इरानमा सत्ता परिवर्तनको संकेत गर्दै ट्रम्पले भने- ‘मेक इरान ग्रेट अगेन’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शासन परिवर्तनबारे टिप्पणी गरेका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसियलमा शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही नमानिए पनि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन नसकेको बताएका छन्।
उनले भनेका छन्, ‘यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सकेको छैन भने, किन शासन परिवर्तन हुनु हुँदैन? मेक इरान ग्रेट अगेन।’
यद्यपि, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको आणविक स्थलहरूमा गरिएको आक्रमण शासन परिवर्तनको लागि नभएको बताएका थिए।
उनले भनेका थिए, ‘यो उद्देश्य शक्ति परिवर्तन गर्नु थिएन र अहिले त्यस्तो कुनै उद्देश्य छैन।’
यसबाहेक, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार एबीसी न्यूजसँगको कुराकानीमा आफूहरूले शासन परिवर्तन नचाहेको उल्लेख गर्दै इरानको आणविक कार्यक्रम अन्त्य गर्न चाहको स्पष्ट पारेका थिए।
आइतबार अमेरिकाले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो।
इरानी अधिकारीहरूले यी आणविक स्थलहरूलाई लक्षित गरिएको पुष्टि गरे पनि ठूलो क्षति भएको दाबीलाई भने अस्वीकार गरे।
असार ९, २०८२ सोमबार ०७:५६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।