थियो”, फ्ल्यासब्याकमा गइन् उनी, “दरबारमा हल थियो। ती दाइको आग्रहमा दरबारमा गएर ‘जाली रुमाल’ नामक नाटकमा अभिनय गरें। त्यति बेला नेपाली कथामा कमै नाटक गरिन्थ्यो। त्यो हिन्दीमा थियो।”
गोपालप्रसाद रिमाल र विष्णुप्रसाद पाण्डेले अभिनय अनि नाच्न पनि सिकाउँथे। उनी खुशी हुँदै सिक्थिन्। त्यही बेलामा उनले ‘दुलही मैयाँ’ नामक नाटकमा अभिनय गरिन्।
१४-१५ वर्षकी भएपछि त अधिकांश नाटकमा अभिनेत्रीको भूमिकामा अभिनय गर्न प्रायःले उनैलाई खोज्थे। त्यसमा पनि महिला कलाकार पाउनै हम्मेहम्मे पर्ने बेला। भुवन त सुन्दर पनि। एउटा समय भुवन निर्विकल्प अभिनेत्री जस्तै भएकी थिइन्। उनले भनिन्, “त्यति बेलाका प्रायः नाटकमा लिड रोलमा मलाई नै अफर आउँथ्यो। म पनि खुशी भएर गर्थें।”
०००
दरबारका सदस्य कलाका शौखिन। नारायणहिटीमा प्रायः नाटक भइरहन्थ्यो। कसैको जन्मदिन पर्यो भने पनि नाटक देखाउनुपर्ने। त्यो बेला चल्तीका कलाकारमा भुवनसँगै चैत्यदेवी अनि विमला श्रेष्ठ लगायत पर्थे।विमला त कुशल नृत्याङ्गनाका रूपमा परिचित भइसकेकी थिइन्।
दरबारमा राजाले नै उद्घोषण गर्ने। राजा महेन्द्रले कलाकारहरूको नाम लिँदै स्टेजमा बोलाउँथे। महेन्द्रले ‘अब एकल नृत्य लिएर आउँदै हुनुहुन्छ भुवन थापा’ भनेपछि उनी मक्ख पर्दै मञ्चमा उक्लिन्थिन्।
महेन्द्रका छोरी शान्ति शाह अनि शोभा शाहको काम चाहिँ दरबारमा नै कल चलाएर कलाकारका लागि लुगा सिलाउँने हुन्थ्यो। उनीहरूले नै कलाकारको जिउको नाप लिन्थे अनि लुगा सिलाएर दिन्थे।
बालकृष्ण समले नाटक लेखेका थिए, ‘मुकुन्द इन्दिरा’। त्यसमा भुवन अभिनेत्रीका रूपमा छानिएकी थिइन्। उनी अभिनयका लागि अन्य कलाकारसँगै दरबारमा गइन्। त्यहाँ उनले राजाका छोरीहरूले कुर्था-सुरुवाल लगाएको देखिन्। उनी त छक्क परिन्।
“राष्ट्रिय नाचघरमा राजासँगै छोराछोरी आउँदा झकिझकाउ भएर मोटरमा शानका साथमा आएको देखेका थियौं। तर दरबारमा जाँदा त त्यस्तो केही पनि देखेनौं”, उनले भनिन्, “२०१७ सालतिरकै कुरा हो। नेपालका लागि रसियाबाट कपडा आएको थियो। त्यो कपडा राम्रो लागेर मैले ढोकाको पर्दा बनाएको थिए। दरबारमा नाटक गर्न जाँदा राजाका छोरीहरूले त्यही कपडा सिलाएर लगाएको देखें। अनि राजा-महाराजाहरू पनि सामान्य नै हुने रैछन् भन्ने लाग्यो।”
त्यो समयमा नाटक निर्देशक थोरै। कलाकार पनि थोरै। मुख्य भूमिकामा भुवनको विकल्प नै थिएन। जता पनि उनकै माग। २०१७ सालमा श्यामदास वैष्णवको नाटकमा पनि उनैले अभिनय गरिन्।
०००
अहिले जहाँ राष्ट्रिय नाचघर छ त्यहाँ पहिला प्रचार विभाग मातहत एक भवन थियो। प्रायः नाटक, नृत्य लगायतका कला सम्बन्धी गतिविधि हुन्थ्यो। त्यहाँ थिए गुरु भैरव थापा, राधा श्रेष्ठ, शोभा किवती, कोकिल गुरुङ र गंगा राना।
त्यता हिँड्दा भुवनलाई लाग्थ्यो ‘त्यहाँभित्र कहिले नाटक गर्न पाइएला है !’
