हाम्रा राजदूतावासहरू कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री देउवा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशका दूतावासहरू वडा कार्यालयभन्दा गयगुज्रेको भएको बताएकी छन्।
प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत विषयमा भएको छलफलमा जवाफ दिँदै उनले विभिन्न देशमा भएका राजदूतावास एकदमै सानो र मान्छे आउँदा बस्ने ठाउँ समेत नभएको बताएकी छन्।
‘हाम्रा राजदूतावासहरू वडा कार्यालयहरु भन्दा साना छन्। जापानको राजदूतावासमा जाँदा एकदमै डिप्रेस्ड भएर फर्किएँ। तीन लाख ५० हजार भन्दा बढी मानिस पुगिसकेको राजदूतावासमा फाइलका चाङहरुका कारण मान्छे बस्ने ठाउँ पनि छैन। कुखुराको खोरभन्दा सानो राजदूतावास छ।’
यही प्रसङ्गमा उनले वडा कार्यालय उद्घाटन गरेको विषय पनि जोडिहालिन्।
‘मेरै क्षेत्रको चार नम्बार वडाको वडा कार्यालय उद्घाटन गर्न बोलाउनुभाको थियो। त्यो वडा कार्यालय त हाम्रो एकदमै राम्रो थियो। तर राजदूतावास त्यत्तिको पनि थिएन’, उनले थपिन्।,
दिल्ली र बेइजिङको राजदूतावास मर्मत गर्नका लागि भनेर बजेट विनियोजन गरिएको भन्दै डीपीआर लगायतका कामहरु भइरहेको जानकारी दिइन्।
असार ९, २०८२ सोमबार १३:४९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।