मुगुमा करेन्ट लागेर १० खच्चर मरे

मुगुमा करेन्ट लागेर १० खच्चर मरे

मुगु : जिल्लाको छायानाथ रारा नगरपालिका-११ कुसा टाउमा करेन्ट लागेर दश खच्चर मरेका छन्। जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिकातर्फ जाँदै गरेका ती खच्चरलाई आइतबार दिउँसो विद्युत् सेवा चुहावट हुँदा करेन्ट लागेको थियो।

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट भई जमिनमा प्रवाह हुँदा घटना भएको बताइएको छ। खच्चर धनी तथा छायानाथ रारा-१ का स्थानीय कर्णबहादुर मल्लले प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा यस्तो दुर्घटना भएको गुनासो गरे।

उनले भने, ‘पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ। हामीलाई थाहै भएन। एक्कासी १० खच्चर करेन्ट लागेर मरे। मलाई पनि करेन्ट लागेको थियो। चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो, बचेँ।’

उनका अनुसार खएउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ। उनले आफ्नो खच्चरको क्षतिपूर्ति दिन नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन्।

करेन्ट लागेर छायानाथ रारा-१ का कर्णबहादुर मल्लका चार तथा वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन/तीनवटा खच्चर मरेको बताइएको छ।

यसअघि गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो। नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा स्थानीयले दिनहुँ सास्ती भोग्नुपरेको बढुवालले बताए।

यता, नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत् सेवा प्रभावित हुँदा यस्तो समस्या भएको बताए। उनले नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए।

असार ९, २०८२ सोमबार ०९:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।