गगनको प्रस्ताव : नयाँ पुस्ताको विश्वास जित्न सार्वजनिक पदमा बसेका नेताको सम्पत्ति छानबिन गरौँ

गगनको प्रस्ताव : नयाँ पुस्ताको विश्वास जित्न सार्वजनिक पदमा बसेका नेताको सम्पत्ति छानबिन गरौँ

काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सांसदबाटै शक्तिशाली छानबिन आयोग बनाएर २०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए।

आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एक पटक आँट गर्ने हो भने बल्ल नयाँ पुस्ताले काङ्ग्रेसलाई विश्वास गर्ने बताए।

‘२०४६ सालको जनआन्दोलनपछि काङ्ग्रेस पार्टी सत्तामा आएको हो। सत्तामा आएपछि वडादेखि केन्द्रको सत्तासम्म जस जसले जिम्मेवारी लिएका छौ वा सांसद भएका थियौँ, मन्त्री भयौँ, वडा अध्यक्ष भयौँ, मेयर भयौ उनीहरू सबैका लागि एक शक्तिशाली छानबिन आयोग बनाउन लगाऔँ,’ उनले भने ‘आयोगमा देशले पत्याएको मान्छे छानौँ। कुनै पार्टीको भागबन्डा नगरी मान्छे छानौँ र त्यो मान्छेलाई ०४६ साल पछाडि काम गरेका, जिम्मेवारीमा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गराउन लगाऊँ। छानबिनको दायरमा जो परे पनि कांग्रेसले चुइँक्क विरोध नगरौँ। आयोगले जे भन्छ त्यो कुरालाई मानौँ। यस्तो कामको आँट गरियो भने मात्र नयाँ जेनेरेसनले कांग्रेसको कुरा सुन्छ।’

उनले नयाँ पुस्ताहरूमा पार्टीमा भएका नेताहरू चरम भ्रष्ट भएकाले देशको अवस्था राम्रो नभएको भन्ने छाप परेको बताए।

अहिलेका नयाँ उमेर समूहका व्यक्तिलाई नेपाल आजको दिनमा गए गुज्रेको अवस्थामा रहेको लाग्ने गरेको र यो अवस्थामा पुर्याउने काम नेपालका पार्टीहरूले नै गरेका हुन् भन्ने ठानेको उनले बताए।

नयाँ जेनेरेसनले प्रमाण र यथार्थता खोज्ने हुनाले नयाँ जेनेरेसनसँग कुरा गर्न उनीहरूको कुरा पहिला सुनेर अगाडि बढ्नुपर्ने उनले बताए।

असार ८, २०८२ आइतबार १६:०३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।