एकदिन त्यहाँ अचानक आगो लाग्यो। विभागमा आगो लाग्यो भन्ने सुनेपछि भुवन पनि दगुरेर हेर्न पुगिन्। दनदन आगो सल्किरहेको थियो। जहाँ नाटक गरौंला भन्ने सोचेकी थिइन् त्यो भवनै जलेपछि उनी खिन्न भइन्।
भवन जले पनि रानी रत्नराज्यलक्ष्मी शाहको सहयोगमा भवनको पुनःनिर्माण भयो। नाचघर फेरि ठडियो। भुवनको सपना पनि ठडियो।
“भवन पुनःनिर्माण भएपछि राजा महेन्द्र नाटक हेर्न आउने भए। अनि कलाकारको खोजी सुरु भएछ। कताकताबाट मेरो नाम पुगेछ”, भुवनले भनिन्, “मलाई बोलाएपछि फुरुङ्ग हुँदै गएँ नि।”
नाटक थियो श्यामदास वैष्णवको ‘प्रकृतिको प्रेरणा’। राजालाई यही नाटक देखाउने तयारी भयो। गीतिनाटक जस्तै थियो त्यो। हिरोइन भुवन भइहालिन्। तर हिरो भेटिएको थिएन।
त्यो बेला भर्खर लन्डनबाट नेपाल आएका थिए यादव खरेल। उनकहाँ प्रस्ताव पुग्यो। मानिहाले। राष्ट्रिय नाचघरमा भुवनको पहिलो हिरो भए यादव खरेल।
अभिनयको मौका मात्र होइन उनले त्यहाँ कला विधामै काम गर्न सरकारी जागिर पनि पाइन्। परिवारमा खटपट भएपछि बुबासँग छुट्टिएर आमासँग बस्न थालेकी भुवनलाई नाचघरका सचिव रमेशजंग थापाले गरेको जागिरको प्रस्ताव उनले तत्कालै स्वीकारेकी थिइन्।
कलाकारकै रूपमा करारमा उनको सरकारी जागिर सुरु भयो। पारिश्रमिक थियो, महिनाको एक सय ५० रुपैयाँ।
०००
१९५८ सालमा सर्वसाधारणका लागि सिनेमा हेर्न अनुमति दिएको थियो सरकारले। त्यो बेला प्रधानमन्त्री देवशमशेरले काठमाडौंवासीलाई टुँडिखेलमा छोटाछोटा फिल्म देखाउन उर्दी दिएका थिए।
२००६ सालमा ‘सत्य हरिश्चन्द्र’ नाममा नेपाली फिल्म बनिसकेको थियो। तर नेपाली कलाकारका लागि फिल्ममा अभिनय गर्नु कल्पना बाहिरको विषय थियो।
२०२० तिर एकाएक प्रचार विभागले नेपाली भाषामा फिल्म बनाउँदै छ रे भन्ने गाइँगुइँ चल्न थाल्यो। नाचघरको नाटकमै रमाइरहेकी भुवनलाई फिल्म बन्छ भन्ने नै लागेन।
त्यो बेलामा प्रचार विभाग (अहिलेको सूचना विभाग) पुरातत्त्व विभाग अन्तर्गत थियो। त्यहाँ थिए दुर्गाप्रसाद श्रेष्ठ। बनारसमा हिन्दी साहित्यमा एमए गरेका उनी विभागमा आबद्ध भएर साहित्य लेखिरहेका थिए।
उनी फिल्मसँग जोडिएका थिएनन्। तर विभागमा नेपाली भाषामा फिल्म बनाउन त्यहाँ छलफल सुरु भइसकेको थियो। त्यसको कारण थियो राजा महेन्द्रको इच्छा।
अमेरिका भ्रमणबाट फर्कनेक्रममा महेन्द्रले केही रात मुम्बईमा बिताउँदा त्यहीं नेपालीमूलका भारतीय नागरिक हीरासिंह खत्रीसँग भेट भयो। खत्री मुम्बईमा बसेर फिल्म क्षेत्रमा काम गरिरहेका थिए।
