जनमत पार्टीकी प्रदेश सांसद सुमन विरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी

बुटवल : लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझी विरुद्ध जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको छ। जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो।
पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्।
आशासँग रायमाझीले साढे ५ लाख रुपैयाँ सापटी लिएको र रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएको जाहेरीमा दाबी गरिएको छ।
तर त्यो चेक साट्न जाँदा बाउन्स भएपछि उनले जाहेरी दिएकी हुन्। सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन्।
सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी जाहेरी दिएकी थिइन्। यसैबिच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ।
सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो। आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ।
असार ८, २०८२ आइतबार १८:२६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।