इरानमाथि अमेरिकी आक्रमणले तेलको मूल्य पाँच महिनाकै उच्च बिन्दुमा

इरानमाथि अमेरिकी आक्रमणले तेलको मूल्य पाँच महिनाकै उच्च बिन्दुमा

काठमाडौं : मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनावका कारण एसियाली बजारमा सोमबार गिरावट आएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनाकै उच्च बिन्दुमा पुगेको छ।

अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेको खबरसँगै ऊर्जा बजारमा आपूर्ति अवरोधको चिन्ता बढेको हो।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो, जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ। उत्पादित तेलको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि प्रयोग हुन्छ।

विश्लेषकहरूका अनुसार यदि इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा सामरिक महत्वको स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गरेमा यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ।

तनावकै बीच ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ। यो पाँच महिनायताकै उच्च मूल्य हो।

क्षेत्रीय तनावको असर एसियाली बजारमा पनि देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ। सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले तल झरेका छन्।

जापान बाहेक एसिया–प्रशान्त क्षेत्रको एससिएल (SCL) सूचकांक पनि ०.५ प्रतिशतले घटेको छ। यसबीच अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ।

असार ९, २०८२ सोमबार ०८:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।