डिजाइनर कुसुमको प्रसव पीडा र खुसी: डाक्टरले बच्चाको माया मर्नु भन्नुभयो, तर मैले पेटभित्र चलिरहेको अनुभव गरिरहेँ

डिजाइनर कुसुमको प्रसव पीडा र खुसी: डाक्टरले बच्चाको माया मर्नु भन्नुभयो, तर मैले पेटभित्र चलिरहेको अनुभव गरिरहेँ

डिजाइनर कुसुम श्रेष्ठ अहिले आफ्नो नियमित दिनचर्यामा फर्कने कोसिस गर्दै छिन्। १५ वर्ष भन्दा बढी समय बुटिक क्षेत्रमा रमाइरहेकी उनलाई व्यावसायिक रूपमा फर्केर हेर्नु परेन। तर तीन वर्ष अघिको एक घटनाले उनको मन र शरीर दुवै हल्लायो। पहिलाकै अवस्थामा फर्कन सहज भएन।

उनी हुनलाई दुई सन्तानकी आमा भइन्। तर अहिले साथमा एक सन्तान मात्र छिन्। २५ हप्तामै जन्मिएको दोस्रो सन्तान धेरै समय बाँच्न सकिनन्। सन्तान गुमाएपछि मानसिक आघातमा परिन् उनी। अहिले पनि उनको घाउ आलो नै छ। 

धन्न, योग, ध्यान गरेर उनी घरबाहिर निस्किन सकिन्। डिजाइनिंगमा स्नातकको अध्ययन गरिरहेकी छिन्। अनि बिस्तारै काममा ध्यान केन्द्रित गर्ने प्रयासमा छिन्। तै पनि एक्लै हुँदा कतिखेर आँसु खस्छ उनलाई नै थाहा हुन्न रैछ।

बिहे अगाडिसम्म लेखापालको काम गरिरहेकी थिइन्। बिहे पछि भने आफ्नै बिजनेस सुरु गरिन् ‘कुसुम क्रियसन’। यो बुटिक म्युजिक भिडियो, फिल्म र रियालिटी शोहरुको पहिलो रोजाइमा पर्न थाल्यो। उनले बनाएको डिजाइनको माग निकै छ।

लकडाउनको समयमा म्युजिक भिडियोको लहर हुँदा उनको बिजनेसले राम्रो गति लियो। दिदीको टेलरमा जाँदाजाँदै कपडा सम्बन्धी ज्ञान भएपछि उनले पनि त्यही काम रोजेकी रहिछन्। उनको जीवनमा सबै राम्रै हुँदै गइरहेको थियो। उतारचढाव जीवनको अङ्ग नै भयो। उनको जीवनमा पनि त्यस्तै भयो। उनै डिजाइनर कुसुमले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :

OOO

हाम्रो बाल्यकाल गाउँमा भए पनि त्यति धेरै दुख भोग्नु परेन। मेरो दुई जना दिदी, एक भाइ अनि बहिनी छन्। बुवा सरकारी जागिरे भएकाले पढाइको राम्रै अवसर पायौँ। म एसएलसीसम्म पनि घरमा फुर्किएर हुर्किएको छोरी भन्दा पनि फरक नपर्ला। उच्च शिक्षाको लागि काठमाडौँ आउँदा भाइ र बहिनी पनि सँगै आए। आफ्नो पढाइ र उनीहरूको जिम्मेवारी पनि मेरो काँधमा आयो। स्नातक पढ्दै गर्दा मैले जागिर सुरु गरेँ। त्यही बेला बिहेको कुरा पनि भयो। बिहेपछि भनेर घर बसेर हुँदैन भन्ने लाग्यो। आफ्नै व्यवसाय सुरु गरेँ।

बिहे पछि मेरो घर ओखलढुङ्गा भयो। त्यो बेलामा ठिकै हो, जस्तो लागेको थियो। अहिले सम्झिँदा अलि छिटो विवाह भयो कि जस्तो लाग्छ। तर बिहेपछि पनि श्रीमानले पढाइ अगाडि लैजान भन्नुहुन्थ्यो। मलाई चैँ अब पढ्नु भन्दा पैसा पनि कमाउनु पर्छ भन्ने लाग्यो। अनि स्नातकोत्तर पढ्नतिर लागिन। बुटिकतिर लागेँ।

