इरानमा छ विमानस्थलमा इजरायली आक्रमण, इरानको समर्थनमा उत्रियो रुस

इरानमा छ विमानस्थलमा इजरायली आक्रमण, इरानको समर्थनमा उत्रियो रुस

एजेन्सी : इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा हवाई आक्रमण गरेको छ।मशहद, तेहरान, हमादान, डेजफुल, शाहिद बख्तियारी र तब्रिज विमानस्थलहरूमा इजरायली सेनाले आक्रमण गरेको हो।

सेनाले एक विज्ञप्ति जारी गर्दै ड्रोन आक्रमण मार्फत १५ इरानी सैन्य विमान र हेलिकप्टर ध्वस्त पारेको बताएको छ। यी आक्रमणहरूमा हवाई पट्टी, भूमिगत बंकर, इन्धन भर्ने विमान र एफ-१४, एफ-५ र एएच-१ जस्ता इरानका लडाकु विमानहरूमा ठूलो क्षति पुगेको छ।

अर्कोतर्फ, इरानले इजरायली हर्मेस ड्रोन पनि खसालेको छ। आइतबार राति अबेर बिहान इजरायली वायुसेनाले इरानको शाहरुदमा रहेको ब्यालिस्टिक मिसाइल इन्जिन निर्माण कारखानामा बम विस्फोट गराएको थियो।

यस आक्रमणमा धेरै इन्जिन निर्माण मेसिन र आवश्यक उपकरणहरू नष्ट भए। यसबाहेक इजरायलले तेहरान, केरमानशाह र हमादानमा पनि हवाई आक्रमण गरेको थियो।

यसैबीच अमेरिकाले इरानको आणविक सुविधा केन्द्रमा सिधै आक्रमण गरेपछि रुसले तीव्र प्रतिक्रिया जनाएको छ। रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले अब धेरै देशहरू इरानलाई सिधै आफ्नो आणविक हतियार दिन तयार भएको बताए।

मेदवेदेवले ट्विटरमा लेखेका छन्- ‘अमेरिकी आक्रमण असफल भएको छ र इरानको आणविक पूर्वाधार सुरक्षित छ। अब हामी खुलेआम भन्न सक्छौं कि यो आक्रमणले इरानको आणविक महत्वाकांक्षालाई रोक्नुको सट्टा तीव्र बनाउनेछ।’

अमेरिकाको सैन्य र कूटनीतिक रणनीति उल्टो भएको भन्दै उनले यसले इरानको शक्तिलाई अझ बलियो बनाएको उल्लेख गरेका छन्। युक्रेनसँगको जारी युद्धमा इरानले रुसलाई ड्रोन, मिसाइल र अन्य हतियारको ठूलो मात्रामा सहयोग गरेको थियो।

असार ९, २०८२ सोमबार १३:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।