भेटमा महेन्द्रले नेपालमा फिल्म बनाउन उनलाई निम्ता दिएका रहेछन्। उनले ‘हुन्छ’ भनेपछि त्यसको चाँजोपाँजो मिलाउने जिम्मेवारी विभागमा आइपुगेको रहेछ। लगानी सरकारकै।
लाजिम्पाटको इम्पेरियल होटलमा बसेर खत्री कस्तो फिल्म बनाउने भनेर छलफल गरिरहेका थिए। कथा र पटकथाको जिम्मेवारी पाएका थिए दुर्गाप्रसाद श्रेष्ठले। उनले दरबारको इच्छा अनुसार पञ्चायतको पक्षमा कथा बनाए। त्यसलाई फिल्मी शैलीमा ढाले खत्रीले।
अरू जनशक्ति खत्रीले मुम्बईबाट बोलाए। संगीतकार छानिए भी बलसारा अनि क्यमेरापर्सन देउजीभाइ। गायक-गायिका रेडियो नेपालतिर खोज्न थालियो। कलाकार नाचघर लगायतका स्थानमा खोज्न थालियो।
गायकमा शिवशंकर मानन्धर, तारादेवी लगायत छानिए। शिवशंकरले गीत त गाए नै, फिल्मको नायक पनि उनै भए। उत्तम कर्माचार्य भिलेन छानिए। चर्चित चित्रकार उत्तम नेपाली उनै कर्माचार्य हुन्।
कलाकार छान्ने काम चलिरहेकै थियो। नाचघरका हाकिमले फिल्म खेल्न इच्छुक कलाकार खोज्न थाले। भुवन अगाडि सरिहालिन्। चैत्यदेवी सिंह र विमला गुरुङ पनि फिल्म खेल्न आए। अडिसन खत्रीले नै लिए।
“नाचघरको कार्यालयमा को को अभिनय गर्नेहरू छन् भनेर फोन आएको रहेछ। मैले, चैत्य र विमलाले खेल्छौं भन्यौं”, भुवन भन्छिन्, “अरूले फिल्म खेल्न इच्छा गरेनन्। अनि निर्देशक हीरासिंह खत्रीले बोलाएर अडिसन लिनुभयो।”
सबै कलाकारको स्क्रिन टेस्ट निर्देशक खत्रीले नै लिएका थिए। को कुन भूमिकामा फिट हुन्छन् कलाकारलाई केही थाहा थिएन। भुवन फिल्म खेल्न पाइने भइयो भनेर मक्ख थिइन् तर कुन रोल पाउने हो पक्का थिएन।
पछि मुख्य भूमिकामै छानिएको थाहा पाइन्। चैत्यदेवी आमाको भूमिकामा छानिइन्। विमला सहयोगी भूमिकामा। फिल्ममा छानिएको सूचनासम्म पाए। तर सुटिङमा बोलाएनन्। भुवन आफ्नो नियमित काममै व्यस्त भइन्।
पञ्चायती व्यवस्थाको प्रचार गर्न फिल्म बन्दै थियो। पहिला शीर्ष गीत त चाहियो। लक्ष्मण लोहनीले ‘पञ्चे हो यो देश बनाइदेऊ’ गीत लेखे। महेन्द्रबाट पास भइहाल्यो। भारतको कोलकाता गएर गीत रेकर्ड भयो।
फिल्मको सुटिङ रक्सौलबाट सुरु भयो। भारतमा रहेका नायक शिवशंकर रेल चढेर नेपाल आएको सिन खिच्नुपर्ने थियो। रक्सौलमा गएर वीरगन्ज-अमलेखगन्ज चल्ने रेल चढेको सुटिङ भयो।
त्यसपछि बल्ल भुवन लगायत कलाकारले खबर पाए। त्यो बेला अडिसन दिएको एक वर्षजति भइसकेको थियो।