तर पढाइलाई निरन्तरता नदिँदा सन्तुष्टि मिलेन। अनि छोरी जन्मिएपछि मैले डिजाइनिंगमा डिप्लोमा गरेँ। त्यसले मेरो आत्मबल बढायो अनि बुटिक पनि राम्रो सँग चल्न थाल्यो। तर दोस्रो सन्तान समय भन्दा अगाडि नै जन्मियो। उसले ‘सर्भाइभ’ नै गर्ने सकेन। त्यसपछि मेरो शारीरिक र मानसिक स्वास्थ्य हल्लियो। के गर्ने होला भन्ने सोच्दासोच्दै यत्तिकै बसेर हुँदैन भनेर पढाइलाई निरन्तरता दिएँ। म अहिले डिजाइनिंगमै स्नातक पढिरहेको पनि छु।

बिहे अघिसम्म जिन्दगी कहाँ जादैछ भनेर थाहै भएन। बिहे भएपछि जीवनशैली नै फरक भयो। धेरै परिवर्तन हुने रहेछ विवाहपछिको जीवन। त्यसमा पनि मेरो स्वभाव नै काम गर्ने अनि परिवारसँग समय बिताउन पाउँदा रमाउने खालको। त्यसले परिवार बाहिर धेरै साथीहरू भएनन् मेरा। मेरो अहिले पनि धेरै साथी छैनन्। धेरै बोल्न पनि मन लाग्दैन। मैले दुई जना छोरीलाई जन्म दिएँ। म सँग अहिले एकजना मात्र छिन्।

बिहेपछि म अलि मोटाएकी थिएँ। त्यसले गर्दा ‘बच्चा हुन सक्दैन’ सम्म भने। उमेरको कारणले पनि हामीले परिपक्व भएपछि मात्र सन्तानको तयारी गर्ने योजना बनाएका थियौँ। योजना अनुसारै विवाह भएको चार वर्षपछि हाम्रो पहिलो सन्तान भयो।

गर्भवती भएको थाहा पाएपछि सबै जना खुसी हुनुभयो। मलाई चैँ अलि डर लागेको थियो। तर श्रीमान् साथमा हुनुभएकाले हिम्मत आउँथ्यो। त्यसपछिको नौ महिना गाह्रो नै भयो। कमजोरी हुने एकातिर, वान्ता भएर निकै समस्या भयो। खाना त खाने तर खाने बित्तिकै उल्टी हुन्थ्यो।

गर्भवती भएकै समयमा ससुरा बुबाको मृत्यु भयो। काठमाडौँबाट ओखलढुङ्गा यात्रा गर्न जोखिम थियो। मेरो दिदी नर्स हुनुहुन्छ, उहाँले नजान सल्लाह दिनु भएको थियो। तर जेठी बुहारी भएपछि नगई सुख पाइनँ। पछि उहाँले एकदम गाली गर्नु भयो। त्यहाँ १३ दिनको काममा सहभागी भएँ। आफू गर्भवती। तर एक छाक मात्र खानु पर्ने। गाउँमा केही नपाउने। कागती भेट्यो भने खान्छु भन्ने लाग्थ्यो। कपडा नलगाई बस्दा एलर्जी पनि भयो। किरिया बस्दा गाउँलेले थाहा पाउने गरेर वान्ता हुन्थ्यो।

गर्भवतीको समयमा महिला शारीरिकसँगै भावनात्मक रूपमा समेत निकै संवेदनशील हुने रहेछौँ। त्यो बेलामा कसले के व्यवहार गरेको थियो भनेर अहिलेसम्म पनि बिर्सिएको छैन मैले। त्यो बेलामा वान्ता गरेरै १३ दिन कसरी कटाएँ होला ? अहिले सम्झँदा नि छक्क पर्छु। तर गाउँबाट फर्किएपछि वान्ता हुने अलि कम भयो। काम पनि निरन्तर गर्न थालेँ। पछि पेट एकदम ठुलो भयो। हातगोडा सुन्निएर। हिँड्न पनि गाह्रो भयो।

डेलिभरीको समय जति नजिक आयो त्यति डर लाग्ने रहेछ। के हुने हो ? कस्तो हुने हो ? भनेर डर बढ्दै जाने रहेछ। पेट ठूलो भएकाले सुत्न पनि सकस। खुट्टा पनि उस्तै बाउँडिन्थ्यो। जुरुक्क उठ्न पनि नसक्ने। श्रीमानले खुट्टा माडी दिनुहुन्थ्यो।

