नवराजसँग नभेट्दा आलोचित भएका प्रधानमन्त्री ओलीले निवासमा बोलाएर भेटे

काठमाडौं : टिकटकरलाई भेट्ने तर भ्रष्टाचारको अभियान लिएर खाली खुट्टा सुर्खेतबाट काठमाडौँ आएकालाई नभेट्ने भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानकर्मी नवराज बोहरासँग आइतबार भेटे।
प्रधानमन्त्री ओलीसँग केही दिन अगाडि भेट्न जाँदा उनको सचिवालयले समय नदिई उनलाई ‘खाली खुट्टा आउनु भएको रहेछ। गोल्ड स्टार जुत्ता लगाउनु भनेर’ जुत्ता दिएर फर्काएका थिए।
त्यसपछि टिकटकर अंशु बर्मा अनि मिसपवीसँग भेटेको तस्बिर राखेर ‘टिकटकरसँग भेट्न समय हुने, अभियानकर्मीसँग भेट्न समय नहुने’ भन्दै सञ्जालमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो। त्यसपछि आइतबार उनले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बोहोरासँग भेटेका छन्।
बोहोरा कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर जेठ ४ गतेदेखि पैदल यात्रा सुरु गरेर असार ३ गते काठमाडौँ आइपुगेका थिए। उनले त्यही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका थिए।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएको भन्दै खुसी व्यक्त गरेका थिए।
असार ८, २०८२ आइतबार १९:२२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।