“हामीलाई फिल्म भनेको के हो थाहा थिएन। हामी त नाटक गर्ने मान्छे, क्यामेरा नै देखेका थिएनौं”, भुवनले भनिन्, “अडिसन दिएको एक वर्षपछि ‘तपाईंहरूलाई फिल्मका लागि बोलाइएको छ’ भन्ने सन्देश आयो। सबैलाई चोभार लगियो।”
उनको पहिलो दिनको सुटिङ गीतबाट सुरु भयो। पहिलो दिनको सुटिङ अझै बिर्सिएकी छैनन् उनले। नाटक गरिरहेका कलाकार, क्यामरा कता हुन्छ अनि कसरी अभिनय गर्ने केही अनुभव छैन। सबै वाल्ल पर्ने नै भए।
गीतको सुटिङ। कोरियोग्राफर पनि थिएनन्। गीत बज्थ्यो अनि निर्देशक खत्री आफैं नाच्दै सिकाउँथे। भुवन सहितको कलाकारले त्यसै गरे। पहिलो टेकमै ओके भयो। सुटिङका सबैले ताली बजाए।
“चोभारमा सुटिङ गर्दा ठूलो ढुंगा थियो, अहिले छ कि छैन थाहा भएन। त्यही ढुंगामा अभिनय गराउनु भएको थियो। ३५ एमएमको क्यामेराले खिचिन्थ्यो त्यो बेला। लाइटका सबै कुराहरू एउटै हुन् त्यो बेला र अहिले। क्यामेरा मात्रै परिवर्तन भए”, उनले भनिन्, “पहिलो पटक क्यामेरामा अभिनय गर्दा एकै पटक ओके भएर ताली बज्दा यति खुशी भएँ नि, त्यो भनेर साध्य छैन।”
चोभारपछि सबै आउडटडोरका सुट ककनीमा भयो। कलाकार ल्याउन र लैजान सेनाको गाडी प्रयोग भएको थियो। ककनीमा सबै आउडडोरको सुट सकिएपछि इन्डोर सुटिङका लागि टिमै कलकत्ता लाग्यो।
रमाइलो कुरा त भुवनलाई कलकत्ता पुगुन्जेलसम्म पनि हिरो को हो भनेर निर्देशकले भनेकै रहेनछन्। जब उनी सुटिङमा गइन् त्यहाँ शिवशंकरलाई देखिन्। शिवशंकर त गायक थिए। उनी नै हिरो होलान् भन्ने एकमनले पनि सोचेकी थिइनन्। तर हिरोको भूमिकामा उनै शिवशंकर थिए।
“शिवशंकर दाइ गीत रेकर्ड गर्न कलकत्ता जानुभएको रहेछ। ‘गरौंला हामी सिर्जना अर्को’ बोलको गीत रेकर्ड पनि भयो। त्यति बेलासम्म हिरो नै भेटिएको रहेनछ। अनि क्यामरामेनले स्क्रिनटेस्ट गरौं न त भनेर उहाँको लिँदा पास भएको रहेछ। उहाँ हिरो हो भन्ने थाहा पाएर म त रमाएँ”, भुवनले त्यति बेलाको किस्सा सुनाइन्।
फिल्ममा भुवन मात्रै होइन उनका बुवा भैरवबहादुर थापा पनि छानिएका थिए। इन्डोर सुटिङका लागि बाबुछोरी नै कलाकारको टोलीमा कलकत्ता पुगेका थिए। त्यहाँ कलाकार राख्न एक गेस्ट हाउस लिइएको थियो। गेस्ट हाउसमा भुवनसँगै थिइन् वसुन्धरा र विमला पनि।
इन्डोर सुटिङ हुने ठाउँमा अन्य भारतीय फिल्मको पनि सुटिङ भइरहेको थियो। भारतीय कलाकारहरू रंगीबिरंगी कपडामा हुँदा यता भुवन सहितका कलाकार भने ग्रामिण परिवेशको महिलाको सामान्य कपडामा थिए।
