रेखाको अबको फिल्म ‘छत्तिस आँकडा’की ‘काली+१’

काठमाडौं : नेपालमा नाटकका कलाकारहरूको सपना फिल्ममा प्रवेश गर्ने हुन्छ। उनीहरू नाटकको मञ्चबाट पर्दामा देखिन सङ्घर्षमा होमिन्छन्। तर अभिनेत्री तथा निर्मात्री रेखा थापाले ठुलो पर्दाबाट नाटकमा आइन्। गत जेठ १९ गतेबाट कान्तिपुर फिल्म एकेडेमीको नाटक घरमा मञ्चन भएको ‘मिरा’मा उनले मुख्य भूमिका निभाइन्। नाटकको मञ्चन असार ७ गते सकियो।
यो नाटक सकिएसँगै रेखाले अबको प्रोजेक्ट ‘काली+१’ उल्लेख गरेकी छन्। आफ्नो नाटक हेरेका दर्शकलाई धन्यवाद दिँदै उनले सामाजिक सञ्जालमा अबको फिल्म ‘काली+१’ लेखिन्। तर उनले एक महिनाअघि फिल्म ‘छत्तिस आँकडा’ निर्माण गर्ने घोषणा गरेकी थिइन् जसमा पूजा शर्मा र आफैँ मुख्य भूमिकामा देखिने उल्लेख थियो। फिल्मको निर्देशकमा सबिर श्रेष्ठ र वितरणको जिम्मा आर आर कम्पनीले गर्ने सम्झौता समेत भइसकेको छ।
फिल्म ‘छत्तिस आँकडा’मा निर्देशनको जिम्मा सबिरलाई थमाएकी रेखाले शिवम् अधिकारीको फिल्मको स्क्रिप्ट लेख्ने जिम्मा दिन लागेकी छिन्। तर सबै तयारी गरेर पनि रेखाले अचानक नयाँ फिल्म घोषणा गरिन्। अब रेखाको प्रोजेक्ट ‘छत्तिस आँकडा’ कि ‘काली १’। कि एकै पटक दुवै फिल्म गर्न लागेकी हुन्? खुलेको छैन। अभिनेत्री शर्माले फिल्म ‘उपहार’को प्रदर्शनका समयमा ‘रेखा दिदी र म मिलेर ‘काली २’ निर्माण गर्ने’ भनेकी थिइन्। त्यसपछि यसको प्रसङ्ग नै हरायो। अहिले रेखाले नै यसलाई सतहमा ल्याइन्।
जे फिल्म बनाए पनि मूल कुरा त्यसको अवस्था उपहार जस्तो चैँ नहोस्। निकै तामझाम गरे पनि फिल्म उपहारले रेखालाई गतिलो नगद उपहार दिन सकेन। उनले नमज्जाले फ्लपको तीतो स्वाद चाखेकी थिइन्। कतै नाटकमा अभिनय गरेर राम्रो फिल्म कसरी बनाउनु पर्छ भन्ने सिकिन् कि !
असार ८, २०८२ आइतबार २१:०६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।