दुखाइ सुरु भएको हो कि जस्तो लाग्छ, फेरि ठिक भइहाल्थ्यो। दिदी अनि आमाहरूसँग कुरा भइराखे पनि प्रसव व्यथा के हो भनेर बुझेको थिइन्। दिदी पाटन हस्पिटलमा हुनुहुन्थ्यो। बिहान देखि हलुका लिकेज सुरु भएको हो कि जस्तो भएर आमालाई भनेकी थिएँ। आमाले दिदीलाई भनिहाल्नु भएछ। दिदीले फोन गरेर तुरुन्त आइहाल भन्नुभयो। त्यस्तो अवस्थामा बालाजुबाट हामी पाटन हस्पिटलमा बाइकमै गयौँ। त्यहाँ जँचाउने बित्तिकै अकस्मात् अप्रेसन गर्नु पर्छ, पानी धेरै बगिसकेको छ नत्र बच्चा फर्किन्छ भन्नुभयो। मलाई त के भइरहेको छ नै थाहा भएन। अप्रेसन गर्नु पर्छ भनेपछि झन् डर लाग्यो।

अप्रेसन कक्षमा लगेपछि नानी निकालिहाल्यो। नानी एकदम राम्री थिई। टाँकाहरू सिलाउँदै गर्दा पनि केही गाह्रो भएको थिएन। बच्चा निस्किँदा घ्वाप्ल्याक्क गरेर निस्केको, छाती पोलेको, टाँका लगाउँदा आएको आवाज सबै महसुस गरिरहेको थिएँ। त्यो बेलामा दिदी पनि चार महिनाको सुत्केरी हुनुहुन्थ्यो। आमाहरू गाउँतिर। यहाँ मेरो सानो नन्द र श्रीमान् मात्र साथमा। बच्चा कसरी स्याहार्ने नै समस्या भयो।

बच्चा बेस्कन रोयो। आलो घाउ थियो मेरो। त्यो बिर्सिएर बोकेँ। दिदीले थाहा पाउनु भएछ। मैले बच्चा लिएको देखेपछि खुब रुनु भयो। म पनि दिदी सँगै रोएँ। श्रीमान् बाहिर निस्कनु भएको रहेछ। दिदीले श्रीमानलाई फोन गरेर गाली गर्दिनु भयो। त्यसपछि त श्रीमानले एकछिन पनि मलाई छोड्नु भएन।

घरमा लगे पछि पनि बच्चा सम्हाल्न गाह्रो नै परेको थियो। स्तनपानमा त्यत्तिकै गाह्रो। खाना नरुचे पछि बच्चालाई खुवाउन दूध आएन। अर्को दूध खुवाउन थाले पछि फेरि बच्चाले आमाको दुधनै खान खोजेन। दूध धेरै भएर पछि यति धेरै दुख पाएँ, दूध गानिएर फाल्न पर्यो।

तीन महिना पछि म काममा फर्किएँ। श्रीमान् पनि बाहिर जानु भयो। पास्नी पछि त मैले छोरी घरमै छोडेर काममा जान थालेँ। बच्चालाई समय दिन सकिनँ। अहिले पनि समय दिन सकिरहेको छैन, त्यो मनमा खड्किरहने रहेछ। छोरीकै लागि यो सब गरेको त हो नि भन्ने पनि मनमा आउँछ। बच्चा सानो हुँदा ठिकै थियो। तर हुर्किँदै गर्दा समय दिन सकिएन भने टाढिँदै जाने रहेछन्। अहिले त उनलाई बानी परिसक्यो। मसँग घुलमिल हुन खोज्दिनन्।

हामीले दोस्रो सन्तानको बारे अलि ढिला तयारी गर्ने भनेर सल्लाह गरेका थियौँ। तर गर्भ रह्यो। मेरो फेरि रजस्वला एकदम गडबड भइराख्ने। दश/बाह्र दिनमै रजस्वला भइरहेको हुँदा मैले गर्भवती भएँ भनेर अनुमान पनि गरिनँ। एक दिन दिदीसँग भिडियो कल गर्दा ‘तँ प्रेग्नेन्ट जस्तो देख्छु त अनुहार कस्तो भएको’ भन्नुभयो। कहाँ हुनु पिरियड चलिरहेको छ भनेर भन्दा एक पटक टेस्ट गर भन्नुभयो। टेस्ट गर्दा १२ हप्ता भइसकेको रहेछ। पिरियड भइनै रहेको हुँदा ‘जोखिम छ, निरन्तरता दिने कि नदिने?’ भनेर डाक्टरले भन्नुभयो। सबै थाहा भइसक्यो, बच्चालाई निरन्तरता नदिने भन्ने त मनमा एक रत्ती पनि आएन।