फिल्मको सबै लगानी सरकारको थियो। कलाकारको अलग्गै पारिश्रमिक थिएन। प्रायः सरकारी कर्मचारी नै भएकाले त्यही तलबै फिल्मको पारिश्रमिक थियो उनीहरूको। फिल्मको काम सकिएपछि उनी नेपाल फर्किइन्।
०००
२०२१ सालमा बन्न थालेको फिल्म २०२२ सालमा प्रदर्शन भयो। नेपाली भाषाको पहिलो फिल्म भन्ने ‘चार्म’ थियो नै। फिल्म खेलेकोमा भुवन पनि मक्ख।
जय नेपाल हलमा फिल्मको पहिलो शो गरिने भयो। रिलिजको पहिलो दिन राजा महेन्द्र परिवार सहित फिल्म हेर्न पुगे। फिल्मको टिमै थियो त्यहाँ। तर भुवन थिइनन्।
“जय नेपाल हलमा पहिलो पटक अभिनय गरेको फिल्म लाग्दा हेर्नै पाइएन”, भुवनले थकथक मान्दै भनिन्, “त्यति बेला म नेपालको कला प्रस्तुत गर्न चाइना पुगेको थिएँ। नेपाल फर्कँदा भारतको कलकत्तामा निर्देशकसँग भेट भयो। उहाँले फिल्म धेरै राम्रो भएको अनि राजाबाट मेरो तारिफ भएको सुनाउनुभयो। फिल्म हेरेभन्दा बढी आनन्द लाग्यो।”
काठमाडौं आइपुगेपछि त यहाँको माहोल नै अर्कै। सबैले उनको अभिनयको तारिफ गरिरहेका। गोरखापत्र र जनसमाजको सम्पादकीयमै फिल्मबारे लेखिएको रहेछ। कलकत्तामा छापिने पत्रिकामा पनि उनको बारेमा लेखियो। उनी दंग।
फिल्म ‘आमा’पछि उनले ‘हिजो आज भोलि’मा अभिनय गरिन्। त्यसको निर्देशक पनि उनै खत्री थिए।
लामो अन्तरालपछि निजी क्षेत्रको लगानीमा पहिलो पटक ‘माइतीघर’ फिल्म बन्ने भयो। निर्देशक बीएस थापा अनि अभिनेत्री माला सिन्हा। खासमा यो फिल्ममा पनि उनलाई प्रस्ताव आएको थियो। तर हिरोइनको छोरीको भूमिका भएकाले खेलिनन्।
भुवनका अनुसार ‘माइतीघर’ बनाउने तयारी ‘आमा’ भन्दा अगाडि नै सुरु भएको थियो। उनलाई त्यही बेला प्रस्ताव आएको रहेछ। “माला सिन्हालाई नै सबै कलाकार छान्ने जिम्मा रहेछ”, उनले भनिन्, “बीएस थापाले कलाकार जुटाइदिने काम गर्नु हुँदो रहेछ। उहाँले बोलाएर ‘ल भुवन, यस्तो यस्तो फिल्म बन्ने भएको छ। तिम्रो तस्बिर देऊ’ भन्नुभयो। मैले पठाएँ। मालाले ओके भन्नुभएछ। पछि खेलिनँ।”
‘आमा’ प्रदर्शन भइसकेको थियो। उनी लिड रोलमा। प्रशंसा त्यस्तै। अर्को फिल्मको तयारी पनि थियो। बीएसले फिल्म खेल्ने हो कि होइन भनेर सोध्दा उनले भनेकी थिइन्, ‘खेल्न त खेल्ने तर त्यसमा आमाछोरीको त्यस्तो एउटा सिन दिनु कि पर्दामा मान्छेले क्या गरी है भुवनले भनून्।’
बीएसले त्यस्तो छैन भनेपछि उनले ‘माइतीघर’ खेलिनन्।
२०३० सालमा फिल्म ‘मनको बाँध’ फिल्म पनि बन्यो। उनलाई यो फिल्मसँग पनि जोडेर हेरिन्छ। हिरोइन नै हो भनिदिन्छन्। तर, यसमा शुभद्रा अधिकारी अनि वसुन्धरा भुसालको अभिनय छ। भुवनको होइन।
