वाटरकी गायिका टाइला जो विश्वव्यापी स्टार बन्दैछिन्

एजेन्सी : टाइला अहिले मात्र २३ वर्षकी छिन्, तर उनी एक स्टार कलाकारको बाटोमा लम्किसकेकी छिन्। बाल्यकालदेखि नै गायिका बन्ने सपना देख्ने टाइलाले २०२३ मा गीत "वाटर" रिलिज गरे लगत्तै उनको सांगीतिक यात्राले गति लियो। पहिलो गीत नै हिट भयो। उनी सन् २०२५ को किड्स च्वाइस अवार्डको प्रस्तुतकर्ता समेत बनिन्।
टाइलाको वास्तविक नाम टाइला लौरा सीथल हो। उनको जन्म र हुर्काइ दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको हो। उनी स्कुलमा पढ्दा नै संगीतप्रति मोह सुरु भइसकेको थियो। अनि खानी इन्जिनियर बन्ने सपना छाडेर उनी गायनतर्फ लागिन्।
"म एक कलाकारका रूपमा माइकल ज्याक्सनलाई साँच्चै आदर गर्थेँ," टाइलाले नोभेम्बर २०२३ मा पिपल पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्"मैले रिहाना र आलियालाई पनि आदर्श मान्थेँ।"
'वाटर' गीतले खोलेको बाटो
टाइलाले जुलाई २०२३ मा आफ्नो एकल गीत "वाटर" रिलिज गरिन् र यो तुरुन्तै हिट भयो। यो गीत न्यूजील्यान्डमा नम्बर एकमा पुग्यो। अमेरिका, अस्ट्रेलिया, अफ्रिका र अन्य धेरै देशहरूमा शीर्ष दशमा पर्यो। उनले "वाटर" को सङ्गीत भिडियो पनि रिलिज गरिन् जसले युट्युबमा ७८ मिलियनभन्दा बढी भ्यूज पाएको छ।
"म धेरै डराएकी थिएँ," टाइलाले सङ्गीत भिडियो निकाल्ने बारेमा पिपललाई भनिन् "म शाब्दिक रूपमा सुत्न सक्दिनथेँ। म यो रिलिज हुने कुर्दै बसेकी थिएँ। तर प्रतिक्रिया राम्रो देखेपछि यो ठूलो राहत थियो। त्यस पछि म धेरै राम्रो महसुस गरेँ।"
टाइलाले २०२३ मा क्रिस ब्राउनको अन्डर द इन्फ्लुएन्स टुरमा जमैकी र्यापर स्किलिबेङको ठाउँमा ओपनिङ एक्टको काम गरिन्। "वाटर" गीतका लागि उनी सन् २०२४ ग्र्यामी अवार्डको बेस्ट अफ्रिकन म्युजिक परफर्मेन्स केटेगोरीमा मनोनीत भइन्। फेब्रुअरी ४, २०२४ को अवार्ड शोमा उनी आर्या स्टार, असाके र ओलामाइड, बर्ना बॉय, र डाभिडोसँग प्रतिस्पर्धामा थिइन्।
भेराइटीलाई दिएको अन्तर्वार्तामा टाइलाले हग्र्यामीका लागि मनोनीत हुने अपेक्षा नगरेको खुलाएकी छिन्। सङ्गीत उद्योगमा नाम कमाएपछि धेरै प्रकाशनहरूले टाइलालाई "पोपियानोकी रानी" भन्न थाले, जुन पप र अमापियानोको संयोजन हो।
असार ८, २०८२ आइतबार २३:०६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।