तर डाक्टरले एकदम जोखिम हुन्छ, बेड रेस्ट गर्नु भनेर सल्लाह दिनु भयो। साँच्चिकै निकै गाह्रो हुने रहेछ। यतिसम्म कि ट्वाइलेट जाँदा ठुलो रगतको धारो नै गइरहेको थियो। डाक्टरले त ट्वाइलेट जान पनि नउठ्नु भन्नुभएको थियो। तर बिस्तारै ठिक हुँदै गयो। पेट पनि मजाले बढेको थियो। म आफैले स्वस्थ महसुस गरिसकेको थिएँ। उभिएर सोफामा बस्न सक्ने भइसकेको थिएँ।

तर २५ हप्ता चलिरहँदा बिहान पुरै पानी बगेछ। म आत्तिएर चिप्लिएँ। अनि हस्पिटल गइहाल्यौँ। पानी सबै बगिसकेको कारण बच्चा निकालिहाल्नु पर्छ, उसले सर्भाइभ गर्न सक्दैन भन्नुभयो। सिभिलमा एनआइसियु नभएर पाटन जानु पर्यो। पाटनको डाक्टरहरूले ‘२५ हप्ताको बच्चा बचाउन एकदम गाह्रो छ। तपाईँको पहिला पनि अप्रेसन गरेको, अहिले अप्रेसन नगर्नु, नर्मल नै डेलिभरी गर्ने, बच्चाको माया नगर्नु’ भन्नुभयो। अहिले अप्रेसन गर्नु भएन भने अर्को बच्चा प्लान गर्न मिल्छ’ भन्नुभयो।

तर पेटमा मेरो बच्चा चलिरहेको थियो। तर भिडियो एक्सरेमा पनि यस्तो रहेछ, अब माया मारिदिनु भन्नुहुन्थ्यो। तर मैले सकिनँ। नर्मल डेलिभरीको लागि मैले मानिन। अप्रेसनै भयो। अप्रेसन गरेर बच्चा निकालेकोसम्म याद छ। बच्चा ११ सय ग्रामको थियो। लामो, सर्लक्क परेको।

जन्मनाथ उसलाई एनआइसियुमा लगे। यता मेरो धेरै रगत गयो। पाठेघर निकाल्नु पर्छ भनेकोसम्म याद छ। फेरि निन्द्राले लट्ठ हुन्थेँ। निदाउँदा राम्रो बगैँचातिर गएको, आनन्द भएको महसुस गरिरहेको थिएँ। तर मलाई त्यहाँ निदाउन दिनु भएन। बहिनीहरूले पछि ‘बच्चा बाँच्यो, अब दिदी चैँ बाँच्दैन जस्तो लागेको थियो’ भनेर पछि भनेका थिए। मलाई बचाउन उहाँहरूले धेरै मिहिनेत गर्नु भएछ।

म बिउँझिँदा आइसीयुमा थिएँ। ‘बच्चा ठिक छ। अक्सिजन दिन परेको छैन। बुवा जस्तै छ’ भनेर बहिनीले भनेकी थिइन्। त्यो बेलामा बुवा भर्खर बित्नु भएको थियो। अनि डाक्टरले पनि सब राम्रो छ, बच्चाको लागि भए पनि तपाई बाँच्नु पर्छ भन्नुहुन्थ्यो। मलाई पनि अब म बाँच्नु पर्छ, दुई जना छोरीलाई हुर्काउनु पर्छ भन्ने लाग्यो। आइसीयुमा भए पनि मानसिक रूपमा म बलियो भएको थिएँ।

म आइसीयुबाट निस्किँदा खुसी भएर निस्किएकी थिएँ। बच्चा भने आइसीयुमै थियो। मेरो दूध आइसकेको थिएन। नानीको लागि भनेर एक महिना पुग्ने औषधी पनि ल्याइएको रहेछ। तर मलाई हल्का ज्वरो आइरहेको थियो। दिउँसो त मलाई डिस्चार्ज गरिदियो। वार्डको मान्छेले पनि ‘अब बच्चा र आमासँगै डिस्चार्ज हुने होला है’ भन्थे।

