एसिसी पुरुष यु–१६ : पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो

काठमाडौं : एसीसी मेन्स यु–१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्यो। आइतबार मलेसियामा सम्पन्न भएको खेलमा नेपालले ६ विकेटले सिंगापुरलाई हराएको हो।
सिंगापुरले नेपाललाई १ सय ३९ रनको लक्ष्य दिएको थियो। नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य सहजै पूरा गर्यो।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो। पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भयो।
गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोलीको छनोट गरिएको थियो।
प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागी छन्। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, मालदिभ्स, थाइल्यान्ड तथा म्यानमार रहेका छन्।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो। दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतबार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ।
असार ८, २०८२ आइतबार १६:०९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।