इरानका आणविक केन्द्रहरूमा अमेरिका-इजरायलको आक्रमण, तर विकिरण नचुहिएको विज्ञको दाबी

एजेन्सी : मध्यपूर्वमा बढ्दो तनावका बिच अमेरिका र इजरायलले इरानका मुख्य आणविक केन्द्रहरूमा संयुक्त हवाई आक्रमण गरेका छन्। यस आक्रमणले क्षेत्रीय द्वन्द्वलाई नयाँ मोडमा पुर्याएको छ। अमेरिकाको हवाई आक्रमणसँगै दुवैले एक अर्कालाई कडा चेतावनी दिइरहेका छन्।
अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त बनाउने आफ्नो उद्देश्यमा सफल भएको दाबी गरे पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले भने इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि वरपरको इलाकामा विकिरणको स्तर बढेको कुनै प्रमाण फेला नपरेको जानकारी दिएका छन्।
मानवीय स्वास्थ्यका लागि अति घातक मानिने विकिरण रहेको स्थानमा भएको आक्रमणले दीर्घकालीन वातावरणीय प्रभाव पार्न सक्ने आणविक विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
गत जुन १३ देखि इजरायल र इरानबीच सुरु भएको द्वन्द्वमा अमेरिका प्रत्यक्ष रूपमा मिसिएसँगै हालसम्मकै गम्भीर बनेको हो। दुई देशबीचको शत्रुता इजरायलले गाजामा हमासविरुद्ध सञ्चालन गरेको युद्धसँग जोडिएर अझ जटिल बनेको छ। इरानले हमास र हिजबुल्लाहलाई समर्थन गर्दै आएको छ भने इजरायलले इरानका आणविक कार्यक्रमलाई आफ्नो सुरक्षाका लागि मुख्य खतराका रूपमा हेर्दै आएको छ।
इरानको कडा प्रतिक्रिया
अमेरिकी हमलापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा शब्दमा अमेरिकाको आलोचना गरेका छन्। उनले अमेरिकाले कूटनीतिक वार्तालाई धोका दिएको भन्दै यसको "यसको परिणाम चिरकालसम्म भोग्नुपर्ने" चेतावनी दिएका छन्। तेहरानले यस आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने तयारी गरेको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोर्डो, नातान्ज र इस्फाहानका आणविक सुविधाहरूमा भएका आक्रमणहरू "अत्यन्त सफल" भएको दाबी गरेका छन्। उनले इरानलाई कुनै पनि प्रतिशोधको प्रयास नगर्न चेतावनी दिँदै भनेका छन्: "याद राख्नुहोस्, हाम्रा नजरमा अझै धेरै लक्ष्यहरू छन्।"
इजरायली नेतृत्वको खुसी
अमेरिकाले इरानमा गरेको आक्रमणलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले "साहसी निर्णय" भनेर प्रशंसा गरेका छन्। उनले इजरायल र अमेरिकाबीच "पूर्ण समन्वय र सहयोग" मा यो अभियान सञ्चालन भएको बताएका छन्। इजरायली रक्षा मन्त्रालयले यो आक्रमणले इरानको आणविक क्षमतालाई "महत्त्वपूर्ण क्षति" पुर्याएको दाबी गरेको छ।
दुवै देशमा मानवीय सङ्कट
इरानी अधिकारीहरूका अनुसार जुन १३ मा द्वन्द्व सुरु भएदेखि अहिलेसम्म चार सयभन्दा बढी मानिसहरूको ज्यान गएको छ र कम्तीमा तीन हजार ५६ जना घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको छ। अर्कोतर्फ इजरायलमा इरानी आक्रमणका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ। दुवै देशका नागरिकहरू त्रासमा बाँचिरहेका छन्।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
युरोपेली सङ्घले यस द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्ध विराम गर्न आग्रह गरेको छ। चीन र रुसले अमेरिकी आक्रमणको निन्दा गरेका छन्।
संयुक्त राष्ट्रका महासचिवले सबै पक्षलाई संयम देखाउन र कूटनीतिक समाधानका लागि वार्ता टेबलमा फर्कन आग्रह गरेका छन्।
असार ८, २०८२ आइतबार २२:४५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।