“मनको बाँधमा मैले अभिनय गरेको छैन। तर धेरैले त्यसमा मेरो नाम लेख्छन्”, उनले भनिन्।
०००
करारमा नाचघर छिरेकी उनी २०३३ सालमा स्थायी भइन्। २०६२ सम्म उनी निरन्तर त्यहीं काम गरिन् र अवकाश पाइन्।
यो बीचमा उनी अभिनयमा कुनै न कुनै रूपमा जोडिए पनि संख्या भने निकै कम छ उनले अभिनय गरेका फिल्मको। कारण देखियो सरकारी जागिर।
“राष्ट्रिय नाचघरमा जागिरे भएपछि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म त्यतै हुन्थें। खाली भएको समयमा बोलाउँथे, म पनि जान्थें”, उनले भनिन्, “धेरैजसो युवराज लामा दाइको फिल्ममा काम गरेकी छु। कतिपयले बोलाउँदा जान भ्याउँदिनँ थिएँ। त्यसैले अरू कलाकारको तुलनामा मेरो फिल्म कमै छ।”
चरित्र अभिनेत्रीको रूपमा फाट्टफुट्ट फिल्महरूमा अभिनय गरिरहिन् उनले। तर अहिले लगभग अलग भएर बसेकी छिन्। “अहिले पनि कतिपय निर्देशकले खेल्न अफर गर्नुहुन्छ। तर अब त उमेर पनि भयो। फिल्मको सुटिङ पनि काठमाडौंमा भन्दा बाहिर नै हुन्छ। म बाहिर जान्नँ”, उनले भनिन्, “काठमाडौंमा भए काम गर्न सक्छु। अब बाहिर त जान सक्दिनँ।”
‘बल्ल अर्ग्यानिक फिल्म बन्न थाले’
‘आमा’ फिल्ममा अभिनय गर्नुभयो। तर त्यो बेलाको अर्को चर्चित फिल्म ‘कुमारी’मा त अर्कै हिरोइन आउनुभयो नि। तपाईंलाई प्रस्ताव आएन ?
सबै फिल्म भुवन थापाले मात्रै गर्ने होइन नि। सबैले पालो पाउनुपर्यो। ‘आमा’ मा पनि भुवन, ‘हिजो आज भोलि’मा पनि मै अनि अरूमा पनि मै त हुनुभएन।
फिल्म कस्तो हुने रहेछ भन्ने थाहा भइहाल्यो। पैसा भन्ने कुरा राष्ट्रिय नाचघरले तलब दिइहाल्थ्यो। त्यो बेला कलाकारहरूले फिल्ममा पनि कति नै पैसा पाउने हो र। तीन-चार हजार थियो। कहिले त पैसा नै दिँदैनथे।
त्यो बेलामा पैसाका लागि अभिनय गर्ने भन्ने पनि थिएन। त्यसैले कुनै कलाकारले अभिनय गर्न मरिहत्ते पनि गर्दैनथे। अनि मलाई त्यो फिल्ममा मलाई किन लिएनन्, उसलाई किन लिए भन्ने बानी पनि छैन। हिजो पनि थिएन, आज पनि छैन। कसैले बोलाइहाल्नु भयो भने खेल्छु, नत्र चुप लागेर बस्छु।
त्यो समयमा महिलाले परपुरुषसँग बोलेको त नस्विकार्ने समाज भएका बेला नाटक अनि फिल्ममै अभिनय गर्दा गाह्रो भएन ?
अरूले भोगे तर मैले भोगिनँ। किनभने म कलाकारको छोरी नै थिएँ। मेरो बुवाले नै नाटक खेल्न लग्नुभएको मलाई। पछि विवाह पनि कला बुझेकै व्यक्तिसँग भयो। कला बुझेको परिवार भएकाले समस्या भएन।
नेपालको पहिलो हिरोइनको इतिहास बनाउनुभयो। तर फिल्म त निकै कम खेल्नुभयो नि ?
