एनसीएचएल र एण्ट इन्टरनेश्नलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानीमार्फत पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेशनलले नेपालमा डिजिटल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले 'गेटवे टु ग्रोथ: अलि पे प्लस र नेपाल पे मार्फत नेपालको पर्यटनमा उर्जा' शीर्षकमा संयुक्त कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, निर्देशक सुवास चन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा, ट्राभल एजेन्सी संघका अध्यक्ष कुमारमणि थपलिया, होटल एसोसिएशन नेपालका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महत, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तलगायत बैंक तथा वित्तीय क्षेत्र र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
अलि पे प्लस र नेपाल पे क्यूआरको सहकार्यमार्फत सन् २०२४ को नोभेम्बरदेखि नेपालमा १७ भन्दा बढी अन्तर्राष्ट्रिय मोबाइल वालेटमार्फत १२ लाखभन्दा बढी नेपाली व्यापारीहरूमा क्यूआरा स्क्यान गरी भुक्तानी गर्न सकिने सुविधा सुरू गरिएको छ।
यस सुविधामार्फत विदेशी पर्यटकहरूले चीन, हङकङ, मलेसिया, थाइल्याण्ड, फिलिपिन्स, सिंगापुर, इटाली, जर्मनीलगायत देशका एपहरू प्रयोग गरी नेपालका पसलहरूमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
कार्यक्रममा भएको प्यानल छलफलमा डिजिटल भुक्तानी प्रणालीले नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्याउने धारणा राखियो।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले अलि पे प्लस सँगको सहकार्य नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई जोड्ने ऐतिहासिक कदम भएको बताए।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले पनि क्यूआरको प्रयोगमा बढ्दो रुचि देखिएको र यस किसिमको साझेदारीले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउने विश्वास व्यक्त गरे।
असार ८, २०८२ आइतबार १३:५८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।