तर पछि नानीको अवस्था बिग्रिन थालेछ। भेन्टिलेटरमा राख्नु पर्यो। नानीलाई गाह्रो भइरहेको थियो। बहिनीलाई सोध्दा ठिक छ भनिरहेकी थिइन्। अरू केसहरू हेर्दा एक-दुई महिनासम्म पनि आइसियुमा बसेर ठिक भएको थियो। हस्पिटलको बेडमा बसेर मैले मेरो छोरीलाई ठिक होस् भनेर हरेक भगवानलाई पुकारेँ। पछि डायलिसिस गर्नु पर्छ भन्ने कुरा पनि आयो।

आफैलाई दह्रो बनाएँ। उसलाई गाह्रो नहोस् भनेर धेरै प्रार्थना गरेँ। मैले नराम्रो हुन्छ होला भनेर अलिकति पनि सोचेको थिइन। मेरो डिस्चार्ज भएर घर जाँदा सबै जना आउनु भयो। सुत्केरीलाई भेट्न आउनु भएको होला भन्ने लाग्यो। खाना खाएर रेस्ट गरेँ। सुत्न लागेको बेलामा मेरो बहिनी आइपुगिन्। अनि मेरो सातो गयो।

‘नानीलाई छोडेर किन आइस ?’ भनेको, उनले ‘नानी त छैन’ भनिन्। नानी नभएपछि हस्पिटलमा हामीले कन्ट्रोल गर्न सक्दैनौ भनेर मेरो डिस्चार्ज गरिएको रहेछ। तर मैले आफूलाई सम्हाल्नै सकिनँ। उसलाई हुर्काउन गाह्रो हुन्छ, मैले धेरै ख्याल गर्नु पर्छ भनेर म सब दुख सहन मानसिक रूपमा बलियो भइसकेको थिएँ। त्यसपछि त म हात खुट्टा पनि चलाउन नसक्ने भएँ।

दिउँसो निदाए भने पनि हस्पिटलकै आवाज आउने। छोरीलाई खेलाइरहेको सपना देख्थेँ। मानसिक रूपमा विक्षिप्त भएकी थिएँ। तर सधैँ त्यसरी पनि नहुने रहेछ। मेरो ठुलो छोरी पनि छ भन्ने भयो। उसले बहिनी भएको थाहा पाएर साथीहरूलाई चकलेट पनि बाढेको थियो रे।

एक्लै बस्यो भने झन् गाह्रो हुन्छ भनेर बहिनीहरूले बुटिकमा ल्याउँथे। तर म कुर्सिमा पुरै टोलाएर बस्थेँ। केही समय त निकै गाह्रो भयो। त्यो अवस्थामा सुत्केरी स्याहार पनि भएन। दूध आउँथ्यो, कति बग्थ्यो। खाने मान्छे थिएन। मेसिनले निकालेर फ्याँक्नु पर्ने। दूध सुकाउने औषधि पनि खाएँ। तर बच्चा नभए पछि आमाको पनि स्याहार नहुने रहेछ।

आफ्नो स्याहार आफैले गर्न पनि मन नलाग्ने। दूध आउँछ भनेर तागतिलो खाना पनि खाइन। बुटिकमा ग्राहकहरूसँग गफ गरे पनि एक्लै हुँदा कतिखेर आँसु खस्थ्यो पत्तै पाउदिनथेँ। मलाई एकदम डर लाग्थ्यो। ठुलो छोरी माथि पनि ‘ओभर प्रोटेक्टिभ’ भएँ। उसलाई केही भयो भने म बाँच्दिन भन्ने लाग्छ अहिले पनि।

बच्चालाई अलि गाह्रो भएपछि मलाई डाक्टरले छुन मन लागे छुनु भन्नुभएको थियो। मैले उसको हरेक अङ्ग स्पर्श गरेको थिएँ। यो चैतमा ३ वर्ष भयो। अहिले पनि पहिलाको जस्तो इनर्जी आइसकेको छैन। कहिलेकहीँ सम्झियो भने भक्कानो फुट्छ। एउटा आमाले आफ्नो सन्तान कहिले पनि बिर्सन नसक्ने रहेछ। 

असार ८, २०८२ आइतबार २२:१७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।