सरकारी जागिरको प्रभाव पनि पर्यो अनि मेरो स्वभाव पनि कारण होला। म काम माग्न जान्नँ। कसैले अफर गरे अवस्था हेरेर खेल्ने हो।
कतिपयले मैले नखेलेको फिल्मको नाम भनेको सुन्छु। त्यो बेलामा ‘मनको बाँध’, ‘जीवन रेखा’, ‘के घर के डेरा’ जस्ता चर्चित फिल्म बने। कतिपयले त्यसमा मैले खेलेको हो भन्नु हुन्छ। तर मैले खेलेको छैन त्यसमा।
मैले ‘आमा’ र ‘हिजो आज भोलि’ मा मात्र हो लिड रोल गरेको। अरूमा सहायक भूमिका हो। तुलसी घिमिरेको ‘दुई थोपा आँसु’ लगायतमा क्यारेक्टर रोलमा अभिनय गरेको छु।
अहिलेका कलाकारले कतिको चिन्छन् तपाईंलाई ?
धेरैले चिन्दैनन्। हामीले खनेको अभिनयको बाटो अहिले पक्का भइसकेको छ। चिने पनि नचिने पनि फिल्म क्षेत्र बलियो बन्दै गइरहेको देख्दा खुशी लाग्छ।
तपाईंले फिल्म पनि बनाउनुभयो हैन ?
‘साइनो’ फिल्म बनाएको थिएँ। मिरुना मगरले पहिलो पटक अभिनय गरेको फिल्म हो नि त्यो। त्यो बेलामा मिरुना परिचित थिइनन्। पछि चकाचक भइन्। तर अहिलेसम्म मिरुनाले ‘साइनो’ को नाम लिएको सुनेको छैन। आफ्नो फिल्मको नाम पनि लिऊन् भन्ने त लाग्छ नै। ठीकै छ, उनको आफ्नो स्वविवेक।
फिल्म त चलेन नि हैन ?
एक करोड सात लाख जति डुब्यो नि। तर मैले कसैलाई एक पैसा बाँकी राखिनँ। जति घाटा भयो, आफैंले बेहोरें। सबैको तिरें।
कला क्षेत्र बाहिर विशेष रुचि ?
अहिले घर अगाडि गार्डेन छ। यसैको हेरचाह गर्छु। यसैलाई हुर्काउने, बढाउने। अरू खासै त्यस्तो केही छैन।
गायनमा पनि रुचि थियो। केही गीत पनि गाउनुभयो। तर त्यता परिचय नै बनेन है !
बुवाले बच्चा बेलामा सिकाउनुभएको थियो। उस्ताद भैरवबहादुर थापाले रेडियो नेपालमा लैजाँदा नै मैले गाएको हो। रेडियो नेपालमा जाँदा नातिकाजी, शिवशंकर, पन्ना दाइहरूसँग भेट हुन्थ्यो। सबै बुवाका साथीहरू, चिनजान हुने भइहाल्यो।
त्यो समयमा सामूहिक गीतहरू गाएँ। रेडियो नेपालले करार पत्र पनि दिएको थियो। तारादेवीसँग पनि गाएको छु। कमला श्रेष्ठ लगायतसँग थुप्रै गीत गाएको छु। ४०-५० वटा हाराहारी गीत गाए पनि गायिकाभन्दा कलाकारै छवि बलियो भयो।
कला क्षेत्रप्रति तपाईंको दृष्टिकोण?
सकारात्मक छ। बाहिरबाट हेर्दा नराम्रो देखिन सक्छन्। बुझ्नेले त्यो त अभिनय गरेको हो नि भनेर बुझ्छन्। अब नबुझ्ने वा बुझ्नै नचाहनेका लागि त जे गरे पनि सकिन्न।
कहिलेकाहीँ मिडियाले कलाकारलाई नङ्ग्याएको देख्छु। उनीहरूको पनि प्राइभेट लाइफ हुन्छ। त्यसको सम्मान गर्नुपर्छ।
कला छाडेर कलाकारको प्राइभेट विषय लेखेर के फाइदा?
अहिलेका कलाकारको व्यवहार कस्तो लाग्छ?
