गण्डकी प्रदेश सभामा माओवादी सांसदले च्याते बजेट पुस्तिका

पोखरा : गण्डकी प्रदेश सभाको बैठकमा माओवादी केन्द्रका एक सांसदले बजेट पुस्तिका च्यातेर विरोध जनाएका छन्।
सोमबारको बैठकमा तीनवटा मन्त्रालयमाथिको छलफलका क्रममा माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लालाई बजेट विनियोजनमा अन्याय भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन्।
उनले चालु आर्थिक वर्षको बजेटमा म्याग्दीका लागि साढे तीन करोड रुपैयाँका नयाँ योजना छनोट गरिए पनि ती सबै योजना नेपाली कांग्रेस र नेकपा (एमाले) सम्बद्ध व्यक्तिका मात्र छानिएको दाबी गरे।
गण्डकी प्रदेशसभामा म्याग्दीका दुवै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। सांसद जुग्जालीले विगत दुई वर्षदेखि म्याग्दीलाई बजेटमा निरन्तर अन्याय हुँदै आएको बताए।
उनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री र आर्थिक मामिला मन्त्रीलाई आफ्नै खर्चमा म्याग्दी भ्रमण गरेर वास्तविकता बुझ्न समेत आग्रह गरे।
बैठकमा आक्रोशित हुँदै उनले भने, ‘भौतिक मन्त्रीज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र माननीय हरि भण्डारीको दुई करोड पनि फिर्ता लैजानुस्। दुई वर्षदेखि म्याग्दीलाई अन्याय भएको छ, कुनै अर्थ नभएको यो बजेटलाई सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद।’
असार ९, २०८२ सोमबार १३:२२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।