शिक्षा र स्वास्थ्य संस्थामा राजनीतिक नियुक्ति भए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारीको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गर्न लागिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले योग्यताको आधारमा पदाधिकारी चयन नगरिए सत्याग्रहसहितका आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा डा. केसीले योग्यताभन्दा राजनीतिक भागबन्डाका आधारमा नेतृत्व चयन गर्दा शैक्षिक गुणस्तर खस्केको र संस्थाहरू राजनीतिक दलका कार्यकर्ता भर्ती तथा दोहन केन्द्र बनेको आरोप लगाएका छन्।
शिक्षा क्षेत्रमा सुधार तथा समतामूलक पहुँच, सुशासन र सामाजिक न्यायका लागि लामो समयदेखि संघर्ष गर्दै आएका डा. केसीले पदाधिकारीहरूको चयन योग्यताका आधारमा हुने ऐनका लागि दुई दशकदेखि लडिरहेको स्मरण गराएका छन्।
यसअघि योग्यताको आधारमा पदाधिकारी चयन गर्ने गरी भएको सम्झौता कार्यान्वयन भइरहेको दाबी गर्दै उनले हालै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा खाली पदमा राजनीतिक भागबन्डाबाट नियुक्ति गर्ने तयारी भएको सुन्दा गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
डा. केसीले अत्यन्त महत्वपूर्ण शैक्षिक नेतृत्वका पदहरू लामो समयसम्म खाली राखी चाकडी र घूसखोरीको लिलाम बढाबढमा राख्ने परम्पराप्रति पनि आपत्ति जनाएका छन्। तसर्थ, पदाधिकारीहरू योग्यताको आधारमा चयन गर्न र पदाधिकारी नियुक्ति मापदण्डसहितको उच्च शिक्षा ऐन तुरुन्त पारित गर्न सरकारसँग जोडदार माग गरेका छन्।
विज्ञप्ति मार्फत डा. केसीले चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थालाई २०८५ देखि गैरनाफामूलक बनाउने तयारी गर्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन्।
साथै, इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने, सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपयुक्त दरबन्दी थप्ने, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गर्ने लगायतका आफूसँग भएका विगतका सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न पनि उनले सरकारसँग अनुरोध गरेका छन्।
मागहरू पूरा नगरिएमा सत्याग्रहसहितका आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी डा. केसीले दिएका छन्।
असार ९, २०८२ सोमबार १३:३९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।