प्रेमगीत ३ का अभिनेता मनिष अभिनय छाडेर किन लागे निर्देशनमा !

काठमाडौं : भदौ ६ को रिलिज मिति तोकेर प्रचारमा उत्रिएको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ का एसोसिएट डिरेक्टर हुन् मनिष राउत।
तर राउतको फिल्मी यात्रा हेर्ने हो भने निर्देशन हैन, अभिनय हो। उनले ‘प्रेमगीत ३’मा अभिनय गरेका थिए। ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछिको महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका उनी दोस्रो फिल्ममा भने अभिनेताका रूपमा हैन निर्देशकको रूपमा देखिँदै छन् ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा। यसमा उनले अभिनय गरेका छैनन्।
अभिनय छाडेर किन निर्देशनतिर? उनको मत छ ‘निर्देशन पनि क्रिएटिभ काम नै हो। म पूरै निर्देशक त होइन। तर, निर्देशकको अनुभव गर्दा अभिनयमा सहयोग होला भन्ने लाग्छ।’
उनले सकेसम्म अभिनय र निर्देशनलाई सँगै अगाडि बढाउने प्रयास गरिरहेको र आगामी दिनमा दर्शकहरूले आफूलाई अभिनयमा समेत देख्न सक्ने बताए।
अहिले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ पोस्टप्रोडक्सनमा छ। फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकार छन्।
प्रारम्भमा फिल्मले जनै हराएको बाहुन नाम राखेर फ्लोरमा गएको थियो। तर नाम समुदाय केन्द्रित रहेको भन्दै विवाद सुरु भएपछि निर्माण टिमले नाम बदलेको हो।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
असार ८, २०८२ आइतबार १९:३९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।