राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शय्याको नयाँ भवन निर्माण हुने

काठमाडौं : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना सेवाहरू विस्तार गर्ने भएको छ। आइतबार बालुवाटारमा सम्पन्न छैटौं सभाको बैठकले प्रतिष्ठानमा ४०० शय्याको आधुनिक भवन निर्माण गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदिप पौडेलको उपस्थितिमा आयोजित बैठकले प्रतिष्ठानको भविष्यका लागि दूरगामी निर्णयहरू गरेको छ।
सभाको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रतिष्ठानको रू. २ अर्ब ७४ करोड ७४ लाख १८ हजारको वार्षिक बजेट तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ। यो बजेट प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रमका आधारमा तयार गरिएको हो।
प्रतिष्ठानले कार्डियोलोजी, कार्डियोथोरासिक सर्जरी, आँखाको क्यान्सर र अकुलोप्लास्टिक सर्जरी, जलन र प्लास्टिक सर्जरी लगायतका विशिष्टीकृत उपचार सेवा र विभिन्न स्नातकोत्तर एवं स्नातक शैक्षिक कार्यक्रमहरू थप गर्ने तथा विभिन्न विषयका अनुसन्धान कार्यक्रमहरू अगाडी बढाउने योजना समेत बनाएको छ।
यसका साथै प्रतिष्ठानले विभिन्न स्नातकोत्तर एवं स्नातक शैक्षिक कार्यक्रमहरू संचालन गर्ने र अनुसन्धान कार्यक्रमहरूलाई निरन्तरता दिने योजना समेत प्रस्तुत गरेको छ।
बैठकले प्रतिष्ठानको संस्थागत विकासका लागि प्राज्ञिक परिषदका रिक्त सदस्य पदहरूमा ९ जना प्राज्ञिक व्यक्तित्वहरूको मनोनयन गरेको छ।
सभामा उपकुलपति डा. विकाश लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। रजिष्ट्रारद्वारा पेश गरिएका अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रम संचालन, अनुसन्धान तथा तालिम र सामुदायिक स्वास्थ्य सेवा विस्तार सम्बन्धी नीति, कार्यक्रम तथा योजनाहरूमा विस्तृत छलफल भएको थियो।
सभाले यी नीति, कार्यक्रम तथा योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिष्ठान व्यवस्थापनलाई आवश्यक निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले प्रतिष्ठानले आर्थिक वर्ष शुरु हुनुअघि नै बजेट स्वीकृत गरेर खर्च गर्ने नयाँ कार्यशैली अपनाएकोमा प्रशंसा गरे। उनले प्रतिष्ठानलाई साधन स्रोत सम्पन्न बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको र नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
असार ९, २०८२ सोमबार १७:०२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।