बजेट सक्काउने हतारो (फोटोफिचर)

काठमाडौं: असारको सुरुवातसँगै काठमाडौंको सडकमा पुनः पुरानै दृश्य देखिन थालेको छ। कतै 'बाटो बन्द छ' त कतै 'अगाडि निर्माण कार्य हुँदैछ' भन्ने बोर्ड टाँसिएको छ। काठमाडौंको मुख्य सडक होस् वा गल्ली, नदी किनारको करिडोर होस् वा साँघुरा भित्री बाटाहरू हरेक कुनामा निर्माणको नाममा खनेका सडक, खाल्डाखुल्डी र रातारात पिच गरिएको कालो पत्र देखिन्छ।
यस्तो दृश्य अहिले काठमाडौं उपत्यकामा मात्र होइन देशैभरि देखिन्छ। कतै ढल बनाउँदै, कतै टायल फेर्दै, कतै खाल्डा पुर्दै। हरेक आर्थिक वर्षको अन्त्यमा यस्तै दृश्य दोहोरिन्छन्। यी सबै काम साँच्चै आवश्यक भएर गरिएका हुन् वा बजेट सक्काउने हतारो ? यो प्रश्नको जवाफ महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा स्पष्ट देखिन्छ।
चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी छ, तर पुँजीगत खर्च ४० प्रतिशत मात्रै भएको छ। सरकारलाई यो वर्ष पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब छुट्याइएको थियो, तर जेठ मसान्तसम्ममा जम्मा १ खर्ब ४३ अर्ब खर्च भएको छ। अब असारमा मात्रै २ खर्बभन्दा बढी अर्थात ६० प्रतिशत खर्च गर्नुपर्नेछ।
सरकारलाई अहिले त्यहि बाँकी बजेट सक्काउने चटारो छ। रातबिरात सडक पिच हुँदैछ, खोलाबाट बालुवा निकालिँदैछ, ढल मर्मत गर्न झरीमा सडक खनिँदैछ।
जनताले सहज यात्रा गर्नुपर्ने ठाउँमा उल्टै सास्ती खेप्नुपरेको छ। झरी, हिलो, धुलो सबै बेहोर्नुपर्ने। पैदल यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। सवारी चलाउँदा कहाँ कतिबेला खाल्डोमा परिने हो पत्तो छैन।
२०७२ को संविधानले जेठ १५ गते भित्रै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर आयोजनाको ठेक्का लगाउने टेन्डर प्रक्रिया असोज-कात्तिकपछि मात्र सुरु हुन्छ। अनि सरकारी कामकाजको ढिलासुस्ती झेल्दै जाँदा आर्थिक वर्षको अन्त्यतिर मात्र काम सुरु हुन्छ।
यहि सन्दर्भलाई हामीले तस्विर मार्फत देखाउन खोजेका छौं। काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भइरहेको असारे विकासलाई यी तस्विरहरूमा हेर्नुहोस्।
असार ९, २०८२ सोमबार १६:१३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।