सांसद् नेपालीको प्रश्न- ‘आपराधिक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करी गर्नेहरूलाई जोगाउन सरकार नै लागिपरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतदेखि नै राज्यकै संरक्षणमा मानव तस्करी भइरहेको दाबी गरे। सांसद नेपालीले मानव तस्करीमा संलग्नहरूलाई कारबाही गर्नुको सट्टा राज्यले नै बचाउन खोजिरहेको आरोप लगाए।
उनले भने, ‘यस्तो गम्भीर विषयमा पनि सरकार किन मौन छ? यो सरकारको आपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन? कि यो लाचारीपनको सङ्केत हो?’
उनले आफूहरू कुनै दल वा नेताको विरोधमा नभई जनताको पक्षमा बोलेको स्पष्ट पारे। नेपाललाई मानव तस्करीको ट्रान्जिट बनाउन खोजिएको भन्दै सांसद नेपालीले उच्चस्तरीय वा संसदीय छानबिन समिति गठन नभएसम्म आफूहरूले आन्दोलन नछाड्ने अडान व्यक्त गरे।
उनले गृहमन्त्रीले विगतमा आफैँले गर्ने प्रतिबद्धता अनुसार नैतिकता नदेखाएको भन्दै आलोचना गरे। सत्ता सङ्ख्याको बलमा टिके पनि जनताको आवाजलाई दबाउन खोजिए रास्वपा चुप लागेर नबस्ने उनको भनाइ थियो।
असार ९, २०८२ सोमबार ११:५५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।