पहिला सीमित कलाकार थिए। आत्मीय सम्बन्ध थियो। सबैलाई समान तरिकाले हेर्ने दृष्टिकोण थियो। पुराना कलाकार अहिले पनि छन्। अहिले त कलाकार पनि धेरै भए। अहिलेका कलाकारले हामीलाई चिन्दैनन्। उनीहरू सुटिङमै बढी व्यस्त भएर पनि होला। चिनेकाले त सम्मान नै गर्छन्।
अभिनय पनि सरकारी जागिर पनि, घर परिवारका लागि समय निकाल्न त हम्मेहम्मे नै थियो होला ?
बुवा र श्रीमान्ले मलाई साथ दिनुभयो। सुटिङमा हुँदा कति बेला आइन्छ, कति बेला घर आइँदैन पनि। त्यस्तो बेला उहाँले ‘तिमी जाऊ काम गर’ भनेर सहज बनाइदिनुभयो। तीन छोरी भए। घर परिवार सबै उहाँले नै हेर्नु हुन्थ्यो। छोरीहरूलाई हेरेर उहाँ रेडियो नेपाल जानुहुन्थ्यो।
घरमा बुझ्ने मान्छे भएपछि धेरै सजह हुने रहेछ। बुझ्ने नभएको भए त गाह्रै हुन्थ्यो नि।
आफू अभिनयमा सक्रिय रहेको बेला र अहिलेको अवस्था दाँजेर हेर्दा कस्तो लाग्छ?
त्यो बेला हामी छोपिएका थियौं। चौबन्दी चोलीको जमाना थियो। हेर्ने आँखा नै छोपिन्थ्यो। त्यसैलाई राम्रो भनिन्थ्यो। अहिले समय परिवर्तन भएको छ। मान्छेको हेर्ने सोच नै फरक भइसक्यो।
आफ्नो मान्छे उदाङ्गिएको कसैलाई मन पर्दैन। अरू उदाङ्गिएको मात्रै मन पर्ने हो। पहिलाका फिल्ममा कथा हुन्थे। अहिले त्यसपछि अरूका फिल्मको कपी हुन थाले। आर्थिक रूपमा अहिले कलाकार आत्मनिर्भर हुन थालेका छन्। फिल्मको संख्या बढिरहेको छ। यस्तै यस्तै हुन् फरक।
फिल्मको स्तरबारे तपाईंको टिप्पणी?
पहिला घर परिवारका सबै बसेर हेर्न मिल्ने फिल्म बन्थे। हलमा पनि राम्रै चल्थे। अहिले ‘रेड लाइट’ (वयस्क फिल्म) जस्ता फिल्म बन्दा दिक्क लाग्छ नै।
एक समय चार पाँच जना प्रोड्युसर मिल्यो, पाँच पाँच लाख उठायो। हिरो आफ्नै मान्छे, हिरोइन आफ्नै मान्छे। कथा पनि लेख्नु नपर्ने। चार पाँच वटा हिन्दी फिल्म हेर्दे कथा कोर्दै गयो। नेपालीमा डाइलग उतार्यो अनि सुटिङ गर्यो। जब रिलिज हुन्छ अनि चल्दैन।
केही समय यस्तो टिक्यो पनि होला। तर त्यसपछि नेपाली फिल्मको धरातल नै डग्मगायो। यस्तो देख्दा नमीठो लाग्छ नै।
तर अहिले पुनः सुधार भइरहेको देख्छु। दयाहाङ राई लगायतले खेलेका कतिपय फिल्म अर्ग्यानिक छन्। दर्शकले रुचाएका पनि छन्। रियल कथामा फिल्म बन्न थालेका छन्। यो देख्दा पनि भने खुशी लाग्छ।
तपाईंको परिवारबाट त कोही आएनन् नि अभिनयमा?
तीन छोरीहरू छन्, कसैले पनि यो लाइनमा आउन इच्छा देखाएनन्। तीनै जना अमेरिकामा नै पढिरहेका छन्। बुवाको लाइनमा गएर इङ्लिस समाचार वाचन गर्ने भने भए। अहिले उनीहरू अमेरिकामै बस्छन्।
असार ९, २०८२ सोमबार १७:३५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।