कर्णालीमा पनि खुल्न थाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय

कर्णालीमा पनि खुल्न थाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय

सुर्खेत : ‘पहिला आफूजस्ता मानिस कोही छन् भन्ने थाहा नै थिएन। समाजको घृणा र तिरस्कारले आफ्नो जीवन देखेर वाक्क लाग्थ्यो,’ वीरेन्द्रनगरकी जेनिसाले भनिन्, ‘त्यो हिसाबले डर लाग्थ्यो, लाज लाग्थ्यो। तर अहिले म आफैँ प्रेरणाको स्रोत बन्न थालेकी छु।’

पुरुषका रुपमा जन्मिए पनि महिलाको भेषभुषामा हिँड्ने जेनिसा सुर्खेतमा पहिचानसहित खुलेर प्रस्तुत हुन थालेको १० वर्ष भयो। पारिवारिक अस्वीकृति र चिन्ताका कारण पहिले पहिचान लुकाएर बस्नुपर्ने बाध्यता भोगे पनि अहिले अवस्था परिवर्तन हुँदै गएको उनले बताइन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्न संस्था नै दर्ता गरेर अगाडि बढेकी अञ्जली विसीले बताइन्, ‘हामीले अब डराएर बस्ने अवस्था छैन। अब हामी आफ्ना कुरा आफैँ उठाउँछौं। त्यसमा सरकार र समुदायले सहयोग गर्नुपर्छ।’

अञ्जली ‘कर्णाली इन्द्रेणी आवाज’ नामक संस्थाकी अध्यक्ष हुन्। वि.सं. २०८१ असोजमा दर्ता गरिएको उक्त संस्थाले कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ। उनले संस्था लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजीबीटीआईक्यू+) को हक, अधिकार र पहिचानका विषयमा काम गर्न स्थापना गरिएको बताइन्।

‘यहाँ खुल्नु नै ठूलो साहस हो,’ उनले भनिन्, ‘हामीहरू आफैँ बोल्दैनौं भने को बोल्छ? पहिले डर लाग्थ्यो, अहिले चाहिँ डरभन्दा पनि अधिकार र अस्तित्वको सवाल ठूलो लाग्न थाल्यो।’

उनीहरू अहिले विभिन्न निकायसँग सहकार्य गरेर विद्यालय, समुदाय, सञ्चार माध्यम र सरकारी निकायहरूसम्म आफ्ना मुद्दाहरू अगाडि बढाएको बताउँछिन्।

यसै क्रममा कर्णाली इन्द्रेणी आवाजले समुदायभित्र यौनिकता, पहिचान, स्वास्थ्य, आत्मबल र कानुनी अधिकारसम्बन्धी परामर्श दिन थालेको छ। यद्यपि, सम्पूर्ण समाजले स्वीकार गरिसकेको अवस्था भने अझै आइसकेको छैन।

परिवार, समुदाय, शैक्षिक संस्था र सेवाप्रदायक निकायबाट अझै पनि भेदभाव र हेय दृष्टिकोण खेप्नुपर्ने अवस्था छ। यही कारणले गर्दा कर्णालीमा करिब २५० को संख्यामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भए पनि अहिले ३० जना मात्रै खुलेर आएको उनले बताइन्।

‘यो समुदायलाई अझै खुलेर बोल्न डर छ। बजार हिँड्दा, गाडी चढ्दा, शौचालय जाँदा विभेद खेप्नु परिरहेको छ,’ अञ्जली भन्छिन्, ‘प्रहरी प्रशासनदेखि विद्यालयसम्म लैङ्गिक र यौनिक अल्पसंख्यकमैत्री सेवा सुनिश्चित गर्न सकिएको छैन।’

कर्णालीमा पछिल्लो समय आफूजस्ता मानिसहरू भेटिन थालेपछि परामर्श र समर्थनका माध्यम पनि विस्तार भइरहेको २२ वर्षीय सहिस खानले बताए। उनले भने, ‘पहिला लाग्थ्यो, म मात्र फरक छु। अहिले थाहा भयो, हामी धेरै छौँ, र हामी एकअर्कालाई सम्हाल्न सक्छौँ। तर परिवार र समाजको साथ आवश्यक छ।’

कर्णाली जस्तो परम्परागत सोच भएको क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा खुल्नु चुनौती रहेको सोनु चौधरीले बताइन्।

‘मैले खुल्न पनि धेरै संघर्ष गर्नुपर्यो। पहिलो कुरा परिवारलाई मनाउनुपर्यो। समाजको अपहेलनाका कारण सहजै मान्दैनन्,’ उनले भनिन्, ‘परिवारलाई मनाएपछि समाजले कुरा काट्छ। त्यसपछि समस्या नै समस्या हुन्छ।’

राज्यले बेवास्ता गरेको गुनासो
संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि व्यवहारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा नीति निर्माणमा अपेक्षित सहभागिता नभएको गुनासो छ। यद्यपि, यस समुदायको उत्थानका लागि आफूहरूको यात्रा नरोकिने अञ्जलीले बताइन्।

‘प्रदेश सरकार वा स्थानीय तहले हाम्रो उपस्थिति कहाँ देख्छन् ? योजना, बजेट, कार्यक्रममा हामी कहिल्यै पनि ‘अनदेखा’ भयौँ,’ अञ्जलीले भनिन्, ‘ कुनै दिन म सडकमा हिँड्दा ‘उ छक्का र हिजडा आई’ भन्नेहरू अहिले सम्मान गरेर नमस्कार भन्छन्। अब हामी लुकेर बस्दैनौँ, हामीले देखिने, सुन्ने र प्रभाव पार्ने ठाउँ बनाउने हो।’

कर्णालीमा खुलेर बोल्न थालेको कुरा ठूलो परिवर्तन भए पनि धेरै काम गर्न बाँकी रहेको र समाजलाई सकारात्मक सोचतर्फ अगाडि बढाउन आवश्यक रहेको अञ्जलीले बताइन्।

असार ९, २०८२ सोमबार ०८:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।